काठमाडौँ, ५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै करिब सात दशकदेखिको जनताको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको बताएका छन् ।
विजयादशमीको अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो र अथक सङ्घर्षको परिणामस्वरूप जननिर्वाचित संविधानसभाबाट गएको असोज ३ गते नेपालको संविधान जारी भएको उल्लेख गरेका छन् ।
मुलुक विश्वमै प्राकृतिक र जैविक विविधता र अन्य सम्पदाको दृष्टिले अनुपम रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले यिनै प्राकृतिक सम्पदाहरूको भरपूर सदुपयोग गरेर अब मुलुकलाई आर्थिकरूपमा समृद्धिको दिशामा अघि बढाउनु आवश्यक रहेको बताएका छन् ।
संविधान जारी हुनुअघिदेखि नै देशका केही भागमा असन्तुष्टिहरू देखिएको उल्लेख गर्दै उनले संविधान जारी भएसँगै ती असन्तुष्टिहरू सकिएको उल्लेख गरेका छन् । मधेस केन्द्रित दलहरूका जायज मागलाई सम्बोधन गर्न सरकारका तर्फबाट आफूले पत्राचारसमेत गरिसकेको उल्लेख गर्दै उनले सरकारले वार्ताका लागि गठन गरेको समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको पनि जानकारी दिए ।
“संविधान निरन्तर गतिशीलताको एउटा दस्तावेज भएकाले त्यसमा केही कमीकमजोरी छन् भने पनि सार्थक वार्ता र संवादका माध्यमबाट त्यसलाई सच्याउन सकिने भएकाले आन्दोलनरत मधेस केन्द्रित दलहरूलाई बडादसैँको यस अवसरमा फेरि एकपटक आन्दोलन रोकी वार्तामा आउन आह्वान गर्दछु” प्रम ओलीले सन्देशमा उल्लेख गरेका छन् ।
केही समयदेखि सीमा क्षेत्रमा भएका अवरोधका कारण इन्धनलगायतका सामान आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएकाले चाँडपर्वको बेलामा समेत आम नेपालीले कष्ट र अप्ठ्याराहरू व्योहोर्नु परिरहेको बताउँदै उनले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले तदारुकताका साथ पहल थालिसकेको उल्लेख गरेका छन् ।
चाडपर्वका बेला नेपाली जनताले भोग्नुपरेको अनुचित पीडाप्रति आफू अत्यन्तै संवेदनशील र दुखित भएको बताउँदै ओलीले यस्तो जटिल र कठिन परिस्थितिमा आम देशवासीले देखाएको संयम, धैर्यता र राष्ट्रिय एकताको भावनाको सम्मान गर्ने उल्लेख गरे ।
“हाम्रो मुलुक बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा रीतिरिवाज, संस्कृति र सुन्दर परम्पराहरूले आम नेपालीलाई शदियौंदेखि एक आपसमा जोड्दै आएको छ । यो कुरा हाम्रा लागि गौरबको विषय पनि हो । गौरवपूर्ण यस्तो इतिहासलाई निरन्तरता दिँदै मुलुकलाई एकताबद्ध र अखण्ड राख्न हामी सबै लागिपरौँ भन्ने आह्वान पनि गर्न चाहन्छु” ओलीको सन्देशमा छ ।
प्रधानमन्त्रीले सन्देशमा बडादसैँ २०७२ को उपलक्ष्यमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश र विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
उता, राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताएका छन् । बडादसँैं २०७२ का अवसरमा राष्ट्रपति डा यादवले आज दिएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरूपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाएका छन् ।
‘‘जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने हाम्रो झण्डै सात दशक पुरानो राष्ट्रिय सपना भर्खरै साकार भएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको सुअवसरमा पुनः हार्दिक बधाई ज्ञापन गर्दछु’’ उनले सन्देशमा भनेका छन्, ‘‘नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको छ भने जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले संस्थागत स्वरूप प्राप्त गरेका छन् ।’’
सन्देशमा संविधान निर्माण आफैँमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गरिएको छ ।
संविधानले हिमाल, पहाड, तराई, मधेश या पूर्व–पश्चिममा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र, जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न उल्लेख्य योगदान दिन सफल रहोस् भन्ने कामना राष्ट्रपतिको छ ।
‘‘चाडपर्व नेपाली समाजका गहना हुन् । हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्’’ सन्देशमा भनिएको छ, ‘‘विभिन्न जात–जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्परा हाम्रो राष्ट्रिय एकताको मियोका रूपमा रहेका छन् ।’’
उनले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रूपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताएका छन् ।
विनाशकारी भूकम्पले फैल्याएको सन्त्रास र क्षतिबाट मुलुकको ठूलो भू–भाग अद्यापि आक्रान्त रहिरहेकै अवस्थामा देशको केही भ–ूभाग, विशेषतः तराई, मधेश आन्दोलित र अशान्त हुन पुगेको तथा निरन्तरको बन्द, हड्ताल र असुरक्षाले तराई, मधेशका जनताको जीवनयापन अत्यन्त कष्टकर हुँदै गइरहेको स्मरण गराउँदै उनले लाखौँ बालबालिकाको पढाइ बर्बाद भएको, सिङ्गो मुलुककै उद्योग, कलकारखाना, बैंक–वित्तीय प्रणाली र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्न थालेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गरेका छन् ।
सन्देशमा भनिएको छ, ‘‘लोकतन्त्रमा विरोध, हड्ताल र आन्दोलनलाई स्वभाविक प्रक्रियाका रूपमा लिइन्छ । विरोध र आन्दोलनको स्वरूप भने सधैंँ लोकतान्त्रिक र शान्तिपूर्ण हुनुपर्ने हुन्छ । आन्दोलनकारीप्रति राज्यका व्यवहार पनि संयमित र सहिष्णु हुनु अति जरुरी हुन्छ ।’’
लोकतान्त्रिक पद्धतिको सीमाभित्र रहेर उठाइने विरोधका आवाज र आन्दोलनका मागलाई गम्भीर र संवेदनशील ढङ्गबाट ग्रहण गरी वार्ता, छलफल आदिको माध्यमबाट संवोधन गर्नु लोकतान्त्रिक सरकारहरूको कर्तव्य हुन आउने तथा परिवर्तन र लोकतन्त्रको सङ्घर्षमा सधैंँ अग्रपङ्तिमा रहँदै आएका तराई, मधेशका जनताको आवाज सुन्न र त्यहाँको समस्याको समाधान पहिल्याउन अरु ढिलाइ नगर्न संवद्ध सबै पक्षसँग राष्ट्रपतिले आग्रह पनि गरेका छन् ।
साथै, उपराष्ट्रपति परमानन्द झाले नेपालीहरूको महान पर्व वडादसैँ तथा विजया दशमी २०७२ को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
आज दिएको शुभकामना सन्देशमा उनले यस पावन पर्वको माध्यमबाट नेपाली–नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताएका छन् । उनले यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो