बेलायतले इरानमा दूतावास खोल्ने

तेहरान, ४ भदौ । बेलायत सरकारले इरानमा आफ्नो दूतावास खोल्ने भएको छ । यसअघि यहाँ बन्द गरिएको सो दूतावास पुन खोल्ने योजना बेलायत सरकारले बनाएको हो ।

सोही प्रयोजनका लागि बेलायतका विदेशमन्त्री फिलिप ह्यामोण्डले आगामी आइतबारदेखि तेहरानको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।

सोही भ्रमणका क्रममा इरानमा रहेको बेलायती दूतावास पुन स्थापना गरिने जानकारी एएफपी समाचार समितिका प्रतिनिधिले तेहरानबाट जनाएका छन् ।

विदेशमन्त्री ह्यामोण्डले नै गएको जुलाई महिनामा इरान र विश्वका शक्ति राष्ट्रहरुबीच आणविक वार्ताका लागि पहल गर्नुभएको थियो ।

उहाँको पहलबाट नै इरान र विश्वका शक्ति राष्ट्रबीचमा आणविक सम्झौता सम्पन्न भएको थियो ।
इरानमा रहेको बेलायती दूतावास सन् २०११ देखि बन्द भएको थियो । इरानमा प्रदर्शनकारीहरुले सो दूतावासमा व्यापक मात्रामा हमला गरेपछि उक्त दूतावास बन्द गरिएको थियो ।
यसअघि हालैमात्र अमेरिकी सरकारले पनि करिब ५४ वर्षपछि क्युवाको राजधानी हवानामा रहेको अमेरिकी दूतावास पुनःस्थापना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री