बन्द हडतालले वीरगन्जका दुई हजार उद्योगका उत्पादन बन्द

Indian-Nepalese_border_gate_at_Birgunj

वीरगन्ज, १६ असोज । प्रादेशिक सीमाङ्कन र नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउदै डेढ महिनादेखि जारी बन्द र हडतालका कारण वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका झन्डै दुई हजार उद्योगका उत्पादन बन्द भएको छ ।

नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै आन्दोलनकारीले धर्नामा बसेपछि विगत नौ दिनदेखि उद्योगजन्य कच्चापदार्थ र इन्धन नेपाल भित्रिन पाएको छैन । यसको प्रत्यक्ष मार औद्योगिक कोरिडोरका साना ठूला सबै उद्योगहरुमा परेको छ । यो औद्योगिक कोरिडोरमा साना ठूला गरी करिब दुई हजार २०० उद्योग रहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

यसअघि बन्दका कारण सुरक्षा घेरामा दैनिक ६०, ७० वटा मालसामान बोकेका मालवाहक गाडी यहाबाट निस्कने गर्दथ्यो । “विद्युत् कटौतीको चर्को मार परेका बेला जेनरेटरको भरमा उद्योग सञ्चालन गर्दैआएकामा अहिले इन्धनको अभावमा उद्योग नै बन्द गर्न बाध्य भएका छौँ,” वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले भन्नुभयो – यस कोरिडोरका अधिकाश उद्योगका उत्पादन बन्द भएको छ ।

बन्द र हडतालका कारण ढुवानी ठप्प छ । यसले गर्दा उत्पादित सामान पनि बजारसम्म पुरयाउन सकिएको छैन । उहाका अनुसार यो क्षेत्रका उद्योग, व्यापार, विद्युत््, टेलिफोन, शिक्षण संस्था, होटल व्यवसाय, कृषि क्षेत्र र श्रम बजारमा एक दिनमात्र बन्द हुदा करिब रु ५६ करोड बराबरको नोक्सानी हुने गर्छ । बन्दका कारण अहिलेसम्म झन्डै २५ अर्ब रुपैया घाटा भइसकेको अध्यक्ष केडियाको भनाइ छ ।

केही उद्योग जसोतसो सञ्चालनमा आइरहे पनि त्यसले पूर्णक्षमतामा काम गर्न सकेको छैन । आन्दोलनकारीले उद्योगमै आएर बन्द गर्ने धम्की दिइने गरेको उद्योगीहरुको गुनासो छ । उद्योग बन्द हुदा करिब ५० हजार मजदुर प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।

“आयातित सामान बन्दका कारण लामो समयसम्म सीमापारि नै थन्किएकाले उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ र इन्धनको अभावले उद्योग कलकारखानासमेत सञ्चालन हुनसकेको छैन्,” नेपाल उद्योग वाणिज्य सङ्घका कार्यकारिणी सदस्य विजय सराबगीले भन्नुभयो – “हजारौँ टन मालसामान सीमावर्ती भारतीय नाकामा रोकिँदा उद्योगी, व्यवसायीका साथै आम उपभोक्ता पनि मारमा परेका छन् ।”

विद्युत्् आपूर्तिमा देखिएको अनियमितता, चर्को विद्युत्् कटौती, चन्दा आतङ्क, बैंकको चर्को ब्याजदर र बजार अभावलगायतका समस्यासँग जुझ्दै उद्योग सञ्चालन गरिरहेका उद्योगीलाई बन्द हडतालले थप निरास बनाएको सराबगी बताउनुहुन्छ ।

उद्योग व्यवसाय ठप्प हुदा वीरगन्जस्थित वाणिज्य बैंक तथा वित्तीय संस्थाको कारोबारसमेत प्रभावित भएको छ । व्यवसायीले एलसी खोल्ने, टीटी, ड्राफट बनाउने कामसमेत नगराएकाले वाणिज्य बैंक तथा वित्तीय संस्थाको काम प्रभावित भएको हो । तेश्रो मुलुकबाट सामान आयातका लागि एलसी खोलिसकेका वस्तु बोकेका कन्टेनर कोलकोता बन्दरगाहमा थुप्रिएका कारण धेरैजसो उद्योगी व्यापारी मर्कामा परेका छन् । दसैं, तिहार र छठ पर्वलाई लक्ष्यित गरेर ल्याउन लागिएका मालसमान बोकेका कन्टेनरको चाप अहिले कोलकोता बन्दरगाहमा बढ्दै गएको दाबी सङ्घका अध्यक्ष केडियाको छ ।

भारतबाट आयात भएका गाडी सीमापारि थन्किदा र नेपाल भित्रिसकेका भारतीय मालवाहक गाडीसमेत तोकिएको समयमा फर्किन नपाउदा आयातकर्ताले विलम्ब शुल्कबापत अर्बौ रुपैयाँ व्यहोर्नु परिरहेको उद्योगी व्यावसायीको दुखेसो छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री