गोरखा, २० असोज । दक्षिणी छिमेक भारतबाट नाकाबन्दी भई इन्धन र खाद्य सामग्रीको अभाव चुलिँदै गएको बेला अर्को छिमेक चीनले उत्तरी गोरखास्थित छेकम्पार नाका वर्षभर खुलाउने निर्णय गरेको छ ।
तिब्बतको परराष्ट्र कार्यालयले तिब्बत–छेकम्पार नाका बाह्रै महिना सञ्चालनमा ल्याउने निर्णय गर्दै नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । छेकम्पारबाट नजिकका तिब्बती बजार स्या र जोङ हुन् ।
नोर्बुलिङ्का–१३ ल्हासा, तिब्बतका वाणिज्यदूत पुरुषोत्तम ढुङ्गेलले हस्ताक्षर गरी नेपालस्थित परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा पठाएको पत्रमा ‘चीनको तिब्बत स्वशासित क्षेत्रसँग सिमाना जोडिएको गोरखा जिल्लाको छेकम्पार नाका वषैँभरि खोल्न चीन सहमत भएको’ उल्लेख छ ।
यसअघि छेकम्पारस्थित नाका चीनले वर्षको एक पटक साउन महिनाभर मात्रै सञ्चालन गर्दै आएको थियो । गोरखाको बारपाक केन्द्रबिन्दू रहेर गत वैशाख १२ मा विनाशकारी भूकम्प गएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले पटक–पटक नाका खुलाउन प्रयास गरेको थियो ।
वर्षभर नाका खुल्ने निर्णयसहितको पत्र जिल्ला प्रशासन कार्यालयमा पनि आएको जानकारी दिँदै गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले यो कदमले उत्तरी गोरखाका स्थानीयवासीको जीवनयापन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
अहिले हिमालपारिका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दिवास गाविसका भूकम्प पीडितले उपभोग्य सामग्रीको ढुवानी गर्न हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता छ । ढुवानीमा असहज हुँदा उत्तरी भेगका अधिकांश गाउँमा नुन, तेल, खुर्सानीको अभाव कायमै रहेको सिर्दिवासका धनबहादुर गुरुङले बताउनुभयो ।
गोरखा सदरमुकामबाट छेकम्पार गाविस जोड्ने सडक छैन । तिब्बतदेखि छेकम्पार हुँदै गत वर्षदेखि सडकको ट्रयाक खोल्न सुरु गरिएपनि अहिलेसम्म करिब १० किलोमिटर मात्रै सडक खुलाइएको छ । सडक खन्न हेलिकप्टरमार्फत डोजर छेकम्पार पु¥याइएको थियो । अहिले इन्धन अभावले उक्त डोजर थन्किएको छ ।
सदरमुकामदेखि करिब १५० किलोमिटरको दूरीमा छेकम्पार गाविस पर्छ । छेकम्पार गाउँदेखि एक दिनको दूरीमा तिब्बत नाका रहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो । छेकम्पार, चुम्चेत गाउँका स्थानीय व्यापारी नाकास्थित बजारबाट दैनिक उपभोग्य सामग्री खरिद गरी ल्याउँछन् ।
लामाका अनुसार नुन, चिनी, चाउचाउ, पेय पदार्थ, कपडालगायतका सामग्री तिब्बतबाट ल्याइन्छ । चीन सरकारले हिउँ जमेर हिड्न नसक्ने बेलाबाहेक अन्य समयमा बाहै महिना नाका खुलाउने निर्णय गरेकामा स्थानीयवासी खुसी भएका छन् ।
गोरखाको अर्को सामागाउँ–तिब्बत नाका भने साउनमा मात्रै खुल्दै आएको छ । उक्त नाकालाई पनि बाह्रै महिना सञ्चालनमा ल्याउनेबारे पहल गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा