बजेट नेता र मन्त्रीमुखी भएको सांसदको गुनासो

1439273283596_Pro_Ktm_ CA meeting  (1)

काठमाडौँ, ३ भदौ । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७२ माथिको छलफलका क्रममा सत्तापक्षकै सांसदले आ–आफना क्षेत्रमा बजेट नछुटयाइएको भन्दै गुनासो गरेका छन् ।

नेकपा (एमाले)का सिन्धु जलेसा बुढाथोकीको कवितात्मक शैलीमा बजेटले मुलुकलाई सिर्जना शक्तिमा बदल्न नसकेको धारणा थियो । नेपाली काँग्रेसका खड्गबहादुर बस्नेतले बजेटमा आफ्ना कार्यक्रम र सुझाव पर्याप्त नसमेटिएको गुनासो गरे ।

बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत १० वटा मन्त्रालय र चारवटा अन्य निकायका शीर्षकमाथि सांसदले आ–आफ्नो धारणा राख्नेक्रम चलेको थियो ।

सांसदहरूले विगतका कतिपय कार्यक्रम त्यसबेला किन राखियो र अहिले किन हटाइयो भन्ने प्रश्न पनि उठाएका थिए । जिविस र मन्त्रालयका योजना र कार्यक्रम हटाएर नेता र मन्त्रीले आफूखुशी योजना तर्जुमा गरिएकामा पनि उनीहरूको आपत्ति थियो ।

बैठकमा सांसदहरूले कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला, शान्ति तथा पुनःनिर्माण, भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, कृषि विकास, गृह, सहरी तथा गरिबी निवारण, विज्ञान, प्रविधि तथा वातावरण, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिएका थिए ।

नेकपा (एमाले)का शेरबहादुर तामाङले अहिले बजेट पुगेन वा कमजोरी भयो भनेर सांसदको हैसियतमा बोलिरहने सांसद पछि मन्त्री भएमा त्यस्तै गुनासो अन्य सांसदबाट सुन्नु नपरोस् भन्नेतर्फ ध्यानाकर्षण गराए ।

सम्बन्धित सबै मन्त्रालयका मन्त्री अनुपस्थित रहेकामा सांसद कृष्णभक्त खनालले कडा प्रश्न उठाउँदै भने, “संसदीय व्यवस्थामा संसद् बैठकभन्दा अर्काे के महत्वपूर्ण कार्यक्रम हुन्छ मन्त्रीहरूको ?”

नेपाली जनता दलका हरिचरण साहले समानुपातिक र प्रत्यक्षका सांसदलाई भेद्भाव गरी बजेट बनाइएको टिप्पणी गरे ।

एमाओवादीका शक्तिबहादुर बस्नेतले सरकारमा रहेका पार्टीका सांसदबाट नै बजेटको विरोध गरेको पाइएकाले यसको स्वामित्व कसले लिने भन्ने प्रश्न पैदा भएको टिप्पणी गरे । उनले भने “यसरी आलोचना गर्ने सांसदहरूले बजेट पारित हुँदा ताली लाउने हो कि होइन भन्ने प्रश्न पैदा भएको छ, यदि ताली बज्यो भने संसद् केवल गफ गर्ने थलो मात्र बन्नेछ ।”

सांसद हर्कबोल राईले बजेटमा धेरै पटक सुझाव दिएपनि त्यसको सुनुवाइ नभएको गुनासो गरे ।

विनियोजन विधेयकअन्तर्गत ती शीर्षकमाथिको छलफल सकिएको छ । संसद्को अर्काे बैठक भदौ ४ गते शुक्रबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री