
साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत
काठमाडौँ, ३ भदौ । पहिलो पटक आयोजना भएको १९ वर्षमुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालले भुटानलाई ३–१ गोलअन्तरले पाखा लगाएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल खेल मैदानमा भएको सो प्रतियोगितामा नेपालको जितमा कप्तान विमल घर्ती मगर नायक बने । उनले खेल सुरुआतीको १० औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए ।
विमलले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै भुटानका सोनाम तोक्बेले खेलको ११ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । विमलले खेलको पहिलो हाफको २९ औँ मिनेटमा गोल थप्दै खेललाई २–१ को अग्रतामा ल्याए । खेलको पहिलो हाफसम्म २–१ ले अगाडि रहेको नेपालले खेलको दोस्रो हाफमा पुनः एक गोल थप्यो ।
खेलको ६२ औँ मिनेटमा विमलले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नेपालको जित सुनिश्चित हुन पुग्यो । नेपालले खेलको ७३ औँ मिनेटमा पाएको पेनाल्टीमा भने विमलले गोल गर्न सकेनन् ।
छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’मा नेपालसँगै बङ्गलादेश र भुटान छन् । त्यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, भारत र अफगानिस्तान छन् । नेपालले अब सोमबार बङ्गलादेशको सामना गर्नेछ । शुक्रबार अपराह्न भने ३ः३० बजे मादिभ्सले अफगानिस्तानको सामना गर्नेछ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई