बेलायती मन्त्रीले भेटे नेपालका प्रधानमन्त्री, उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र वेलायती विकास राज्यमन्त्री डेसमोन्ड स्वाईनका बीच भएको भेटवार्तामा । तस्बिर ः अच्युत रेग्मी, रासस

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र वेलायती विकास राज्यमन्त्री डेसमोन्ड स्वाईनका बीच भएको भेटवार्तामा । तस्बिर ः अच्युत रेग्मी, रासस

लन्डन । बेलायती विकास राज्यमन्त्री डेसमोन्ड स्वाइनले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा नेपाल र बेलायतको सम्बन्ध, नेपालको संविधान निर्माण प्रक्रिया, भूकम्पपछिको पुनःनिर्माणका बारेमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले झन्डै एक शताब्दीदेखि नेपाली जनताले लोकतान्त्रिक शासन पद्धतिका लागि गरेको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नेपाल संविधान निर्माणको अन्तिम चरणमा रहेको बताए ।

उनले यस ऐतिहासिक समयमा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा नेपालका मित्रराष्ट्रहरूको नैतिक समर्थन रहनेमा आफू विश्वस्त रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले मित्रराष्ट्र बेलायतले नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर दिँदै आएको सहयोगका लागि धन्यवाद दिँदै संविधान निर्माण भएपछि मुलुकमा शान्ति र स्थायित्व कायम भई विकासले गति लिने विशवास व्यक्त गरे ।

उनले नेपाल भूकम्प, बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिको चुनौतीको सामना गर्दै संविधान निर्माणमा सक्रिय रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका सम्बन्धमा विभिन्न माग राखेका दल, सङ्घसंस्थासँग गम्भीर ढङ्गले वार्ताका लागि पत्राचार भइसकेको पनि उल्लेख गरे । सो अवसरमा संयुक्त अधिराज्यका राज्यमन्त्री स्वायनले प्रधानमन्त्री कोइरालाको सफल नेतृत्वमा नेपालले नयाँ संविधान पाउनेमा आफू विश्वस्त रहेको बताए ।

उनले लोकतन्त्रलाई संस्थागत गर्ने नेपालको यस प्रयासमा संयुक्त अधिराज्यको साथ र सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरेका थिए ।उनले नेपाल र बेलायतको कुटनीतिक सम्बन्ध स्थापनाको द्विशताब्दी पुग्न लागेको उल्लेख गर्दै यस अवसरमा नेपालले नयाँ संविधान प्राप्त गर्नु खुसीको कुरा भएको बताए ।

भेटमा प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत जोन रन्किन पनि उपस्थित थिए ।

यसैबीच,  स्वाइनले उपप्रधानमन्त्री प्रकाशमान सिंहसंग पनि भेटवार्ता गरेका छन् । भेटमा उपप्रधानमन्त्री सिंहले स्थानीय सरकार र समुदाय विकास कार्यक्रममार्फत नेपालको गरिबी हटाउन बेलायतले खेलेको भूमिकाको सराहना गरे । बेलायती सरकारले १४ जिल्लामा गोरेटो निर्माणका लागि गरेको सहयोगको प्रशंसा गर्दै उपप्रधानमन्त्री सिंहले विभिन्न समयमा बेलायतले नेपालको विकासका लागि गरेको सहयोगका लागि स्वाइनलाई धन्यवाद दिए ।

प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहनु भएका संयुक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी राज्य मन्त्री डेसमण्ड स्वायन शिष्टाचार भेटका क्रममा । रासस

प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहनु भएका संयुक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी राज्य मन्त्री डेसमण्ड स्वायन शिष्टाचार भेटका क्रममा । रासस

उपप्रधानमन्त्रीले भूकम्प र त्यसपछिका कम्पनबाट पुगेको क्षतिका बारेमा समेत स्वाइनलाई अवगत गराएका थिए । राज्यमन्त्री स्वाइनले नेपालको संविधान लेखनका बारेमा भएको प्रगतिका बारेमा जिज्ञासा राखेको काठमाण्डौंबाट राससले जनाएको छ ।

स्वायनले भूकम्पले भत्काएको संरचनाको अब पुनःनिर्माणमा लाग्नुपर्ने बताएका छन् । आज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले भूकम्पपीडितलाई पुरयाएको सहयोगको अवलोकन गर्दै उनले पुनःनिर्माण अबको आवश्यकता भएको बताए ।

उनले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले वितरण गरेको राहत सामग्री, आपत्कालीन सामग्रीको भण्डारण कक्षको अवलोकन गर्नुका साथै दुवाकोटको गाउँमै गएर रेडक्रसले पुरयाएको सहयोग र त्यसको प्रभावकारिताबारे पीडितसँग जानकारी लिए ।

त्यसक्रममा उनले भूकम्पले ल्याएको महाविपद्को सामना गर्दै पालमा बस्दै आए पनि अब भूकम्पले नभत्काउने तथा बलियो र सुरक्षित घर एवम् संरचनाको पुनःनिर्माणमा लाग्नुपर्ने बताए ।

संयमतापूर्वक विपद्को सामना गर्नु नेपालीको साहस भएको प्रशंसा गर्दै उनले भूकम्पको विपद्सँग जुध्नका लागि सधैँ तयारी भएर सुरक्षितसँग बस्नुपर्ने बताए ।

कार्यक्रममा रेडक्रस सोसाइटीका केन्द्रीय सचिव देवरत्न धाख्वाले भूकम्प बिनासङ्केत आउने विपत्ति भएकाले भूकम्पबाट सुरक्षित हुनेगरी पुनःनिर्माणमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य, विपद् व्यवस्थापनका संयोजक एवम् रेडक्रस भक्तपुर सभापति मनोजकुमार थापाले भक्तपुरका भूकम्पपीडितलाई रेडक्रसले वैशाख १२ गते भूकम्प भएको १० मिनेटभित्र उद्धार र राहत वितरणको कार्य सञ्चालन गरेको बताए ।

सो अवसरमा रेडक्रसले पुरयाएको सहयोगबारे जानकारी दिँदै भक्तपुरमा भूकम्पले १८ हजार ९०० घर भत्किएको, ३३३ जनाको ज्यान गएको, ४०० घाइते भएका जानकारी दिइयो ।

रेडक्रसले भूकम्पपछि १८ वटा उपशाखामार्फत स्थायी शिविरका लागि छ हजार २१७ थान त्रिपाल, अन्य आठ हजार थान त्रिपाल, ३०० घरपरिवारलाई घरयासी सामानसहितको किट, दुई हजार पीडित परिवारलाई अस्थायी आवास निर्माणका लागि रु १५ हजारका दरले रु तीन करोड वितरण गर्नुका साथै भक्तपुरका छ वटा नगरपालिकामा २२४ वटा अस्थायी शिविर निर्माण गरेको जानकारी दिए ।

रेडक्रसले जिल्लाभरि दुई हजार स्वयम्सेवक खटाएर ३३ हजार ३०५ परिवारलाई पुनःस्थापनाका लागि सहयोग गरेको, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, औषधि वितरणलगायतका कार्य गरेको उनले जानकारी दिए ।

कार्यक्रममा बेलायती राज्यमन्त्रीले भक्तपुर नगरपालिकाभित्रको दरबार क्षेत्र, तौमढी पाँचतले मन्दिरलगायतका क्षेत्रको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री