अध्यक्षमा पुनः उम्मेदवारी घोषणा गर्दै शेष घलेले लण्डनमा यसो भने (मन्तव्यको पूर्ण पाठ)

Shes-ghale

फाइल तस्विर

महामहिम राजदूत ज्यू, अतिथिज्यूहरु तथा सम्पूर्ण गैर आवासीय नेपाली साथीहरु,

सर्वप्रथम म गैरआवासीय नेपाली संघ बेलायतको नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्न चाहान्छु । केही समयदेखि एनआरएन युकेमा केही समस्याहरु देखिएका थिए, त्यसलाई हल गर्न आईसीसीले पनि कोसिस गर्यो, अन्ततः यहाँहरुले समुदायवीचको बलियो एकता देखाउनुभयो र सवै अतितलाई विर्सेर सहमतिका आधारमा नेतृत्व चयन गर्नुभयो, यो साँच्चै प्रसंसनीय छ, यसका लागि योगदान गर्ने सवैलाई म धन्यबाद दिन चाहन्छु ।

गैरआवासीय नेपाली साथीहरु,

आज म तपाईहरुको साथमा उभिएर हर्षका साथ भन्न सक्छु कि, हामीले करिव एक दशकसम्म गैरआवासीय नेपालीको प्रमुख मुद्दा बनेको नागरिकताको मागलाई नयाँ संबिधानले संम्बोधन गरिसकेको छ । नयाँ संबिधानसँगै यो हाम्रा लागि सवैभन्दा खुसीको क्षण हो ।

यो उपलब्धि ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने हाम्रो भावनालाई साकार पार्न यो सवैभन्दा महत्वपूर्ण आधारशिला हो । बलियो आधारशिला बिना बलियो घर बन्दैन, त्यसैले गैरआवासीय नेपालीका लागि संविधान पारित भएको दिन ऐतिहासिक खुसीको दिन हो ।

साथीहरू,
झण्डै दुई बर्ष अगाडी ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै यो संस्थामा बसेर देशलाई केही योगदान दिन सकिन्छ भन्ने साथीहरुको आग्रहलाई स्वीकार गर्दै मैले गैरआवासीय नेपाली संघसँगको नेतृत्वको जिम्मेवारी यात्रा थालेको थिएँ ।

त्यतिबेला मेरो मनमा केही डर भए पनि अहिले म तपाईहरुमाझ उभिएर गौरवसाथ भन्दैछु कि, मैले यो दुई बर्षको प्रत्येक मिनेट एनआरएनए सँगै बिताएँ, संग-सँगै हिडेँ उठबस गरेँ ।संस्थालाई सत्मार्गमा डोर्याउने प्रयत्नमा अहोरात्र लागि परेँ । म यति भन्न सक्छु कि यहाँहरुमध्ये धेरैले मैले जस्तै अनुभूति गर्नुभयो होला ।

आज, गैरआवासीय नेपाली संघले नेपालभित्र र बाहिर जुन इज्जत र मान प्रतिष्ठा पाएको छ, नेपाल सरकार, नेपाली जनता, गैरआवासीय नेपालीहरुले यो संस्थालाई जति भरोसायोग्य ठानेका छन्, बिदेशी संघसंस्थाले एनआरएनलाई जति बिश्वाशिलो साझेदार सम्झिएका छन्, त्यो सबै एकै दिनमा वा सानो मेहेनतले सम्भव भएको हैन् ।

त्यसमा संसारभर छरिएर रहनुभएका तपाइहरुजस्तै गैरआवासीय नेपाली साथिहरुको बिस्वास, भरोसा, मेहेनत र मातृभुमीको लागि केहि गरौँ भन्ने परोपकारि भावना सबैभन्दा महत्वपुर्ण पक्ष हो । विदेशी भूमिमा आर्जेको सीप, पुँजी वा भवनालाई आफ्नै मुलुकको सम्बृद्दिमा खर्च गर्ने त्यहि भावनाको एकिकृत स्वरुप हो आजको गैरआवासीय नेपाली संघ ।

मित्रहरू,
हामी सवैलाई थाहा छ कि, अप्रलि २५, २०१५ मा हाम्रो मातृभूमीलार्इ महाभूकम्पको ठूलो संकटले छोयो । इतिहासमा पहिलोपटक गैरआवासीय नेपाली संघले यो विपत्तिको घडीमा आफ्नो सम्पूर्ण स्रोत साधन परिचालन गरी उद्दार तथा राहत र पुनःनिर्माण अभियानमा केन्द्रीत भयो । विश्वभरबाट करिव तीन सय एनआरएन स्वयंसवेक नेपाल पुगेर एनआरएनले थालेको उद्धार र राहतमा खटिनुभयो ।

छोटो समयमै हामीले करोडौं रुपैयाँ संकलन गर्यौं, एनआरएन नेतृत्व तुरुन्तै भूकम्पग्रस्त क्षेत्रमा पुगेर राहत वितरणमा सक्रिय भयौं । दुई हप्ताको अवधिमा तेह्र जिल्लाको गाउँगाउँमा पुगेर करिव १७ हजार परिवारलाई राहत वितरण गर्यौ । हाम्रो सानो कोसिसले भूकम्पपीडितको घाउमा अलिकति भएपनि मल्हम लगाउन सकेको महसुस भयो ।

हामीले यस्तो काम कहिल्यै गरेका थिएनौं । तर, यसले के देखायो भने हामी सवै मिलेर हातेमालो गर्यौं भने र राम्रो विचार छ भने कठिन काम पनि सहजताका साथ सम्पन्न गर्न सकिने रहेछ ।

भूकम्पका दौरान हामीले जेजति काम गर्यौं त्यसलाई नेपाल सरकार र सारा बिश्वले प्रसंसा गरिरहेको छ । मलाई जहाँसम्म लाग्छ, त्यसैको फलस्वरूप मलाई सरकारले बिशेष दूत नियुक्त गरेको हो, राष्ट्र पुनःनिर्माणका लागि । त्यो सम्मानको असली भागीदार यहाँहरु सवै हुनुहुन्छ । मलाई मात्र हैन, हामी सवै गैरआवासीय नेपालीहरूलाई दिएको हो सरकारले यो सम्मान र जम्मेवारी दुःखमा परेका नेपालीलाई सहयोग गर्न । यहाँहरूले देखाउनुभएको भावना कै कारणले यो प्राप्त भएको हो ।

सोही कारण अब एनआरएनको काँधमा अर्को जिम्मेवारी आएको छ मुलुक पुनःनिर्माण अभियानमा साझेदारी गर्ने । त्यसैले हामीले आगामी बिश्व सम्मेलनको नारा नै बनाएका छौं- ‘एनआरएनए- ए ट्रु पार्टनर टु रिविल्ड नेपाल ।’ अर्थात् गैरआवासीय नेपाली संघ- राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार ।

यो अभियानमा सहभागी हुन हामीले भूकम्प पिडीतका लागि ३५ करोड रुपैयाँको लगानीमा एक हजार घर बनाउने तयारी गरिरहेका छौं । यो काम आफैमा धेरै कठिन र चुनौतीपूर्ण काम हो । हामीले आफ्नै घर बनाउनु छ र भूकम्पपीडित हाम्रा दाजुभाई दिदीबहिनीलाई पनि एक हजार घर बनाइदिनु छ । त्यसैले यो चुनौती सामना गर्न हामी गम्भीर र एकताबद्ध भएर अगाडी बढनुपर्छ ।

साथीहरू, 
यहाँहरुलाई थाहा छ कि दुई बर्ष अगाडी म गैरआवासीय नेपाली संघको नेतृत्वमा आउँदा संघको संजाल त थियो तर संरचना र स्थायित्वका आधारहरु थिएनन् । हाम्रो पहिलो कोसिस संस्थागत संरचना र दीगोपन सुनिश्चित गर्नेतर्फ रह्यो, जसमा हामि केही हदसम्म सफल भएको अनुभव गरेका छौँ ।

आफ्नै भवन बनाउने गैरआवासीय नेपालीहरुको बर्षौंदेखिको सपना आज पुरा हुने निश्चित भएको छ । १० करोडको लक्ष्य राखेर सुरु गरिएको भवन निर्माण अभियान छोटो समयमै १९ करोडको प्रतिबद्धता जुटाउन सफल भयौं । त्यसकै कारण हामीले बालुवाटारजस्तो मुख्य स्थानमा १३ करोडको लागतमा जग्गा खरिद गरी भवन निर्माण प्रकृयालाई अगाडी बढाउन सकेका छौं । संस्थाको स्थायित्व र दिगो आर्थिक विकाशमा यो महत्वपूर्ण कदम हो भन्ने मेरो बिश्वास छ ।

गएको २ बर्षमा कम्युनिटी आउटरिच प्रोग्राम अन्तर्गत् बिस्वभर भ्रमण गरेँ, जसले प्रबासमा बस्ने नेपलिहरुको संस्थाप्रतिको मोह्, ममता र बिस्वास बढेको मैले महसुश् गरेकोछु । सबैजसो देशमा यस संस्थाको सदस्यता लिने संख्यामा निकै बृद्दि भएको छ ।

त्यसैगरिखाडि तथा मलेसियामा कार्यरत नेपाली मजदुरको समस्या समाधानका लागि हामिले कल्याणकारि कोषको स्थपना गर्न सक्यौं। अहिले त्यसलाइ दिगो बनाउने लश्यसहित काम भैरहेको छ । नेपाली कामादार माथि हुने ठगि र शोषणको सुरुवात नेपालबाटै हुन्छ । त्यसैले स्रोतमै सहि सूचना पुर्याउन सकियोस्ताकि हाम्रा दजुभाइ दिदीबहिनी नठगिउन् भनेर हामिले बैदेशिक रोजगार बिभाग, ILO तथा अन्य संघसंस्थासँग मिलेर श्रमग्राममा बैदेशिक रोजगार सुचना केन्द्रको स्थापना भएको छ । सूचना केन्द्रको स्थापना साथै UN women पौरखी, वाक फ्री फाउन्डेसन लगायतसंगको सहकार्यले बैदेशिक रोजगारीमा जाने नेपालीको हितमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको महसुश् गरेका छौँ ।

नेपाल सरकारसँगको साझेदारीमा खुला बिश्वबिद्यालय स्थापना गर्ने हाम्रो धेरै बर्षदेखिको प्रयत्न पनि अब सफलताउन्मुख छ । गैर आवासीय नेपाली संघको माग अनुसार प्रसासकिय स्वरुप तथा संरचना हुने तयरी भईरहेको र त्यसका लागि हाम्रो निरन्तर पयास रहिरहेका छ । धेरै संघर्षपछि हामीले खुला बिश्वबिद्यालयको नीति निर्माण र संचालनमा गैरआवासीय नेपाली संघको सहभागितालाई सुनिश्चित गर्न सफल भएका छौं । यतिबेला बिधेयक तयार भएर पेश भइसकेको छ, मलाई बिश्वास छ अब हामीले धेरै बर्ष कुर्नुपर्दैन् ।

यो दौरानमा हामीले गैरआवासीय नेपाली अभियानलाई एकताबद्ध राख्नै कठिनाई हुने गरी चुनौतीहरु आए तर हामीले निक्कै संयमतापूर्वक कदम चाल्यौं । तर, जहिँ तहिँ नेतृत्वको एकमात्र चाहना भनेको गैरआवासीय नेपाली अभियानलाई एकताबद्ध राख्नु र त्यस्ता समस्याहरुको दिगो समाधान गर्नुबाहेक अरु केही थिएन् ।

हामी भवन निर्माण र खाडी क्षेत्रमा कार्यरत नेपालीहरूका लागि स्थापना भएको कल्याणकारी कोषको कार्यन्वयन गर्ने तयारीमा लाग्दै गर्दा हाम्रो मातृभूमि ऐतिहाँसिक बिनासकारी महाभूकम्पको चपेटामा पर्यो । यसले गैरआवासीय नेपाली संघमात्र हैन्, सारा मुलुकको पहिलो प्राथमिकता नै राहत, उद्दार र पुनःनिर्माण हुन गएको छ।

साथीहरू,
बिश्वसम्मेलन नजिकिँदै गरेको यो सन्दर्भमा के भन्न चाहन्छु भने एनआरएनए एउटा स्वयंसेवी संस्था हो र नेतृत्व नै त्यो संस्थाको अनुहार हो । नेतृत्वमा यस्तो मानिस आउनुपर्छ जसमा इमान्दारिता र लगनशिलताको साथसाथै समय दिन सक्ने क्षमता पनि हुनुपर्छ भने आफनो निजी स्वार्थका लागि संस्थालाई दुरुपयोग नगर्ने सुनिश्चितता पनि हुनुपर्छ ।

आजसम्म हामीले जेजति उपलब्धि हाँसिल गर्यौंो, त्यसैमा चित्त बुझाएर, बिगतमा उपलब्धिप्रति गौरवमात्र गरेर बस्ने अबस्था छैन् । हाम्रा अगाडी अथाह सम्भावना र बिशाल चुनौती दुवै छन् । त्यसैले हाम्रा आगामी कदम पनि विगतमा जस्तै बुद्धिमतापूर्ण हुनुपर्छ, महत्वकांक्षी हुनुपर्छ र विवेकशील हुनुपर्छ ।

दुई बर्षअघि मैले नेतृत्व लिँदा जे संस्थाप्रतिको अपेक्षा र भरोसा जे थियो त्यसभन्दा कैयौं गुणा बढि आशा र जिम्मेवारी बढेको छ । परोपकारी काम र लगानीको बिषय होस् वा कम्युनिटीको सेवाका सन्दर्भमा होस् यसलाई हल्का रुपमा लिनुभयो दुर्घटना हुनसक्छ ।

त्यसैले अब गैरआवासीय नेपाली संघलाई कस्तो बनाउने भन्ने बिषय तपाइहरुकै हातमा छ । बिगत दुई बर्षमा संस्थालाई जसरी पुनःसंरचना गर्न खोजिएको छ, जे लक्ष्य र जिम्मेवारी लिन खोजिएको छ, त्यसलाई पुरा गर्ने चुनौती बाँकी नै छ ।

एउटा कुरा यहाँहरुलाई मन हृदयदेखि नै भन्न चाहन्छु कि मैले दुई बर्षमा जेजति गरे, त्यो सवै गैर आवासीय नेपाली संघको स्वार्थका लागि गरे । मैले सून्य ब्यक्तिगत स्वार्थ र सून्य ब्यबसायिका स्वार्थमा दुई बर्ष आफ्नो सम्पूर्ण समय र स्रोत साधन यही संस्थाका लागि खर्चें र निष्ठापूर्वक काम गरें ।
विगत ६/७ हप्तायता म युरोप, मिडिल इस्ट, अष्ट्रेलिया, अमेरिका र एशियाली मुलुकहरुको भ्रमण गरी भूकम्पका बेला राहत अभियानमा सहभागी हुनुहुने सहयोगी मनहरुलाई अभिनन्दन गरेँ ।

ती कार्यक्रममा सहभागी हुँदा सवै ठाउंमा मलाई अर्को एक कार्यकाल एनआरन अभियानको नेतृत्वलाई निरन्तरता दिन तिब्र दबाब पर्यो । आजै यही ठाउंबाट घोषणा गरिदिनुस् भनेर सवैजसो देशमा आग्रह गर्नुभयो । तपाईले थालनी गरेका धेरै काम र राष्ट्र पुनःनिर्माणको काम पुरा हुन बाँकी छन्, तीनलाई पुरा गरेरमात्र बिश्राम लिनुस् भन्ने उहाँहरुको आग्रह सुनिरहेँ ।

सवैतिरका यी आग्रहपछि मैले धेरै सोचेँ । के मैले समुदायको यति ठूलो आशा र भरोसालाई लत्याउदै आफ्नो निजी काममा मात्र केन्द्रीत हुन मिल्छ ? के उहाँहरुको बिश्वासलाई मैले तोड्न मिल्छ ?

संसारभरका गैरआवासीय नेपाली साथीहरु जो गैरआवासीय नेपाली संघले अब केही गर्छ भनेर भर्खरै यो संस्थामा आबद्ध हुन थाल्नुभएको छ, उहाँहरुको भावनालाई मैले सम्मान गर्नेपर्छ ।

हो, हामीले यो बिचमा धेरै ठूला ठूला उपलब्धि हाँसिल गरेका छौं । धेरै काम सुरुवात भएका छन् तर सम्पन्न भएका छैनन् । भर्खरै बनेको संविधानमार्फत् मातृभूमीले हामीमाथि अर्को आशा र भरोसा देखाएको छ, देशलाई आर्थिक सम्बृद्दिमा लैजान बाटो खुला गरिदिएको छ । यो गम्भीर चुनौतीलाई पुरा गर्न हामीले मातृभूमीमा पूाजी र सीपको लगानीलाई कैयौं गुणा बृद्धि गर्नुपर्ने छ ।

भूकम्पबाट ध्वस्त भएको मुलुकको पुनःनिर्माणको गम्भिर जिम्मेवारी यतिबेला हाम्रो काँधमा पनि छ, त्यसलाई पुरा गर्नुछ, खाडी मुलुकमा रहेका नेपालीहरुको कल्याणका लागि परोपकारी कोष संचालन गरी उनीहरुको जीवनमा परिवर्तन ल्याउनुछ, संस्थाको स्थायित्व र दिगो विकाशका लागि थालनी गरेका कामहरु टुंगोमा पुर्याउनु छ ।

पक्कै पनि मैले यी दायित्वलाई यही हालतमा छाडेर, समुदाय र मातृभूमीको आवाजलाई नसुनेजस्तो गरी बिश्राम लिन मिल्दैन् ।

त्यसैले साथीहरु मैले यहाँहरुको अनुरोध बमोजिम यहाँहरुको सेवामा अर्को कार्यकाल पनि रहने निर्णय लिएको छु । उम्मेदवारी घोषणा काठमाण्डौमा हैन्, गैर आवासीय नेपालीहरुवीचबाटै हुनुपर्छ, गैरआवासीय नेपाली अभियानको जननी मुलुक बेलायतमै आएर यो घोषणा गर्नु राम्रो हुन्छ भन्ने साथीहरुको आग्रहलाई स्वीकार गर्दै म यहांहरु समक्ष यो घोषणा गर्दै छु ।

मैले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै बिगत दुई बर्षमा जेजति सिकेको छु, त्यसलाई गैरआवासीय नेपाली समुदायको हितमा खर्च गर्ने छु । म उसैगरी आगामी कार्यकालका लागि यहाँहरुको माझमा रहनेछु, त्यतिकै परिश्रम र मेहेनतका साथ यो संस्थालाई अर्को उचाईमा पुर्याउन सम्पूर्ण समय र स्रोत खर्च गर्ने छु ।

मलाई बिश्वास छ, यहाँहरुले अहिलेसम्म जसरी मलाई साथ दिनुभयो, त्यसैगरी थप दुई बर्ष सहकार्यका लागि अगाडी बढ्नुहुने छ ।

अन्त्यमा, एनआरएन आईसीसी र मेरो ब्यक्तिगत तर्फबाट यहांहरु सवैलाई काठमाण्डौ आयोजना हुन लागेको बिश्व सम्मेलनमा सहभागीताका लागि चुले निम्तो दिन चाहन्छु । यहाँहरुको गौरवमय उपस्थीतिले नै सम्मेलनले सफलता पाउने अपेक्षाका साथ मेरा केही भनाई राख्ने अबसर दिनुभएकोमा धन्यबाद ज्ञापन गर्दै बिदा चाहन्छु ।

धन्यबाद

जननी जन्मभूमी स्वर्गादपी गरियसी

जय नेपाल, जय एनआरएन

प्रतिक्रिया

सम्बन्धित सामाग्री