जनताको विश्वास गुम्न दिने छैन् –प्रधानमन्त्री ओली

1444912788252_RS-KTM- PM sambhodhan-1

भद्रपुर, ४ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले आफूप्रति देखाएको विश्वास गुम्न नदिने बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कार्यसमिति झापाद्वारा आज बिर्तामोडमा आयोजित अभिनन्दन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी दुई वर्षभित्र देशभरिका तुइन हटाउने र एक वर्षभित्र देशलाई विद्युत्भार कटौतीबाट मुक्त गराउने प्रतिवद्धता जनाए ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त गराई दुई वर्षको अवधिमा प्रत्येक नेपालीको आफ्नो घरको सुनिश्चितताका लागि आफू क्रियाशील रहने कुरामा जोड दिए ।

उनले देशमा अमनचयन, सुशासन र शान्ति कायम गरी सम्बृद्ध नेपाल निर्माण गर्न सबैले आ–आफ्नो ठाउँबाट अग्रसरता देखाउनुपर्ने विचार व्यक्त गरे ।

कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले उद्योग स्थापना गराउन लगानीमैत्री वातावरण सिर्जना गर्ने सङ्कल्प गरे । लोकतान्त्रिक विधि र प्रक्रिया पूरा गरेर नयाँ संविधान जारी भएको भन्दै ओलीले यसको कार्यान्वयनका लागि सबैको साथ र सहयोगको जरुरत रहेको बताए ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानले नेपाली जनताको शिर ठाडो बनाई स्वाभिमानी बनाएको बताए । उनले कठिन परिस्थितिमा पनि वर्तमान सरकारलाई एमालेले हरतरहले सफल बनाउने बताउँदै निडर भएर देश र जनताको भलाइमा काम गर्न आग्रह प्रधानमन्त्रीलाई गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भर्खरै जारी भएको नेपालको संविधानले मुलुकमा दिगो शान्ति, सम्बृद्धि ल्याउने विश्वास व्यक्त गरे । उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई गुण र दोषको आधारमा सहयोग गर्ने बताए ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले मधेश आन्दोलनले देश र जनताको स्वाधीनतामा आँच पुरयाएको र जनजीविकालाई कष्टकर गराएकाले तत्काल वार्तामा आउन आन्दोलनरत मधेशी मोर्चालाई आग्रह गरे ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कार्यसमिति र जिल्लाका विभिन्न सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिएको थियो ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेल, एमाले महासचिव पोखरेल, काँग्रेस महामन्त्री सिटौला र माले महासचिव मैनालीलाई पनि अभिनन्दन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री