काठमाडौँ, ४ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनमा लाग्दा मृत्यु हुनेको परिवारलाई रु ५० लाख दिने भनी गरेको घोषणा स्थापित अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरीत भएको बताएका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकलाई मुलुकको पछिल्लो सुरक्षा अवस्था र मोर्चाको सो घोषणाका सम्बन्धमा जानकारी दिँदै उनले मोर्चाले भदौ २ गते तराईका जनतालाई स्थापित अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरीत आन्दोलनमा आउन आमन्त्रण गरेको र आन्दोलनका क्रममा मृत्यु भएमा रु ५० लाख दिलाउने भनी गरेको निर्णय प्रेस विज्ञप्तिमार्फत बाहिर आएको बताए ।
उनले आमजनतालाई सहादतका लागि प्रोत्साहन गर्ने काम गैरकानुनी भएको पनि उनले बताए । उनले भने – “हिंसात्मक गतिविधिमा संलग्न समूहको जस्तो घोषणा संविधानसभामा रहेका दलबाट हुनु दुःखद हो ।”
गृहमन्त्री गौतमले भने – “तराईका केही जिल्लामा जातीय र सामाजिक सद्भाव भड्काउने काम भइरहेको छ । आफ्नो अधिकारका लागि लड्दा अरुको अधिकारको ख्याल गर्नुपर्नेमा त्यो हुन सकेको छैन । सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मी तथा व्यक्तिमाथि आक्रमण भइरहेको छ । यस्तो स्थिति अन्त्यका लागि संसद्को पनि सहयोगी भूमिका निर्वाहको अपेक्षा गरेको छु ।”
सरकार शान्ति सुरक्षा कायम गर्न प्रयत्नशील रहेको जनाउँदै उनले सार्वभौमसत्तामाथि आँच आउने काम नगर्न र नगराउन संसद्को पनि सहयोगी भूमिकाको अपेक्षा गरे ।
अहिलेसम्म आन्दोलनका क्रममा चारजनाको मृत्यु भएकामा उनीहरुप्रति समवेदना प्रकट गर्दै उनले शान्तिपूर्ण र विधिसम्मत रुपमा विरोध कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरे ।
रुपन्देहीको पछिल्लो स्थितिबारे जानकारी गराउँदै उनले उत्तेजनापूर्ण अवस्था नआओस् भनेर बिहीबार निषेधाज्ञा जारी राखिएको जनाए । बन्दको विरोध गर्नेहरुमाथि आन्दोलनकारीले आक्रमण गरेको सन्दर्भमा स्थानीय प्रशासकलाई स्थानीय राजनीतिक दलसँग मेलमिलाप गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए ।
मोर्चाको निर्णयमाथि छानबिन हुने
गृहमन्त्री गौतमले मोर्चाको निर्णय र विज्ञप्तिको प्रति सभामुख सुवासचन्द्र नेम्वाङसामु पेस गरेका छन् ।
सभामुख नेम्वाङले आफ्नो निर्देश मुताबिक गृहमन्त्रीबाट स्पष्टोक्तिसहित आएको मोर्चाको निर्णय र दस्तावेजलाई आवश्यक अध्ययन, छानबिन र निष्कर्षमा पुग्न संसद्को सम्बन्धित समितिलाई निर्देशन दिए ।
संसद्को राज्य व्यवस्था समितिले यो प्रकरणमाथि छानबिन गर्नेछ । यसअघि विवादास्पद अभिव्यक्ति दिएका केही सभासद्को मन्तव्यका श्रव्य र दृश्य सामग्री पनि सोही समितिमा पठाइएको थियो ।
दोहोरो मुठभेडमा ‘घैँटे’ को मृत्यु
गृहमन्त्री गौतमले फरार अभियुक्त खोज्ने क्रममा सादा पोसाकमा रहेका प्रहरीले गुण्डानाइके कुमार श्रेष्ठ ‘घैँटे’ लाई सामाखुसीमा भेट्टाएपछि श्रेष्ठको समूहबाट प्रहरीमाथि आक्रमण भएको र आत्मरक्षाका लागि गोली चलाउँदै उनी घाइते भएको जानकारी दिए । श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो ।
दोहोरो झडपमा घाइते भएका प्रहरी र श्रेष्ठका सहयोगीको उपचार भइरहेको तथा घटनामा फरार भएको केहीको खोजी भइरहेको पनि उनले जानकारी दिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने