एनआरएनए यूकेमा मुछेत्र गुरुङ अध्यक्ष, आर्थिक प्रतिवेदन र विधान संशोधनको किचलोले अधिवेशन सक्न १४ घण्टा

11999937_10153621141916197_75823171_n

शपथपछि आफ्नो प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष मुछेत्र गुरुङ

 

लन्डन । करिव १४ घण्टा लामो कसरतपछि सकिएको गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को छैंठौं राष्टिय अधिवेशनले मुछेत्र गुरुङलाई अध्यक्षमा सर्वसम्मत चुनेको छ ।

गत ५ सेप्टेम्बरमा पदीय भागवण्डा गरि उठेका सबै उम्मेदवार र नेपाल रहेका व्यक्तिलाई समेत खोजी खोजी पद दिएर निर्वाचन गर्न नपरेपनि आइतबार अधिवेशनमा आर्थिक प्रतिवेदन र विधान संशोधन पारित हुन ठूलो कसरत र मतभिन्नता रह्यो ।

अधिवेशनले विधान संशोधन गरेर विश्वमै नभएको कार्यसमिति बनाएको छ । जसमा उपाध्यक्ष ६ जना चुनिएको छ । सर्वसम्मत कार्यसमितिको उपाध्यक्षहरुमा हिराधन राई, योगकुमार फगामी, दासुराम पाण्डे र राष्ट्र राई छन् भने महिला उपाध्यक्षमा कुमारी गुरुङ र शान्ति थापा कुंवर चुनिए ।

त्यसैगरी महासचिवमा विजयविक्रम लिङदेन, उपमहासचिव अर्जुन कटुवाल, सचिवहरु कृष्ण तिवारी, फडिन्द्र भट्टराई र बुद्धिराम थापा छन् ।

अधिवेशनले कोषाध्यक्षमा दीपक श्रेष्ठ, सह कोषाध्यक्षमा ललित न्यौपाने र युवा संयोजकहरुमा हरिकृष्ण आचार्य र रिचर्ड गुरुङलाई चुनेको छ । च्यारिटी विभाग प्रमुख सनत सागर गुरुङ र प्रवक्तामा खुशी तावा लिम्बु छानिए ।

त्यसैगरि, महिला संयोजकमा शुशिला राई छिन् भने सदस्यहरुमा मिलन गुरुङ, सालिकराम सापकोटा, डा. मिन रानाभाट, क प्रसाद छन्त्याल, यमबहादुर घले, पदम विर्ख रावल, सुरज मास्के, राजेश पाठक र नारायण पौडेल गाउंले छन् । बेलायतबाट केन्द्र (आइसीसी) मा प्रतिनिधित्व गर्नेहरुमा विश्वासदीप तिगेला, कृष्ण तिमिल्सेना, संगीता मरहट्ठा र सुस्मा राईलाई छानिएको छ ।

एसियन कम्युनिटी सेन्टर प्लमस्टिडमा आयोजित अधिवेशनमा निर्वाचन प्रमुख डा. राघवप्रसाद धिताल (ओविइ) ले नवनिर्वाचित कार्यसमितिलाई शपथ गराए । निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाले सञ्चालन गरेको पदस्थापन समारोहमा विशिष्ठ अतिथी एनआरएनए युरोप संयोजक अर्जुन श्रेष्ठ, सहसंयोजक सोम सापकोटा, आइसीसी सल्लाहकारहरु विश्व आदर्श पण्डित र डमर घले, एनआरएनए यूके पूर्व अध्यक्षहरु कुल आचार्य, सूर्य गुरुङ, योगेन क्षेत्री, निवर्तमान अध्यक्ष महेन्द्र कंडेल लगायतले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र र खादाले सम्मान गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आपसी सद्भाव र एकता कायम गरि संस्थालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले दुई वर्ष यता खस्किएको साख बचाउंदै आर्थिक पारदर्शीता कायम, नेपाल हाउस निर्माण, भूपू गोर्खाका समान हक अधिकारका मागमा पहल, भाषा संस्कृतिको संरक्षण आदि गर्ने समेत अठोट व्यक्त गरेका छन् ।

यसअघि करिब तीन घण्टा ढिलो शुरु अधिवेशन बन्द सत्रमा विधान संशोधन र आर्थिक प्रतिवेशन पारित गर्न होहल्ला र मतभिन्नता रह्यो । पूर्व अध्यक्ष योगेन क्षेत्रीले निवर्तमान अध्यक्ष महेन्द्र कंडेलले ४३ हजार ९ सय २० पाउण्डको आम्दानी हरहिसाव नदेखाएको आरोप लगाएपछि कंडेल आक्रोशित भएर अधिवेशन रोक्नेसम्म चेतावनी दिए तर त्यतिबेलासम्म उनको कार्यसमिति विघटन भइसकेर अध्यक्ष मण्डलले जिम्मा लिइरहेको थियो ।

क्षेत्रीले एनआरएनए यूके पूर्व अध्यक्षहरु कुल आचार्य र सूर्य गुरुङको कार्यसमितिले समेत केही रकम दुरुस्त नराखेको बताएपछि दुवै पूर्व अध्यक्षहरु मञ्चमा गएर स्पष्टिकरण दिन वाध्य भए । क्षेत्रीले दुई वर्ष अघि दूतावासमा भएको सहमति बिर्सेर कंडेलले त्यति विघ्न रकम हिनामिना गरेको आक्षेप लगाएका थिए । होहल्लाबीच सभामा क्षेत्रीको त्यो प्रतिवेदन पारित गर्न खोजिएपनि अन्ततः कंडेल, पूर्व कोषाध्यक्ष दासुराम पाण्डे लगायत अधिकांश बोल्ने वक्ताले सहमतिमा आफैंले हस्ताक्षर गरेर कार्यकाल सकिएपछि अहिले क्षेत्रीले आक्षेप लगाउनु कुनै नैतिक आधार नरहेको बताएका थिए । अन्तिममा कंडेलले हिनामिना गरेको भनिएको उक्त रकम र आक्षेपलाई वेवास्ता गर्दै प्रतिवेदन पारित गरिएको छ ।

उता, घिनलाग्दो र निर्लज्ज तरिकाले पद भागवण्डापछि विधान संशोधन गर्न पनि सहज भएन । विधान मस्यौदा समितिका संयोजक गणेश इजम र सदस्यहरु फडिन्द्र भट्टराई, उत्तरमान लिम्बुले संशोधन गरेको विधानबारे पद पाउने बाहेक अधिकांशले विरोध जनाएका थिए । चर्काचर्की र वातावरण उग्र बन्न लागेपछि सदस्य बीरेन खड्का लगायतको युवा समूहले स्थित नियन्त्रणमा लिएको थियो ।

कंडेलको कार्यसमिति विघटनपछि अध्यक्ष मण्डलका कर्ण शाही, डा. राम अधिकारी, सिबी गुरुङ, चण्डी राई र कृष्ण भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसअघि उद्घाटन सत्रमा एनआरएनए यूके प्रमुख संरक्षक प्रा. डा.सूर्य सुवेदीले एनआरएनए यूके नयां कार्यसमितिले नेपालको आर्थिक विकास र समृद्धिमा ध्यान दिन जोड दिए । उनले एनआरएनले आर्थिक, वौद्धिक र सामाजिक रुपमा सहयोगीको भूमिका निर्वाह गर्न जरुरी रहेको पनि औंल्याएका थिए ।

आर के त्रिपाठी र दासुराम पाण्डेले सञ्चालन गरेको उक्त सत्रमा नेपाली दूतावासका तर्फबाट बाबुकाजी डंगोल, विशिष्ट अतिथी एनआरएनए युरोप संयोजक अर्जुन श्रेष्ठ, सहसंयोजक सोम सापकोटा, आइसीसी सल्लाहकार मेजर रि. डमर घले, प्रवासी नेपाली मञ्च बेलायतका तर्फबाट आङकल्जङ लामा, प्रगतिशील नेपाली समाज बेलायतका रण केसी, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, भोला खनाल, विनोद ज्ञवाली, भोज गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

महेन्द्र कंडलको अध्यक्षतामा भएको उक्त सत्रमा उपाध्यक्ष सूर्य नेम्वाङले स्वागत र नरेश काङमाङले धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रम व्यवस्थापनमा ह्यारी गुरुङ, जिवन सेन लगायतको उल्लेख्य योगदान थियो । व्यबस्थापन समिति ह्यारी गुरुङ, जीवन सेन, दिपक श्रेष्ठ र राजन शाही सम्मिलित थिए । दिवाभोजपछि गरिएको सांस्कृतिक कार्यक्रममा सारा, जेनी भट्टराई लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

अध्यक्ष गुरुङको लिखित प्रतिवद्धताको सारांश

आदरणीय उपस्थित समस्त मान्यजन, दाजुभाई, दिदीबहिनीहरु,
यहांहरुलाइ सुन्दा आदर्श जस्तो लाग्ला तर मेरो बास्तविकता भनेको कुरा भन्दा काममा बिश्वास गर्ने बानी हो । मेरा प्रतिवद्धता भनेर मैले पहिला नै घोषणा गरिसकेको थिएं र ती कायमै छन् जो यस प्रकार छन् ।
१. गैर आवासीय नेपाली संघ यूके भित्र पछिल्लो समयमा देखिएको आर्थिक हिसाव कितावको विवाद माथि छानवीन गरि आर्थिक पारदर्शीता सार्वजनिक गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।

२. एनआरएनए यूकेको पांचौ कार्यसमितिको गठन पूर्व र पश्चात देखिएको तिक्तताको अन्त्यका लागि अनवरत रुपमा पहल गरि समावेशीतालाई प्राथमिकतामा राख्दै एनआरएनए यूकेलाई एकतावद्ध तरिकाले अगाडि बढाउने छु ।

३. समान उद्देश्य प्राप्तिका लागि विभिन्न रुपमा गठित भूपू गोर्खा संस्थाबीच कार्यगत एकता कायम गराई एउटै मन्चमा ल्याउने कोशिस गर्ने एवं उनीहरुको जायज माग प्रति ऐक्यवद्धता जाहेर गर्दै उक्त माग पुरा गर्ने नेपाल एवं बेलायत सरकार माथि दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम तय गरि अगाडि बढ्नेछु ।

४. नेपालीहरुको पहिचानार्थ अफिसियल फारम भर्दा हाल रहेको अदर एजियनको बदलामा नेपाली लेख्न पाउनु पर्ने व्यवस्थाका लागि बेलायत सरकारसंग पहल गरि इथ्नीक माइनोरिटीमा लिस्टिङ गराउन पहल गर्नेछु ।

५. हाल एनआरएनको चुनावको समयमा मात्र सदस्य बनाउने संस्कारको अन्त्यका लागि आम नेपाली माझ एनआरएन सम्बन्धि कार्यक्रम लगि 
स्वतस्फूर्त रुपमा सदस्य बन्ने वातावरण बनाउने छु ।

६. वृद्ध गोर्खाहरूका समस्याको पहिचान गरि निधानको लागि पहल गर्दे स्वास्थ्य, आवास, स्तरीय जिवनयापन र फरक समुदायसंगको पारष्पारिकता आदि विषयमा छुट्टै कार्यक्रम ल्याउने छु ।

७. नेपाली बीच रहेको क्षमता, सिप र पंूजी नेपालमा लगानी गर्ने गराउनुको साथै विदेशीहरुलाई समेत लगानीको लागि प्रोत्साहित गर्ने ।

८. बेलायतस्थित नेपाली समुदायलाई लक्षित गरि नेपाली भाषा र संस्कृति जर्गेना गर्ने उद्देश्यले खेलकुल मैदान समेत रहेको नेपाल हाउस स्थापनाका लागि पहल गर्ने छु ।

९. एनआरएनए यूकेलाई यहांस्थित समस्त संस्था एवं सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकसित गराई यहां रहेका व्यक्ति, संस्था एवं समुदायबीचका समस्याहरुको सम्वोधन गर्ने ।

१०. एक पटकको नेपाली सधैंको नेपाली नारालाई सार्थक बनाउन पूर्ण अधिकार सहित नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्ने छु ।

११. यूके पढ्न आउने विद्यार्थी समस्याबारे आवश्यक कदम चाल्ने र विद्यार्थीहरुका विषयमा हाल नेपाल कानुनमा एनआरएन विषयमा गरिएको परिभाषालाई सच्याउनका लागि एनआरएनए आइसीसीसंग समन्वय गरि आवश्यक कदम चाल्ने ।

१२. लागू औषध सम्बन्धि चेतना, नेपाली कक्षा, स्थानीय स्तरका समस्या विषयमा स्थानीय नेपाली संघ संस्थाहरुसंग समन्वय गरि सुनियोजित कार्यक्रम ल्याउने ।

11999904_10153621143656197_283980701_n

 

12000816_10203996478707372_7749215034876659025_o

 

तस्विरः  सारा

तस्विरः सारा

12016384_1099160376761574_1102820290_o

तस्विरः सारा

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री