लन्डन । जब उनी मुम्बइ पुगे, त्यहां धेरै नेपाली युवती र अधवैंशे महिला वेश्यावृत्तिमा लागेको उनले चाल पाए । घरको दयनीय आर्थिक अवस्थाले गर्दा कलिला युवती र महिला त्यस्तो धन्दामा संलग्न हुन वाध्य थिए । यौन र श्रम शोषणमा बांचेका थिए उनीहरु । प्रेम र धनको लोभमा फंसाइएका हुन् वा जिविकोपार्जनको अर्को उत्तम विकल्प नभएपछि कोठीमा रात बिताउन वाध्य पारिएका महिला । त्यहांको दर्दनाक र नारकीय अवस्था देखेर ललित भुसालको मन छियाछिया भयो । फिल्म लाइनमा लागेका उनले तत्काल सोचे, मैले जनचेतना जगाउने काम नगरि भएन । बेलायत आएर उनले त्यही विषय रोजे फिल्म बनाउन ।
अंग्रेजी फिल्म निर्माण चानचुने थिएन । उनले यस विषयमा अनुसन्धान गरेर कथा लेखे । फिल्म प्रभावकारी बनाउन धेरै स्क्रिप्ट राइटर खोजे तर अन्तिममा राजेश बेदी भेटिएपछि उनैसंग काम गरे भुसालले । करिब ५ महिनाको कडा मेहनत र तयारीपछि बेलायती र युरोपेली २८ जनाको टिम बन्यो । अनि उनीहरुले फिल्मको नाम जुराए ‘लिचेज् ।’
मानव तस्करीमा आधारित २४ मिनेट लामो फिल्म ‘लिचेज्’ ले केही समय अघिमात्र इन्डोनेसियाको जकार्तामा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘मेरिट २०१५ अवार्ड’ जितेपछि थप उत्साहित छन् भुसाल । ‘मानव तस्करी एउटा जघन्य अपराध र मानवअधिकारको उल्लंघन हो’, भुसाल भन्छन्, ‘मलाई विश्वास छ मेरो फिल्मले थोरै भएपनि जनचेतना जगाउने छ र तस्करहरुको पनि मन परिवर्तन गराइदिने छ ।’
क्याम वुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त फिल्मका निर्माता, निर्देशक र लेखक भुसाल आफैं हुन् । यसमा बलिउड देखि यूके र युरोपेली कलाकारहरुको अभिनय छ । बेलायतस्थित वेष्ट मिडल्याण्डवासी भुसाल फिल्मलाई विश्वव्यापी प्रदर्शन र चलचित्र महोत्सवमा सामेल गराउने सोचमा छन् । केही गैर सरकारी संस्थाले उक्त फिल्मलाई कलेज, स्कुलमा समेत प्रदर्शन गराउन चाहेको भुसालले बताए । अवार्ड पाएपछि यस्ता विषयमा काम गर्न अझ प्रेरित भएको उनी बताउंछन् । बेलायतको बर्मिङहममा प्रिमियर शो हुंदा फिल्मलाई बलिउड कलाकार भाष्कर पटेल देखि बेलायती राजनीतिज्ञले औधि रुचाएको सम्झन्छन् भुसाल ।
उनी अर्को फिल्म ‘दि क्रस्ड विङस्’ का लागि पनि काम गरिरहेका छन् । उक्त फिल्मले पनि घरेलु हिंसा, बलजफ्ती बिहे आदि विषय समेट्ने छ । यसको कथा एसिया, अफ्रिका र यूकेमा केन्द्रित हुने भुसालले जनाए ।
बुटवल स्थायी घर भएका भुसाल सानैदेखि कलाकार बन्न चाहन्थे तर उनको भाग्य र लगावले उनलाई निर्देशक सम्म बनायो । यसअघिका प्रोजेक्ट ‘म्यान अफ गड’ मा डिरेक्टर अफ फोटोग्राफी र एसोसिएट प्रोड्युसर बनेर काम गरेका उनले ‘ट्रयास अर ट्रेजर’ मा भने निर्देशक र डिरेक्टर अफ फोटोग्राफीको जिम्मेवारी सम्हालेका थिए । ‘बेलायत बसेर अंग्रेजी फिल्ममा काम गरेपनि मलाई नेपाली हुनुमा गर्व छ’, भुसालले जांदाजांदै गफ बिट मारे ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने