आयोगद्वारा भूकम्प प्रभावित जिल्लामा मानव अधिकार अवस्थाको अनुगमन सुरु

logo

काठमाडौँ, ९ भदौ । राष्ट्रिय मानव अधिकार आयोगको पहलमा भूकम्प प्रभावितहरुको मानव अधिकार अवस्थाको अनुगमन गर्न प्रभावित जिल्लामा ११ वटा घुम्ती शिविर स्थापना गरिएका छन् ।

आयोगको संयोजनमा नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन र गैरसरकारी संस्था महासङ्घको साझेदारीमा घुम्ती शिविरको कार्यालय स्थापना गरिएको हो ।

नेपाल सरकारद्वारा भूकम्प अति प्रभावित जिल्ला भनी घोषित सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुली, रामेछाप, गोरखा, काभ्रेपलाञ्चोक र ओखलढुङ्गामा शिविर स्थापना गरिएको आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले बताए ।

आयोगले आजै जारी गरेको विज्ञप्तिमा काठमाडौँ, ललितपुर र भक्तपुरमा आयोगको केन्द्रीय कार्यालयमा स्थापित घुम्ती शिविर सञ्चालन समितिले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । जिल्लास्थित घुम्ती शिविरमा एक सहजकर्तासहित पाँच सदस्यीय कार्यसमितिबाट कार्यालय सञ्चालनसहित अनुगमनको काम हुनेछ । जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा पुगेर १५ जना तालिम प्राप्त स्वयम्सेवकले समेत अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

भूकम्प प्रभावितहरुको मानव अधिकारमा परेका असर र त्यसको समाधानका लागि भएका कामहरुको अनुगमन गर्न जिल्ला समितिको निर्णयानुसार घरघरमा स्वयम्सेवकहरुको घुम्ती टोली परिचालित हुने बताइएको छ । सो टोलीको प्रतिवेदनका आधारमा आयोगले उपयुक्त निर्णय गर्नेछ ।

टोलीले भूकम्पपछि बालबालिका, महिला, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको स्थितिबारे प्राथमिकताका साथ अनुगमन गर्नेछ ।

शिक्षा, खाद्यान्न, आवास, स्वास्थ्य, सरसफाइ, सामाजिक सुरक्षा र भेदभावविरुद्धको अधिकारबारे पनि सो टोलीले अनुगमन गर्नेछ ।

यसैगरी, घुम्ती टोलीले विपत् व्यवस्थापन, पारदर्शिता, जवाफदेहीता र सुशासनको पनि आकलन गर्नेछ ।

प्रत्येक जिल्लामा अनुगमनमा जाने घुम्ती शिविर सञ्चालन समितिका सदस्य, सहजकर्ता एवं स्वयम्सेवकका रुपमा छनौट भएका व्यक्तिहरुलाई प्रशिक्षण दिने कार्य सम्पन्न भइसकेको छ ।

गाउँ–गाउँमा पुग्ने टोली तथा सदरमुकाममा स्थापित सम्पर्क कार्यालयमा मानव अधिकार उल्लङ्घनका अन्य विषयमा पनि उजुरी लिनसक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोकमा गत साउन १२ गते भूकम्प आएकै समय ११.५६ मा घण्टी बजाई भूकम्पमा परी मृत्यु भएकाको आत्माको चीर शान्तिको कामना गर्दै घुम्ती शिविरको प्रारम्भ गरिएको हो । आयोगले घुम्ती शिविरलाई भूकम्प प्रभावित १४ जिल्लामा विस्तार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री