शुक्रबार, असोज २ २०७७ | Fri, September 18, 2020
नेपालको समय: १४:३२ | UK Time: 09:47

बेलायती प्रधानमन्त्रीलाई भूपू गोर्खाहरुको चेतावनी ः फेरि आमरण अनसन बस्छौं

वीनेपाली
२०७२ कार्तिक ४ गते १४:०७
सांसद शर्मालाई ज्ञापन बुझाउंदै सत्याग्रह समितिका प्रमुख संयोजक राई (दायां)

सांसद शर्मालाई ज्ञापन बुझाउंदै सत्याग्रह समितिका प्रमुख संयोजक राई (दायां)

लन्डन । समान हक अधिकारका लागि आन्दोलनरत भूपू गोर्खाहरुले आफ्ना माग पुरा नगरिए पुनः आमरण अनसन बस्ने चेतावनीसहित बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापनपत्र पठाएका छन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको नेतृत्वमा मंगलबार दिउसो संसद भवन अगाडि प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री क्यामरुनलाई अनसनको चेतावनीसहित ज्ञापन बुझाएका हुन् ।

भूपू गोर्खाहरुले आगामी २४ अप्रिल, २०१६ को अल्टिमेटम दिंदै त्यतिबेलासम्म आफ्ना माग पुरा गर्ने सम्वन्धमा बेलायत सरकार गम्भीर नभए सामूहिक आमरण अनसन बस्ने अवगत गराएका छन् ।

साउथहल तथा इलिंग क्षेत्रका सांसद एवं सर्वदलीय संसदीय समितिका तर्फबाट गोर्खा मामिला हेर्ने अध्यक्ष वीरेन्द्र शर्मामार्फत प्रधानमन्त्री क्यामरुन र ६ सय ५९ सांसदलाई बेग्ला बेग्लै ज्ञापन बुझाइएको हो ।

ज्ञापन लिएपछि संक्षिप्त संवोधन गर्दै सांसद शर्माले गोर्खा आन्दोलन समाप्त नभएसम्म साथ दिने प्रतिवद्धता व्यक्त गरेको सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जनाए ।

शर्माले भारतले हाल लगाइरहेको अघोषित नाकाबन्दी सम्बन्धमा मोदीसंगको आसन्न भ्रमणका बेला क्यामरुनलाई अजेन्डाका रुपमा राख्न समेत लिखित अवगत गराइसकेको बताए । उनले भारतलाई नेपाल र भारतबीच सुमधुर एवं ऐतिहासिक सम्वन्ध ध्वस्त नपार्न आग्रह गर्दै पछिल्ला दिन नेपालले भोगिरहेको असहज परिस्थिति नदोहोरिने आशा समेत व्यक्त गरेका छन् ।

प्रदर्शनमा करिव ५ सय भूपू गोर्खा र तिनका परिवार सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक