नाकाबन्दीको अन्तर्राष्ट्रिय कानुनअनुसार विकल्प खोज्न नेता रावलको जोड

नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावल

नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावल

काठमाडाँै, ११ असोज । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नाकाबन्दी भइरहे अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक निकास खोज्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता रावलले भूकम्पले दुःख दिएको बेला सहयोग गर्नुको सट्टा झन् दुःख दिनु राम्रो नभएको उल्लेख गरे । उनले भने, “समुन्द्रको उपयोगको कानुनमा भूपरिवेष्ठित मुलुकलाई सहयोग गर्नुपर्ने मान्यता छ भारतलगायत देशहरुले सन् १९६६ मै सम्झौता गरेका छन् ।”

विश्व व्यापार सङ्गठनको सदस्य भएको मुलुकले पारवहनमा बन्देज लगाउन, सामान रोक्न नपाउने व्यवस्थाको साथै सार्क देशबीच भएको साफ्टा सम्झौता पनि परिवहनमा बन्देज नलगाउने व्यवस्था गरिएको नेता रावलले बताए ।

संविधान निर्माणमा संविधानसभामा रहेका ६७ मधेसी, २१ थारु, १४ मुसलमानले संविधानको पक्षमा मतदान गरेको बताउँदै उनले दुई चार मधेसी नेताले मधेसको नाममा भ्रम छर्न खोजेको आरोप लगाए ।

मधेसका बहुसङ्ख्यक जनता संविधानको पक्षमा रहेकाले केही त्रुटि भए त्यसलाई सच्याउन आफूहरु तयार रहेको नेता रावलले बताए । सातबुँदे सहमतिमा एमालेको नेतृत्वमा सहमतिको सरकार बनाउने विषयमा सहमति भइसकेको जिकिर गर्दै असोजभित्रै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने ठोकुवा गरे ।
यसैबीच, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले १५ दिन नेपालको भ्रमण गर्न आउनेलाई वंशजको आधारमा नागरिकता दिने मागसहित बन्द, हडताल गर्ने नेतालाई कायरको संज्ञा दिएका छन् ।

मोटिभेट ग्रुप अफ कम्पनी प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिका www.motivatenews.com आज यहाँ उद्घाटन गर्दै मन्त्री पण्डितले आफ्नो व्यक्तिगत स्वार्थका लागि छिमेकीको सीमानामा बसी नेपाली जनतामाथि ढुङ्गा बर्साउने, दैनिक जीवनमा असर पर्ने गरी नाकाबन्दी गर्ने व्यक्ति राष्ट्रवादी हुन नसक्ने बताए ।

मन्त्री पण्डितले भने, “आफ्नै घरमा आगो लगायो भने भाँडा माझ्ने खरानीको कमी हुँदैन, जसले जसरी यो मुलुकलाई आगो लगाउन काम गरेको छ त्यो राष्ट्रघाती छ, म नेपालको भौगोलिक खण्डता, स्वतन्त्रताको लागि ज्यान दिन तयार छु ।”

नब्बे प्रतिशत सभासद् मिलेर नेपालको नयाँ संविधान बनाएकाले यसमा प्रजातान्त्रिक मुलुक छिमेकी भारतले प्रश्न उठाउन नहुने बताए ।

एनव्याब्सनका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले नेपालको राजनीतिक अस्थिरताको कारण लाखौँ बालबालिकाले पढ्नबाट वञ्चित भएको बताउँदै उनीहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न आग्रह गरे ।

युवा वैज्ञानिक राम रिमालले नेपालमै विज्ञान र प्रविधिको विकास गर्न सकिने भन्दै आफूले निर्माण गरेका प्रविधिलाई प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरे ।

मुटु रोग विशेषज्ञ डा अनिल भट्टराईले नयाँ किसिमको अनलाइन आएकाले यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अनलाइन पत्रिकाका सम्पादक रवी कटवालले पृथक शैलीको पत्रकारिताबाट विश्वमा नेपाल र नेपालीको शिर उच्च राख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री