
नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र एमाओवादीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्र्दै । तस्बिर रोशन सापकोटा, रासस
काठमाडौँ, १८ असोज । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ ।
प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान जारी गर्दा तीन दलबीच देखिएको सहमति, सहकार्य र एकतालाई निरन्तरता दिई अगाडि बढ्नेबारे छलफल भएको हो ।
बैठकमा आन्दोलनरत मधेसी मोर्चासँग भएका वार्ताका बारेमा समीक्षा भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले बताए । उनका अनुसार बैठकमा सीमानाकामा देखिएको अघोषित नाकाबन्दीका विषयमा समेत छलफल भएको थियो ।
अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक एवम् राजनीतिक तहमा छलफल भइरहेको बताउँदै उपाध्यक्ष भण्डारीले भूपरिवेष्ठित देशले पाउने पारवहन सुविधाका विषयमा भारत सरकारसँग उच्च तहसँग छलफल भइरहेको जानकारी दिए ।
तीन दलका तर्फबाट गठित वार्ता टोली र आन्दोलनरत दुवै मधेसी मोर्चाबीच अहिलेसम्म भएका वार्ताका उपलब्धिका विषयमा आफूहरुले बैठकलाई जानकारी गराउनुका साथै त्यस विषयमा समीक्षा भएको काँग्रेस केन्द्रीय सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले बताए ।
आन्दोलनरत पक्षको माग बमोजिम सीमाङ्कनका विषयमा संविधान संशोधन तथा सङ्घीय आयोगलाई क्रियाशील बनाएर अगाडि बढ्ने विषयमा बैठकमा छलफल भएको मन्त्री आचार्यले बताए । सरकारले आन्दोलनरत पक्षको मागबमोजिम वार्ताको वातावरण बनाउन सम्पूर्ण कार्य गरिसकेको मन्त्री आचार्यको भनाइ थियो । आजै अपराह्न बस्ने व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको संयुक्त बैठकका बारेमा पनि बैठकमा विचारविमर्श भएको थियो ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन दलबीच आगामी दिनमा पनि ‘सहमति, सहकार्य र एकताकै आधारमा अगाडि बढ्ने प्रयत्न गरौं’ भन्नेमा छलफल केन्द्रित भएको बताए ।
बैठकमा प्रधानमन्त्रीले सञ्चारमाध्यममा बाहिर आएजस्तो आफ्नो व्यक्तिगत कुरा केही नभएको बताएको उनले जानकारी दिए । नाकाबन्दीको विषयमा प्रमुख तीन दल गम्भीर बनेको उल्लेख गर्दै उनले भने, “यो विषयमा हामी तीन पार्टी गम्भीर भएका छौँ । तीन दलले भारतको उच्च नेतृत्वसँग कुराकानी गर्नुपर्छ । भारतको अघोषित नाकाबन्दी कायमै रहेको छ । त्यो अत्यन्त दुःखद र आपत्तिजनक छ ।”
बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललगायत तीनै दलका दोस्रो तहका नेताको पनि सहभागिता थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा