काठमाडौँ, ४ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा लाग्दा मृत्यु हुनेको परिवारलाई रु ५० लाख दिने भनी गरेको घोषणा स्थापित अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरीत भएको बताएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकलाई मुलुकको पछिल्लो सुरक्षा अवस्था र मोर्चाको सो घोषणाका सम्बन्धमा जानकारी दिँदै उनले मोर्चाले भदौ २ गते तराईका जनतालाई स्थापित अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरीत आन्दोलनमा आउन आमन्त्रण गरेको र आन्दोलनका क्रममा मृत्यु भएमा रु ५० लाख दिलाउने भनी गरेको निर्णय प्रेस विज्ञप्तिमार्फत बाहिर आएको बताए ।
उनले आमजनतालाई सहादतका लागि प्रोत्साहन गर्ने काम गैरकानुनी भएको पनि उनले बताए । उनले भने – “हिंसात्मक गतिविधिमा संलग्न समूहको जस्तो घोषणा संविधानसभामा रहेका दलबाट हुनु दुःखद हो ।”
गृहमन्त्री गौतमले भने – “तराईका केही जिल्लामा जातीय र सामाजिक सद्भाव भड्काउने काम भइरहेको छ । आफ्नो अधिकारका लागि लड्दा अरुको अधिकारको ख्याल गर्नुपर्नेमा त्यो हुन सकेको छैन । सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मी तथा व्यक्तिमाथि आक्रमण भइरहेको छ । यस्तो स्थिति अन्त्यका लागि संसद्को पनि सहयोगी भूमिका निर्वाहको अपेक्षा गरेको छु ।”
सरकार शान्ति सुरक्षा कायम गर्न प्रयत्नशील रहेको जनाउँदै उनले सार्वभौमसत्तामाथि आँच आउने काम नगर्न र नगराउन संसद्को पनि सहयोगी भूमिकाको अपेक्षा गरे ।
अहिलेसम्म आन्दोलनका क्रममा चारजनाको मृत्यु भएकामा उनीहरुप्रति समवेदना प्रकट गर्दै उनले शान्तिपूर्ण र विधिसम्मत रुपमा विरोध कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरे ।
रुपन्देहीको पछिल्लो स्थितिबारे जानकारी गराउँदै उनले उत्तेजनापूर्ण अवस्था नआओस् भनेर बिहीबार निषेधाज्ञा जारी राखिएको जनाए । बन्दको विरोध गर्नेहरुमाथि आन्दोलनकारीले आक्रमण गरेको सन्दर्भमा स्थानीय प्रशासकलाई स्थानीय राजनीतिक दलसँग मेलमिलाप गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए ।
मोर्चाको निर्णयमाथि छानबिन हुने
गृहमन्त्री गौतमले मोर्चाको निर्णय र विज्ञप्तिको प्रति सभामुख सुवासचन्द्र नेम्वाङसामु पेस गरेका छन् ।
सभामुख नेम्वाङले आफ्नो निर्देश मुताबिक गृहमन्त्रीबाट स्पष्टोक्तिसहित आएको मोर्चाको निर्णय र दस्तावेजलाई आवश्यक अध्ययन, छानबिन र निष्कर्षमा पुग्न संसद्को सम्बन्धित समितिलाई निर्देशन दिए ।
संसद्को राज्य व्यवस्था समितिले यो प्रकरणमाथि छानबिन गर्नेछ । यसअघि विवादास्पद अभिव्यक्ति दिएका केही सभासद्को मन्तव्यका श्रव्य र दृश्य सामग्री पनि सोही समितिमा पठाइएको थियो ।
दोहोरो मुठभेडमा ‘घैँटे’ को मृत्यु
गृहमन्त्री गौतमले फरार अभियुक्त खोज्ने क्रममा सादा पोसाकमा रहेका प्रहरीले गुण्डानाइके कुमार श्रेष्ठ ‘घैँटे’ लाई सामाखुसीमा भेट्टाएपछि श्रेष्ठको समूहबाट प्रहरीमाथि आक्रमण भएको र आत्मरक्षाका लागि गोली चलाउँदै उनी घाइते भएको जानकारी दिए । श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो ।
दोहोरो झडपमा घाइते भएका प्रहरी र श्रेष्ठका सहयोगीको उपचार भइरहेको तथा घटनामा फरार भएको केहीको खोजी भइरहेको पनि उनले जानकारी दिए ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त