लन्डनमा मोतीको सम्झना

Moti Jayanti

लन्डन । लन्डनमा नेपाली भाषा साहित्यका युग परिवर्तक साहित्यकार मोतीराम भट्टको १५० औं जन्मजयन्ती मनाइएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत र नेपाल मुक्तक प्रतिष्ठान बेलायतले आइतबार संयुक्त रुपमा विशेष गजल एवं मुक्तक गोष्ठी गरि जन्म जयन्ती मनाएका हुन् । कार्यक्रममा बेलायतका नेपाली स्रष्टा र साहित्यप्रेमीको उल्लेख्य सहभागिता 
रह्यो ।

कार्यक्रममा मोतीराम भट्टको वहुआयामिक व्यक्तित्व र कृतित्वबारे चर्चा गरियो । सहभागीले कवि, जीवनीकार, नाटककार, गजलकार, अभिनेता, निर्देशक, प्रकाशक, पत्रकारजस्ता विभिन्न आयाममा मोतीराम भट्टले नेपाली 
वाङ्मय र साहित्यलाई ठूलो टेवा पुर्याएको स्मरण गरे । कार्यक्रम उनको तस्बीरमा माल्यार्पणबाट सुरु गरिएको थियो ।

कार्यक्रमका प्रमुख आकर्षण रहे वरिष्ठ गजलकार रवि प्राञ्जल । उनले नयां पुराना गरी करिब १५ वटा गजल सुनाइरहंदा सभाहल उत्सवमय बनेको थियो । उत्तरार्धमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेका उत्कृष्ट मुक्तकले चिसो सांझमा न्यानो रौनक थप्यो ।

साहित्यकार एवं राजनीतिज्ञ बलदेव शर्मा मजगैंया, गजलकार रवि प्राञ्जल, मुक्तककार रामकाजी कोने, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली, साहित्यकार सुमलकुमार गुरुङ्ग, शिक्षासेवी चण्डिका भट्टलगायत विशिष्ट अतिथी सहभागी उक्त कार्यक्रमको अध्यक्षता डा. रूपक श्रेष्ठ र दुर्गाप्रसाद पोख्रेलले गरेका थिए ।

सोही अवसरमा गजल र मुक्तकमा दीर्घसेवा पुर्याएवापत रवि प्राञ्जल र रामकाजी कोनेलाई प्रशंशापत्रसहित सम्मान गरिएको छ । कार्यक्रममा सञ्चारकर्मी भगीरथ योगी, घनश्याम शर्मा रेग्मी, नृपेश उप्रेती, नेपाली शिवराज, कृष्ण तिवारी, आदर्श श्रेष्ठ, राजकुमार श्रेष्ठ, नवराज घिमिरे, प्रतिमा केसी, वीरु मुकारुंग, सागर सिलवाललगायतका करिब ३ दर्जन स्रष्टाले गजल, मुक्तक र कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री