चिनौं मुछेत्र को हुन् ?

muchhetra frontलन्डन । गैर आवासीय नेपाली संघ यूके छैटौं अधिवेशन नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासी मुछेत्र गुरुङले आफ्नो लिखित प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
आफ्ना प्रतिवद्धता, वाल्यकाल, समाजसेवा, जागिरे जीवन लगायत समेटिएको लामो उनको फेहरिस्त बिहीबार प्रकाशमा आएको हो । उनका १२ बुंदे प्रतिवद्धतामा नेपाल हाउस निर्माण, गोर्खा माग पुरा गराउन पहल, एनआरएनए यूके भित्र पछिल्लो समय देखिएको आर्थिक हिसाव कितावको विवाद माथि छानवीन गरि आर्थिक पारदर्शिता सार्वजानिक गर्ने, पूर्ण अधिकार सहितको नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्ने, यूके पढ्न आउने विद्यार्थीहरुका समस्याबारे आवश्यक कदम चाल्ने र विद्यार्थीहरुका विषयमा हाल नेपाल कानुनमा एनआरएन विषयमा गरिएको परिभाषा सच्याउन एनआरएनए आइसीसीसंग समन्वय गरि आवश्यक कदम चाल्ने, कार्यसमितिमा समावेशीता लगायत छन् ।

उनको अपिल र प्रतिवद्धता यस्तो छः
आज हामी गैर–आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) यूकेको आगामी सेप्टेम्बर १३ तारिख सम्पन्न हुने छैटौं महाधिवेसन र नयां कार्यसमितिको निर्वाचनको सम्मुखमा उपस्थित भएका छौं ।
हाम्रो कर्मभूमी देश संयुक्त अधिराज्य बेलायत र मातृभूमि देश नेपालको दौत्य सम्बन्ध कायम भई एकआपसमा आवतजावत हुन थालेको आज दुई सय वर्षभन्दा बढि भएको छ । संसारमा हामीलाई वीर गोर्खालीको नामबाट चिनारी दिई नेपाल र नेपालीको गौरवशाली इतिहास रच्ने शुभ–अवसर हामीलाई यही कर्मभूमि बेलायतले प्रदान गरेको हो । वीर गोर्खालीको यहि गौरवशाली नाता कै कारण आज हामी डेढ लाखको संख्यामा यस भूमिलाई आफ्नो कर्म थलो बनाई रोजगारी, वन्दव्यापार, अध्ययन अध्यापन र आपसी सामाजिक व्यवहारहरु गर्दै बसेका छौं ।
हामी नेपालीहरुका लागि समाज वा समुदाय अति नै प्यारो चिज हो । एकआपसमा सुखःदुख साटासाट गर्ने र आईपर्दाको बखत आपसमा हातेमालो गरी सहयोगका हातहरु आदानप्रदान गर्ने हामी नेपालीको प्रचलन अरु दुनियांलाई पनि लोभ्याउने खालको छ । हामीले आफ्नो ऐतिहासिक प्रतिष्ठालाई कायम 
गर्दै बेलायतमा कस्तो प्रकारको नेपाली समाजको निर्माण गर्ने ? कुन प्रकारको सामाजिक संस्कार तथा प्रचलनहरुको विकास गर्ने ? भन्ने कुराको अगुुवाई गर्ने हैसियत सम्पूर्ण नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ यूकेले नै राख्दछ । यस अर्थमा यस सन्निकट महाधिवेसनले अति नै ठूलो महत्व राख्दछ ।
यहि गरिमा र महत्वलाई आत्मसाथ गरी संस्थाको विधि र विधानलाई स्विकार गर्दै आगामी दुई वर्षको लागि यस संस्थालाई अगुवाई गर्न यहां उपस्थित सम्पूर्ण भद्रभलाद्मी, गन्यमान्य, इष्टमित्रहरुको पवित्र सल्लाह, सहयोग र उपस्थितिमा गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष पदका लागि मैले आफ्नो उम्मदेवारी घोषणा गर्दछु ।

मेरो संक्षिप्त परिचय यहांहरु समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

जन्म, बाल्यकाल र शिक्षाः
मेरो नाम मुछेत्र गुरुङ । मेरो जन्म सन् १९६४ अक्टोवर १ मा सिंगापुरमा भएको हो । मेरो बुवा ब्रिटिश आर्मीमा कार्यरत रहंदा मैले आफ्नो बाल्यकाल सिंगापुरमा बिताउने मौका पाएं । सानैमा नेपाल फर्केपछि आफ्नै गाउं लम्जुङको भोर्लेटारबाट प्रारम्भिक शिक्षादिक्षा प्राप्त गरें । मैले लमजुङको भोर्लेटारस्थित श्री इसानेश्वर माध्यमिक विद्यालयबाट एस.एल.सी. गरें । उच्चशिक्षाका लागि काठमाडौं गई ललितपुरको बसाईसंगै नजिकैको श्री नमुना मछिन्द्र क्याम्पसमा आई. कम. अध्ययन गरें । अध्ययनकै क्रममा उमेरको युवा अवस्थासंगै ब्रिटिश आर्मीमा जाने हाम्रो सामाजिक प्रचलन अनुसार सन् १९८३ मा ब्रिटिश गोर्खा आर्मीमा भर्ती भई बेलायत सरकारको सेवामा लागें ।

ब्रिटिश गोर्खा सैनिक जिवनः
म गाउंठाउंमा हुर्कीबढी ब्रिटिश सेनामा भर्ति भएको लक्का जवानले आफ्नो पहिलो परदेशी सैनिक नोकरीलाई निकै अभिरुचीपूर्वक शुरुवात गरें । मेरो सैनिक जिवन शुरुभएको हङकङ आफैंमा रमाइलो ठाउं र ब्रिटिश गोर्खा आर्मीको आफ्नै सुसंस्कारित प्रचलनले गर्दा सैनिक जिवन निकै रमाईलोसंगै बिताउने मौका मिल्यो । आफ्नो सैनिक सेवाको दौरानमा हङकङ, ब्रुनाई, अष्ट्रेलिया, हवाई, यूके, अमेरिका, कोसोभो, क्यानडा आदि देशमा सेवा गर्ने अवसर प्राप्त भयो । शुरुमा फष्ट सेकेण्डबाट आफ्नो सैनिक जिवन शुरु गरी वन आर जीआरबाट सन् १९९९ मा यूकेबाट नै आफ्नो साढे सत्र वर्षे सैनिक जिवन पुरा गरी सार्जन पदमा रिटार्यड भएं ।
मेरो सैनिक जिवनमा कोसोभोको शान्ति सेनामा काम गर्दाको क्षणलाई आफ्नै सैन्य सेवाको महत्वपूर्ण उपलब्धि र अवसरको रुपमा लिएको छु । आपसी लडाई झगडा र जातीय द्वन्द्वले मर्माहत बनेको देशमा एउटा सेनाले युद्ध होइन शान्ति को नारा लिएर गई त्यो मिसनलाई सफलतापूर्वक सम्पन्न गरी शान्ति स्थापना गर्न सफल हुनु आफैंमा एक ऐतिहासिक उपलव्धि थियो ।

पारिवारिक जिवन र व्यवसायः
मेरो प्रातःस्मरणिय मातापिता दुवैको देहान्त भइसकेको छ । हाल म श्रीमति लक्ष्मी गुरुङ र एक सुपुत्र समिर गुरुङको साथ बेलायतस्थित हेम्सायरको फिल्टमा बसोबास गर्छु । मेरो बेलायतको स्थायी बसाई सन् १९९९ मा ब्रिटिश सेनाबाट रिटायर्ड भएपछि सन् २००० देखि नै शुरु भएको हो ।
व्यापारको सिलसिलामा रेष्टुरेण्ट व्यवसाय, ट्राभल एण्ड टुर्स, मनिट्रान्सफर तथा रेमिटयान्स् सर्भिसेज, रियल स्टेट आदि क्षेत्रमा संलग्न छु ।

सामाजिक क्षेत्रमा योगदानः
मेरो वाल्यकालदेखि नै सामाजिक क्षेत्रमा काम गर्ने अभिरुचि रह्यो । सानोमा गाउंमा छंदादेखि बुबाको प्रेरणाले पनि सामाजिक काममा लाग्न उत्साहित गरायो । सैनिक सेवामा रहंदा प्रत्यक्ष सामाजिक काममा लाग्ने मौका मिलेन । रिटायर्डपछिको जिवनमा आफ्नो निकै समय सामाजिक कामहरुमा लगाउंदै आएको छु । अल्डरसटको मेरो बसाईसंगै तमुधिं युकेमा संलग्न हुने मौका पाएं । सन् २००० देखि नै म यसको सदस्य भएर सामाजिक काम गर्न थालेको हुं । तमुधिं युकेको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र अन्य विभिन्न कार्यदलहरुको संयोजक तथा सदस्य भई काम गर्ने मौका लिएको छु ।
तमुधिं यूकेको भवन निर्माणमा मैले महत्वपूर्ण जिम्मेवारी निभाउने मौका पाएं । त्यस क्रममा भवन खरिद गर्ने, कानुनी नियम कानुनहरु मिलाउने, भवन खरिदको लागि कोषको व्यवस्था गर्ने आदि सम्पूर्ण कामको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छु । तमुधिं युकेलाई संस्थागत रुपमा विकास गराई बेलायतकै नमुना सामुदायिक संस्थाको रुपमा स्थापित गर्ने कार्यमा सफलतापूर्वक अगुवाई गर्ने भूमिका निभाएको छु ।
यहि क्रममै लमजुङको गिलुङस्थित श्री बुद्धोदया माध्यमिक विद्यालयमा उच्च मा.वि. बनाउनको लागि आठ लाख रुपैयां सहयोग प्रदान गरी विद्यालय शिक्षाको बिकासमा योगदान पुरयाएको छु । यस्तै लमजुङमा अन्य विद्यालयहरुलाई पनि सहयोग प्रदान गर्दै आएको छु ।
युवाहरुको सर्वांगिण विकासमा महत्वपूर्ण योगदान पुरयाउने खेलकूद क्षेत्रलाई संस्थागत विकास गराउने उद्देश्यले पोखरा रंगशाला व्यवस्थित गर्न रंगशालाको कम्पाउण्ड र प्रवेशद्वारहरु निर्माण गर्न बेलायतमा बनेको सहयोग समितिको कोषाध्यक्षको जिम्मेवारी लिई पचास लाख रुपैयां संकलन गरी सो रंगशालाको पुरै कम्पाउण्ड र प्रवेशद्वारहरु निर्माण काम सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी पुरा गरेको छु ।
नेपालको फुटवल क्षेत्रको विकासको लागि पोखरास्थित सहारा फुटवल क्लबलाई संस्थागत रुपमा विकास गराउन एक साझेदारीको रुपमा बेलायतस्थित गैर आवासीय नेपालीहरुले महत्वपूर्ण योगदान पुरयाउंदै आएको छ । सहारा पोखराको अनाथ बालबालिकाहरुलाई शिक्षा दिक्षा दिनुका साथै फुटबल खेल सिकाउने सो परियोजना अन्तर्गत बेलायतमा पनि सहारा यूकेको स्थापना गरी सहारा पोखरालाई मनग्य सहयोग पुरयाउँदै आएका छौं । सोही उद्देश्य अनुरुप मैले सहारा युकेको स्थापना र विकासमा एक अगुवाको भूमिका शुरुदेखि नै निभाउंदै आएको छु ।

एनआरएनसंगको कुराः
एन.आर.एन. अर्थात गैर आवासीय नेपाली संघ बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको एक साझा संस्था हो । यो गैर–राजनीतिक, गैर–धार्मिक र गैर–नाफामुलक चरित्र भएको एउटा पवित्र सामाजिक संस्था हो । यस संस्थाप्रतिको मेरो गहिरो बुझाई यहि नै हो । यहि बुझाई अनुसार नै यस संस्थामा आफ्नो संलग्नता राख्दै आएको छु ।
मैले यस संस्थाको १९–२२ अक्टोवर २०१३ मा काठमाडौंमा सम्पन्न छैटौं विश्व सम्मेलन र अक्टोवर १२–१४, २०११ मा काठमाडौंमा सम्पन्न पांचौं विश्व सम्मेलनमा प्रत्यक्ष रुपमा उपस्थित भई सक्रिय सहभागितापूर्वक संस्थालाई अझै गहिराईमा पुगेर बुझ्ने शुभ अवसर लिएको छु ।
यूकेको एन.आर.एन. को हकमा पनि यसको शुरुवातदेखि नै म प्रत्यक्ष रुपमा सहभागी हुंदै आएको छु । मेरो अन्य सामुदायिक संघसंस्थाहरुमा पनि धेरै समय दिनुपर्ने जिम्मेवारी रहंदा विगतमा एन.आर.एन. यूकेको नेतृत्वदायी भूमिकामा म आउन पाइन । तथापि, मैले यस पूर्वका तीनवटै कार्यसमितिहरुमा सल्लाहकारको रुपमा रही आफ्नो ठाउंबाट यथासक्य योगदानहरु दिंदै आएको छु ।
भखैरै नेपालमा आएको विभत्सकारी महाभूकम्पमा परेका नेपालीहरुको सहयोगको लागि मैले एन.आर.एन., तमुधिं आदि संघसंस्थाहरुमार्फत सहयोगहरु दिंदै आएको छु । आफ्नै व्यापारिक संस्था एभरेष्ट मनी ट्रान्सफरको तर्फबाट राहत सामग्री संकलन गरी सयौं किलो राहत नेपाल पठाएको छु ।

एनआरएनए यूकेमा मेरो चासोः
संयुक्त अधिराज्य बेलायत गैर आवासीय नेपालीहरुको मूल प्रवाह हो । नेपालीहरु नेपाल छाडी बाहिर देश बस्ने शुरुवात भएको देश नै तत्कालीन ब्रिटिश इण्डिया हो । हामीलाई वीर गोर्खाली नामले संसारमा चिनाउने देश नै बेलायत हो । यो इतिहासले भर्खरै दुईसय वर्ष पुरा गरिसकेको छ । यस अर्थमा बेलायतको एन.आर.एन. विश्वकै नेपालीहरुको मूल धार र अगुवा हो । यस संस्थाको स्थापना गर्ने शुभ–अवसर पनि बेलायत भूमिलाई नै मिल्यो । यस अर्थमा हामी बेलायतबासी नेपालीले गौरव पनि गरेका छौं ।
यहि ऐतिहासिक पृष्ठभूमिका कारण बेलायतमा नेपालीहरुको संस्थागत उपस्थिति र स्थायी बसोबास रहंदै आएको छ । आज डेढ लाखभन्दा बढि नेपालीहरुका लागि आफ्नो दोश्रो मूलघर बेलायत बनेको छ । बेलायतमा हामीले आफ्नो पहिचान वा परिचय जनाउने भाषा, भेषभूषा, रहनसहन, धर्म, सस्कृति, संस्कार, कला, संगीत, साहित्य सहितको मिनी नेपाल खडा गरेका छौं र छुट्टै परिचयसहितको नेपाली समाज निर्माण गरेका छौं । हाम्रा लागि बेलायत ऐतिहासिकताको हिसावले पुरानो रहे पनि बसाईको हिसाबले हामी पहिलो पुस्ता या फस्ट जेनेरेसनमा नै छौं । तसर्थ, हाम्रो नेपाली समाजको बिकासले यहां अझै पनि संस्थागत रुप धारण गर्न सकेको छैन र परिपक्वता हासिल गरिसकेको छैन । यसलाई यो गराउन जरुरी छ ।

हामीहरु बेलायतको समाजमा बामे सर्दै आफैं हिड्न पनि खोज्दै छौं । यो क्रम लामो हुँदा समुदायले अपेक्षा गरे अनुरुप हाम्रो नेपाली समाज यहाँ विकसित हुन सकेको छैन । समुदायले अपेक्षा गरेको ठिक विपरित एन.आर.एन. यूकेले आफूलाई अगाडि बढाउन सकेको छैन् । यो हामी सबैको सामु दिउंसोको घाम जस्तै छर्लङ्गै छ । यो ऐतिहासिक पृष्ठभूमि बोकेको नेपाली समाजलाई सुसंगठित गरी कसरी देश र समुदायको हितमा मुखरित गराउने भन्ने कुरा आज टड्कारो रुपमा हामी सामु खडा भएको छ । विगत केहि बर्षदेखि एन.आर.एन. ए. यूकेमा देखिएको विवाद, अन्तरकलह र असमझदारीले हाम्रो नेपाली समाजलाई प्रत्यक्ष असर पु¥याइरहेको छ । यो असर सकारात्मक खालको छैन् । यसलाई हामीले सहि तरिकाले फिक्स गर्नुपर्नेछ । हाम्रा सामु बेलायतको सम्पूर्ण नेपालीहरुको साझा र पवित्र संस्थाको रुपमा एन.आर.एन. यूकेलाई पुनः स्थापित गर्नु पर्नेछ र देश र विदेशमा रहेका अन्य नेपालीहरुले बेलायत एन.आर.एन.संग गरेको अपेक्षालाई पुरा गर्ने गरी यसलाई विकास गर्नुपर्ने छ । यसै पृष्ठभूमि, भूमिका र जिम्मेवारीलाई आफ्नो अन्तर दिलदेखि नै आत्मसाथ गरी एन.आर.यूके.को अध्यक्ष बनी यो महाअभियानलाई अगाडि बढाउने दरिलो अठोटकासाथ अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेको छु । यस अभियानमा यहांहरुको अतुलनीय सहयोग मैले प्राप्त गर्ने नै छु भन्ने पुरै विश्वास लिएको छु ।
मेरो आग्रहलाई स्वीकार गरी आफ्नो अमुल्य समय मलाई दिनुभयो म यसप्रति सधैं आभारी रहनेछु ।

सुसंस्कारीत, गतिशील र प्रभावकारी एनआरएन संस्था बनाऔं,
आपसी एकता र भातृत्वको विकास गरौं ।

मेरा प्रतिवद्धताहरु

१. गैर आवासीय नेपाली संघ यूके भित्र पछिल्लो समयमा देखिएको आर्थिक हिसाव कितावको विवाद माथि छानवीन गरि आर्थिक पारदर्शिता सार्वजानिक गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।

२. एनआरएन यूकेको पांचौ कार्यसमितिको गठन पूर्व र पश्चात देखिएको तिक्तताको अन्त्यका लागि अनवरत रुपमा पहल गरि समावेशीतालाई प्राथमिकतामा राख्दै एनआरएन यूकेलाई एकतावद्ध तरिकाले अगाडि बढाउने छु ।
३. समान उदेश्य प्राप्तिका लागि विभिन्न रुपमा गठित भूपू गोर्खाहरुको संस्थाहरुबीच कार्यगत एकता कायम गराई एउटै मन्चमा ल्याउने कोशिस गर्ने एवं उनीहरुको जायज माग प्रति ऐक्यबद्धता जाहेर गर्दै उक्त माग पुरा गर्ने नेपाल एवं बेलायत सरकार माथि दवाव दिने उदेश्यले विभिन्न कार्यक्रम तय गरि अगाडि बढ्ने छु ।

४. नेपालीहरुको पहिचानार्थ अफिसियल फारम भर्दा हाल रहेको अदर एसियनको बदलामा नेपाली लेख्न पाउनु पर्ने व्यस्थाको लागि बेलायत सरकारसंग पहल गरि इथ्नीक माइनोरिटीमा लिस्टिंग गराउन पहल गर्ने छु ।

५. हाल एनआरएनको चुनाबको समयमा मात्र सदस्य बनाउने संस्कारको अन्त्यको लागि आम नेपाली माझ एनआरएन सम्बन्धि कार्यक्रम लगि स्वतस् स्फूर्थ रुपमा सदस्य बन्ने वातावरण बनाउने छु ।

६. वृद्ध गोर्खाहरूका समस्याको पहिचान गरि निधानको लागि पहल गर्दे स्वास्थ्य, आबास, स्तरीय जिवनयापन र फरक समुदायसंगको पारास्पारिकता आदि बिषयमा छुट्टै कार्यक्रम ल्याउने छु ।

७. नेपाली बीच रहेको क्षमता, शिप र पुंजीको लगानी नेपालमा गर्ने गराउनुको साथै बिदेशीहरुलाई समेत लगानीको लागि प्रोत्साहित गर्ने ।

८. बेलायतस्थित नेपाली समूदायलाई लक्षित गरि नेपाली भाषा र सास्स्कृतिको जर्गेना गर्ने उदेश्यले खेलकुल मैदान समेत रहेको नेपाल हाउसको स्थापनाका लागि पहल गर्ने छु ।

९. एनआरएन युकेलाई यहाँ स्थित समस्त संस्था एवं सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकसित गराई यहां रहेका व्यक्ति, संस्था एवं समूदायबीचका समस्याहरुको सम्बोधन गर्ने ।

१०. एक पटकको नेपाली सधैंको नेपाली नारालाई सार्थक बनाउन पूर्ण अधिकार सहितको नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्ने छु ।
११. यूकेमा पढ्न आउने विद्यार्थीहरुका समस्या बारेमा आवश्यक कदम चाल्ने र विद्यार्थीहरुका विषयमा हाल नेपाल कानुनमा एनआरएन विषयमा गरिएको परिभाषालाई सच्याउनको लागि एनआरएन आइसीसीसंग समन्वय गरि आवश्यक कदम चाल्ने ।

१२. लागू औषध सम्बन्धि चेतना, नेपाली कक्षा, स्थानीय स्तरका समस्या विषयमा स्थानीय नेपाली संघ संस्थाहरुसंग समन्वय गरि सुनियोजित कार्यक्रम ल्याउने ।

मुछेत्र गुरुङ
अध्यक्ष प्रत्यासी, गैर आवासीय नेपाली संघ, बेलायत, २७ अगष्ट २०१५

प्रतिक्रिया

सम्बन्धित सामाग्री