एमाले अनुशासन आयोगले पार्टीको अनुगमन गर्ने

UML office

काठमाडौँ, १४ असोज  । नेकपा (एमाले )केन्द्रीय अनुशासन आयोगले पार्टीको आन्तरिक जीवनलाई स्वच्छ, मर्यादित, पद्धतिसम्मत, अनुशासित र अझ एकताबद्ध बनाउन अनुगमन कार्यलाई सक्रिय बनाउने निर्णय गरेको छ  ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको आयोगको बैठकले पार्टीलाई अझ मर्यादित र एकताबद्ध बनाउन अनुगमन कार्य गर्नुपर्ने आवश्यकता महसुस गरेको हो  ।

आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा सम्पन्न बैठकले हालसम्मका विविध कामका साथै अहिलेसम्म भएका काम कारबाहीको संक्षिप्त समीक्षा गरी आयोगले आफ्नो कार्यलाई अझ व्यवस्थित गर्न कार्य सम्पादन निर्देशिकालाई परिमार्जित गर्ने र नवौँ महाधिवेशनबाट पारित महत्वपूर्ण दस्तावेजलाई प्रकाशित गर्ने निर्णय पनि गरेको छ  ।

नेपालको इतिहासमा नै पहिलो पटक जनताले आफ्ना प्रतिनिधिमार्फत संविधानसभाबाट नेपालको संविधान घोषणा भएकामा बैठकले प्रशन्नता व्यक्त गर्दै हार्दिक स्वागत गरेको छ  । दशकौँ लामो प्रतिक्षापछि सार्वभौम जनताले निर्वाचित गरेको संविधानसभाबाट नेपालको संविधान जारी हुनु मुलुकको समग्र राजनीतिक आन्दोलनको इतिहासमै एउटा युगान्तकारी महत्व राख्ने अविस्मरणीय घटना भएको बैठकले निष्कर्ष निकालेको छ  ।

संविधानको घोषणाले पीडादायी लामो सङ्क्रमणकालको मात्र अन्त्य गरेको छै्रन, यसले नेपाली जनताले वर्षांैदेखि आफ्नो अधिकारका निमित्त गर्दै आएको ऐतिहासिक सङ्घर्ष र गणतन्त्रप्राप्तिका उपलब्धिलाई संस्थागत गरेको ठहर पनि बैठकले गरेको छ  ।

नयाँ संविधानलाई कार्यान्वयन हुन नदिन अहिले अनेकन प्रयत्न भइरहेको र संविधान घोषणाप्रति असन्तुष्टि जनाउँदै सिमानामा नाकाबन्दी गरेर नेपाली जनतालाई घोर पीडा दिने कामसमेत गरिएकाले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक एवम् न्यायप्रेमी शक्तिलाई एकताबद्ध भई यस्तो प्रयत्नलाई सफल हुन नदिन र मुलुकको स्थायित्व, शान्ति, आर्थिक विकास र समृद्धिका निमित्त एक ढिक्का भई अघि बढ्न पनि हार्दिक आग्रह गरेको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री