जेनेभा (स्विट्जरल्यान्ड), १४ असोज । शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्च आयुक्त (यूएनएचसीआर)ले सन् २०१५ को अन्त्यसम्म करिब ७ लाख आप्रवासी तथा शरणार्थी युरोप छिर्ने अनुमान गरेको छ ।
प्रायजसो शरणार्थी मध्यपूर्वबाट युरोप पुगेको यूएनएचसीआरले बताएको छ । यो समस्या सन् २०१६ मा पनि अझ विकराल हुनसक्ने राष्ट्रसङ्घको अध्ययनमा जनाइएको छ ।
यूएनएचसीआरका प्रवक्ता एड्रिएन एडवार्डसले राष्ट्रसङ्घको अध्ययनले यी सबै आप्रवासी मध्यपूर्वमा भएको सरकार र सरकारविरोधी पक्षधर समूहबीच युद्ध हुँदा स्वदेशमा बस्न नसकी शरण लिन जाने मानिएको भएको बताए ।
यूएनएचसीआरको यसअघिको अध्ययन प्रतिवेदनले कम्तिमा पनि तीन लाख ५० हजार मानिस मध्यपूर्वबाट युरोपका विभिन्न देश प्रवेश गर्ने देखाएको थियो ।
लामो समयपछि सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले शरणार्थी सङ्ख्या पहिलेको भन्दा दोब्बर पुग्ने देखाएको प्रवक्ता एडवार्डसले बताए ।
संयुक्त राष्ट्रसङ्घद्वारा बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१५ मा पाँच लाख २० हजार आप्रवासी युरोप पुगेको जनाइएको छ ।
द्वन्द्वको भयका कारण विस्थापित भई युरोप जाने क्रममा करिब दुई हजार ९८० मानिसको समुद्रमा मृत्यु भएको तथा हराएको राष्ट्रसङ्घको प्रतिवेदनमा जनाइएको छ ।