
काठमाडौँ, १८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ ।
घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ । कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।
कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । “त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,” अध्यक्ष गौतमले भन्नुभयो ।
कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उहाँले जानकारी दिनुभयो ।
विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो छ ।
दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ ।
यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तो योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो ।
चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ ।
दसैँका लागि समितिले निकालेको साइत विभिन्न व्यक्ति र संस्थाले आफूले निकाले झैँ गरी सञ्चारमाध्यममा प्रवाह गर्ने गरेकाले सरकारको आधिकारिक निकायका रुपमा रहेको समितिका माध्यमबाट भनिने साइतको मात्र जिम्मेवारी लिइने अध्यक्ष गौतमले सबैमा जानकारी गराउनुभएको छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत