काठमाडौँ, १४ असोज । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् जोडिने भएको छ ।
गैरआवासीय नेपाली र सानिमा माई जलविद्युत् कम्पनीले निर्माण गरेको सानिमा माई जलविद्युत् आयोजना शुक्रबार बिहानदेखि औपचारिक रुपमा केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।
प्राधिकरणले इलामको गोदाकदेखि झापाको दमकसम्म निर्माण भएको १३२ किलोभोल्ट क्षमताको प्रसारण लाइनमा आज विद्युत् प्रवाहको परीक्षण गरिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मुकेशराज काफ्लेलगायतको टोलीले आज परीक्षण प्रवाहको निरीक्षण गरेको थियो ।
इलामको चिसापानीमा निर्मित उक्त आयोजनाको बिजुली काबेली कोरिडोरअन्तर्गत गोदाकदेखि दमकसम्म निर्माण भएको १३२ केभिए क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
प्रसारण लाइन निर्माण गर्ने सम्झौता प्राधिकरण र आयोजनाबीच भएको थियो । तर निर्धारित समयमा प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या पैदा भएको थियो । झापामा केही टावर निर्माण गर्न लामो समय लागेका कारण विद्युत् जोड्न समय लागेको हो ।
गत माघमै निर्माण भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतमा विद्युत् उत्पादन गर्न नसकिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए । ‘‘प्रसारण लाइन पूर्णरुपमा परीक्षण गरिसकिएको छ, आज अबेरसम्म वा भोलि(शुक्रबार) बिहानसम्म नेपालको केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् थप हुनेछ’’ श्रेष्ठले भने ।
गत माघदेखि गोदाकमा रहेको प्राधिकरणको सवस्टेसनमा चार मेगावाट मात्रै जोडिए पनि प्रसारण लाइन निर्माण सम्पन्न भएपछि पूरै विद्युत् जोड्न सकिएको हो । रु तीन अर्ब १० करोडको लागतमा आयोजना निर्माण पूरा भएको सो आयोजना निजी क्षेत्रले निर्माण गरेको ठूला आयोजनामध्ये एक हो ।
माई हाइड्रोकै सहायक कम्पनीका रुपमा माई क्यासकेड आयोजनाको समेत निर्माण पूरा भइसकेको छ । सात मेगावाट क्षमताको उक्त आयोजनाबाट अब करिब २० दिनभित्र परीक्षण उत्पादन सुरु हुनेछ । सो आयोजनाको लागत रु एक अर्ब २५ करोड छ ।
माई क्यासकेडको समेत बिजुली प्रसारण लाइनमा जोड्न सकिए केन्द्रीय प्रसारण लाइनमा २९ मेगावाट विद्युत् जोडिने छ । मुलुक चरम ऊर्जा सङ्कटमा रहेको बेला नदी प्रवाहमा आधारित भए पनि ती आयोजनाले केही मात्रामा भए पनि राहत प्रदान गर्ने विश्वास लिइएको श्रेष्ठको भनाइ छ ।
नेपाल अघोषित नाकाबन्दीको मारमा परिरहेको बेला सानै भए पनि आफूहरूले सहयोग गरेको उल्लेख गर्दै श्रेष्ठले अन्य आयोजना पनि समयमै पूरा गर्नुपर्ने र नेपाललाई स्वाधीन राष्ट्रका रुपमा संस्थागत गर्नुपर्ने बताए ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ