नौ दिनदेखि बागलुङ बन्द, जनजीवन कष्टकर

baglung

बागलुङ, १४ भदौ । यो जिल्ला विगत नौ दिनदेखि बन्द छ । विभिन्न आन्दोलनरत पक्ष र समूहले गरेको बन्दले जिल्लाभरको जनजीवन प्रभावित बनेको छ ।

जनजातिको बन्दपछि बागलुङ टुक्र्याइएको विरोधमा यहाँका जनता आन्दोलित छन् ।

मगरात स्वायत्त प्रदेशको माग गर्दै मगर समुदायले गरेको बन्दले जिल्ला दोहोरो बन्दका मारमा परेको छ । पहिचान पक्षधरले सोमबार मगरात क्षेत्र बन्दको आह्वान गरेका छन् । नौ दिनदेखिको जिल्ला बन्दले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार, व्यवसाय, कलकारखाना, यातायात, शिक्षण संस्था सबै बन्द छन् ।

अत्यावश्यक कामले सदरमुकाम आउनुपर्ने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । दिनभर हिँडेर आइतबार साँझ सदरमुकाम आइपुगेको ताराखोलका पूर्णभद्र न्यूरले बताउनुभयो । पोखरा, काठमाडौँलगायतका क्षेत्रमा पुगेका बागलुङवासी यातायात नचलेपछि जिल्ला भित्रन पाएका छैनन् ।

सरकारी कार्यालय सुरक्षाकर्मीको पहरामा खुले पनि सेवाग्राही नआउँदा सुनसान बनेका छन् । बन्दले शिक्षण संस्थामा नराम्रो असर पारेको छ । हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।

विद्यालय खुलाउन दबाब दिइए पनि आन्दोलनरत पक्षले त्यसलाई स्वीकारेका छैनन् । चाडबाडका मुखमा भएको बन्दले विदेशबाट आउने तयारी गरेका आफन्तजन पनि अलमलमा परेका छन् ।

जिल्लामा सामानको ढुवानी नै रोकिए पछि दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । गरिखाने वर्ग सबभन्दा बढी बन्दको मारमा छन् । उता, सातादेखि अखण्ड बागलुङको मागसहित जिल्ला बन्द छ । सात प्रदेशको सीमाङ्कनमा बागलुङलाई दुई प्रदेशमा टुक्र्याएपछि जिल्लाभर आन्दोलन उठेको छ ।

प्रधानमन्त्रीलगायत प्रमुख दलका नेताले जिल्ला नटुक्र्याउने आश्वासन दिए पनि लिखित र प्रक्रियासम्मत रुपमा नसच्चिएसम्म आन्दोलन नरोकिने नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री