वार्ताद्वारा समस्याको समाधान खोज्न सकिने सरकारको आधिकारिक धारणा

सरकारले नेपालस्थित कुटनीतिक निकायका प्रमुखलाई मुलुकको पछिल्लो राजनीतिक विषयमा जानकारी गराएपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे । तस्बिरः भीष्मराज ओझा, रासस

सरकारले नेपालस्थित कुटनीतिक निकायका प्रमुखलाई मुलुकको पछिल्लो राजनीतिक विषयमा जानकारी गराएपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे । तस्बिरः भीष्मराज ओझा, रासस

काठमाडौँ, १० भदौ । सरकारले लोकतान्त्रिक संविधान निर्माण अन्तिम चरणमा पुग्दै गर्दा सम्पूर्ण जनता खुुसी हुनुपर्ने अवस्थामा केही जिल्लामा दुःखद् घटना भएको बताउँदै वार्ताद्वारा समस्याको समाधान खोज्न सकिने स्पष्ट पारेको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् संविधान निर्माणका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई आज जानकारी गराउँदै सरकारले दुई सय ५० वर्षदेखि एकात्मक ढाँचामा चल्दै आएको राजनीतिक व्यवस्थालाई सङ्घीयतामा लैजाँदा चुनौती देखिनु स्वाभाविक भएको बताउँदै संविधानसभामार्फत संविधान बनाउनु कोठामा बसेर विज्ञले संविधान बनाएजस्तो होइन भनेको छ ।

सरकारको आधिकारिक धारणा सुनेपछि बैठकमा सहभागीले संविधान निर्माण प्रक्रियाप्रति सकारात्मक विचार व्यक्त गर्दै भूकम्पछिको पुनःनिर्माणमा बाधाव्यवधान आउन नदिन सुझाव दिएको अर्थमन्त्री डा रामशरण महतले जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय समुदायको धारणाका विषयमा स्पष्ट पार्दै भने, “नेपालको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय समुदायको असल सदाशयता मात्र रहेको हामीले बुझ्यौँ ।”

सो अवसरमा पराष्ट्रमन्त्री पाण्डेले सङ्घीयताका सम्बन्धमा पहिल्यै बनेका धारणालाई परिवर्तन गर्न नसक्दा केही जिल्लामा असहजता देखा परेको कुरा आफूहरूले अन्तर्राष्ट्रिय समुदायलाई बताएको जानकारी दिए ।

कैलालीको टीकापुरमा भएको दुःखदायी घटनाका बारेमा उनले भने, “गोली नचलाएर सुरक्षाकर्मीले संयम अपनाएका छन्, यसबीचमा सबै राजनीतिक दलसँग वार्ताद्वारा समस्या समाधान गर्न प्रधानमन्त्रीले आह्वान गरिसक्नुभएको छ ।”

तराईका केही जिल्लामा बन्दहड्तालले अत्यावश्यक सामग्रीको आपूर्तिमा सहजता उत्पन्न भएको आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको बताउँदै उनले संविधानमा संशोधन गर्ने समय अझै बाँकी रहेकाले जनतालाई शान्तिपूर्ण माग राख्न आग्रह गरे ।

नेपालस्थित कूटनीतिक निकायका प्रमुखलाई आज परराष्ट्र मन्त्रालयमा बोलाएर संविधान निर्माण प्रक्रिया र सङ्घीयताको विषयमा केही जिल्लामा भइरहेका आन्दोलनका सम्बन्धमा सरकारले धारणा स्पष्ट पारेको हो ।

कूटनीतिक निकायका प्रमुखसँगको बैठकपछि पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महत र परराष्ट्रमन्त्री पाण्डेले परम्पराअनुसार समसामयिक विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री