एनआरएनए युकेका उम्मेदवारहरु को कुन पार्टीसँग निकट ?

nrn_uk_logo
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी १२ र १३ सेप्टेम्बरमा हुने छैठौ अधिवेशन नजिकिदै गर्दा कुन पार्टी वा जाती निकटले निर्वाचनमा बाजी मार्ला भन्ने अनुमान सुरु भएको छ । अधिकांश पदहरुमा निर्विरोध निर्वाचित भैसकेपनि अध्यक्षलगायतका मुख्य पदमा भने प्रतिस्पर्धा तीव्र हुने अनुमान धेरैको छ ।
अध्यक्ष पदका प्रत्यासीहरु मुछेत्र गुरुङ, हिराधन राई, योगकुमार फगामी र विश्वासदीप तिगेला मैदानमा छन् । गुरुङ एमाले भातृ संगठन प्रवासी नेपाली मंच निकट मानिन्छन् । राई कांग्रेसको जनसम्पर्क समिति (शिवजी श्रेष्ठ) निकट मानिन्छन् । फगामी पार्टी भन्दा पनि पूर्व अध्यक्ष योगेन क्षेत्रीको उम्मेदवार हुन् । तिगेला भने संघीय पार्टी (उपेन्द्र अशोक) निकट छन् । चारैजना प्रत्यासीको भोट व्याङक जातीय भएपनि प्रतिस्पर्धामा गुरुङ अघि रहेको स्रोतहरुको दावी छ । एमाले र कांग्रेस निकटका भातृ संगठनसँग ‘डिल’ गरेपछि उनी जितको नजिक रहेको अनुमान गर्न थालिएको छ । गुरुङ भने जातीय संगठन तमुधी युकेका पूर्व अध्यक्ष हुन् । अध्यक्षका प्रत्यासीहरु मध्ये राईले टिम बनाएका छैनन् । सुरुका दिनमा फगामी तिगेलाको टिममा उपाध्यक्षमा उठने घोषणा गरेपनि अन्तिम समयमा अध्यक्ष पदमा फगामीले मनोनयन हालेका थिए । त्यस्तै तिगेला पनि विना टिम मैदानमा ओर्लिएका छन् । फगामी आफ्ना निकट मतदाताहरुको सदस्यता अस्वीकृत भएकोमा चिन्तित छन् । निर्वाचन समितिका अनुसार एनआरएनए युके कार्यसमितिले बनाएको मापदण्ड पुरा नभएका सदस्यता खारेज गरिएको हो ।
मंच र जनसम्पर्क समितिसँगको एकताकै कारण उपाध्यक्षमा दासुराम पाण्डे र अर्जुनकुमार कटुवाल अघि देखिएका छन् । उपाध्यक्षकै प्रत्यासीहरु बुद्धिराम थापा, ललित न्यौपाने र सनत गुरुङ औपचारिक रुपमा कुनै टिममा नभए पनि जित्ने दावी गर्न छाडेका छैनन् । पाण्डे र न्यौपाने मंच निकट हुन् भने कटुवाल, थापा र गुरुङ जनसम्पर्क समिति निकट छन् । मञ्चले पाण्डे र जनसम्पर्क समितिले कटुवाललाई आधिकारिक उम्मेदवारका रुपमा खडा गरेको छ ।

महिला उपाध्यक्षमा शान्ति थापा र कुमारी गुरुङ मैदानमा छन् । कुमारी गुरुङ जनसम्पर्क समिति (लोक गुरुङ) पक्षकी हुन् । थापा जातीय संगठन मगर संघको कोटाबाट उपाध्यक्षमा सिफारिसमा परेकी हुन् । उनी पनि मुछेत्रकै टिममा छिन् ।
अध्यक्षका प्रत्यासी गुरुङको टिममा महासचिव विजय विक्रम लिङदेन छन् । अर्का प्रतिस्पर्धी महासचिव खुशीमान लिम्बु स्वतन्त्र रुपमा मैदानमा छन् । लिङदेन मंच निकट मानिन्छन भने लिम्बु कुनै पार्टीमा नलागेको दाबी गर्छन। धेरै सदस्य बनाएको दावी गर्दै आएका अध्यक्षका प्रत्यासी गुरुङको टिममा परेकाले जित्नेमा लिङदेन ढुक्क छन् । अर्का प्रत्यासी लिम्बु तमुधीका मतदाताले ‘क्रस भोट’ गर्ने दावी गर्छन । स्रोतका अनुसार मुछेत्र गुरुङले गठन गरेको चुनाव प्रचारप्रसार समिति र आफ्ना निकट मार्फत टिममा नामावली ‘आफ्ना’ मतदातालाई बुझाएका छन् । सोअनुसार अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्षद्धय दासुराम पाण्डे र अर्जुनकुमार कटुवाल, महासचिव बिजयविक्रम लिङदेन छन् ।

यसअघि, सचिवमा कृष्ण तिवारी, कोषाध्यक्षमा दिपककुमार श्रेष्ठ, महिला संयोजकमा शुशिला राई, युवा संयोजकमा हरीकृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन । निर्विरोध भएका मध्ये तिवारी मंच निकट, श्रेष्ठ जनसम्पर्क निकट, राई र आचार्य मंच निकट छन । उनीहरुसँग प्रतिस्पर्धामा गर्ने कोही नभएपछि स्वत निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुरज मास्के, पद्म रावल, नारायण पौडेल, यमबहादुर घले, क प्रसाद छन्त्याल, सालिकराम सापकोटा, राजेश पाठक, मिन रानाभाट र मिलन गुरुङ पनि निर्विरोध निर्वाचित भैसकेका छन । यि मध्ये पौडेल र रानाभाट जनसम्पर्क निकट हुन भने पाठक मंच निकट । अन्य सदस्यहरु भने कुन कुन दलहरु निकट छन भन्ने कुरा खुल्न सकेको छैन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री