
पेट्रोलियम सङ्कट टार्न वैकल्पिक उपाय खोज्न आग्रह
काठमाडौँ, ३ कात्तिक । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको बैठकले मुलुकमा देखिएको पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट टार्न वैकल्पिक उपायको खोजीका लागि सरकारलाई आग्रह गरेको छ ।
सरकारलाई समर्थन गर्ने विभिन्न ११ दलका शीर्ष नेता सम्मिलित समितिको बैठकले भारतीय सीमा क्षेत्रमा भएको अवरोधका कारण पेट्रोलियम पदार्थको अभावको समस्या समाधानका लागि भारतबाहेक चीन र बङ्गलादेशसँग पनि आवश्यक सम्पर्क बढाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेकपा (संयुक्त) का अध्यक्ष गणेश शाहले वैकल्पिक उपायको खोजी र मुलुकभित्रको स्रोत साधनको उपयोग गर्न तथा आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई निर्देश गर्ने निर्णय गरेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमण र द्विपक्षीय भेटवार्ताबारे अवगत गराइएको थियो ।
यस्तै, बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने तथा मधेसी मोर्चासँग अनौपचारिक वार्ता पनि अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो ।
सरकार सञ्चालनमा समन्वयका लागि गत साता एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सो समिति गठन भएको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति