सरकार मोर्चा वार्ता, प्रदेश सीमाङ्कन मुख्य मुद्दा

 

काठमाडौँ, ४ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच बुधवार भएको वार्तामा दुवै पक्षले एक अर्कालाई आ–आफ्ना अडानमा लचिलो हुन आग्रह गरेका छन् ।

मोर्चाका मागसम्बन्धी विषयले वार्तामा प्रवेश पाएको तथा उनीहरूले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रूपमा पुनः प्रस्तुत गरेको सरकारी वार्ता टोली सदस्य एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्माले राससलाई बताइन् ।
सीमाङ्कनको टुङ्गो लाग्ने वित्तिकै परिस्थिति सहज हुने उनीहरूले विश्वास व्यक्त गरेको जनाउंदै शर्माले बीचको बाटो अपनाएर आन्दोलनका सबै कार्यक्रम स्थगन गर्न सरकार पक्षले अनुरोध गरेको शर्माले जनाइन् । तराईमा दुई प्रदेश हुनुपर्ने पुरानो माग मधेशी मोचाले दोहो¥याएको र आफूहरूले लचिलो हुन आग्रह गरेको जानकारी मन्त्री शर्माले दिइन् ।

सबैले अनुभूत गर्ने गरी सार्थक वार्ता गरेर परिणाममा पुग्नुपर्नेमा आफूहरूले जोड दिएको र मोर्चालाई अडानमा अडिग रहिरहन उपयुक्त नहुने भन्दै अधिकतम लचिलो हुन अनुरोध गरिएको जानकारी पनि शर्माले दिइन् । मोर्चाको वार्ता टोलीका सबै सदस्य राजधानीमा नरहेकाले आगामी आइतबार पुनः वार्ता गर्नेगरी आजको बैठक टुङ्गिएको मन्त्री शर्माले बताइन् ।

गत सोमबार सरकारले उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाको संयोजकत्व वार्ता टोली गठन गरेको थियो । टोली गठनसँगै हिजो पहिलो चरणमा वार्ता भएको थियो ।

वार्तामा टोलीका संयोजक उपप्रधानमन्त्री थापा, मन्त्री शर्मा र बिना विभागीय मन्त्री रामजनम चौधरी सहभागी हुनुहुन्थ्यो भने मोर्चाका तर्फबाट तराई मधेस (लोकतान्त्रिक) पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल र लालबाबु राउत सरिक थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री