काठमाडौँ, २ भदौ । सङ्घीयताको सीमाङ्कनको पुनरावलोकनबारे सात घन्टा लगातार बैठक गरेका चार दलका शीर्ष नेतालाई पत्रकारले सोधे, “छलफल जारी छ, भोलि सहमति हुन्छ भन्नेबाहेक नयाँ कुरा के छ ?” नेताहरुको जवाफ आयो, “भोलि (बिहीबार) चाँही पक्का टुङ्गिन्छ ।”
प्रस्तावित छ प्रदेशसहितको सङघीयताको सीमाङ्कनबारे विभिन्न क्षेत्र र जिल्लामा उत्पन्न असन्तोषपछि त्यसलाई किनारा लगाउन बाँकी अन्य केही सवालमा संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता रहेको विषेश समितिको बैठक आज दिउँसो १ः०० बजे बसेर राति ८ः०० बजे सकिएको थियो ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालासहित शीर्ष नेताको सो बैठकले सङ्घीयतालगायतका विषयमा निर्णय गरी आजै मस्यौदा समितिलाई पछिल्लो सहमति दिने अनुमान पनि गरिएको थियो ।
त्यही सूचनाका आधारमा मस्यौदा समितिको बैठक पनि अबेरसम्म चलेको थियो तर संघीयताबारे विभिन्न विकल्पमा निर्णायक छलफल भएपनि त्यसलाई आफ्ना आफ्ना पार्टी तथा अन्तरपार्टी छलफल गरी बिहीबार बिहान १० बजे पुृनः बस्ने गरी विशेष समिति बैठकबाट नेताहरु बाहिर निस्किए ।
संविधानको दोस्रो मस्यौदासहितको विधेयक तयारीका क्रममा मस्यौदा समितिलाई सभाले यही भदौ १ गते थप चार दिन समय थपेको थियो । विशेष समितिले सीमाङ्कनप्रतिको विरोधका स्वर, निर्वाचनमा मत प्रतिशत (थे्रसहोल्ड), धर्म निरपेक्षताका बारेमा टुङ्गो लगाउन बाँकी छ ।
काँग्रेस र नेकपा (एमाले) र सत्तारुढ दलबीच विगतमा भएको नौ बँुदे सहमतिका आधारमा आठ प्रदेशको संरचनामा जाने कि भन्ने प्रस्ताव पनि प्रस्तुत भएको थियो तर त्यसमा सहमति हुन सकेन । त्यसो त नेताहरु सङ्घीयतालाई विज्ञको आयोगले पछि निर्धारण गर्ने गरी २५ जेठको १६ बुँदे सहमतिमा फर्कने सम्भावना पनि छैन् ।
विशेष समितिका संयोजक डा बाबुराम भट्टराईले सङ्घीयतामाथिको सहमतिको छलफललाई ‘प्रसव वेदना’को सज्ञा दिँदै भने, “कहिले काँही प्रसव वेदना अलि लामो पनि हुन्छ, सही उपचार गरेमा सफल हुन्छ ।” उनले बिहीबार आफ्नो पार्टीभित्र छलफल गरेर पुनः समितिमा निर्णय गरिने बताए । छलफलमा आएका विकल्पबारे उनले विस्तृत चर्चा गरेनन् ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने पाँचदेखि आठ प्रदेशसम्ममा जाने भन्ने विभिन्न प्रस्ताव प्रस्तुत भएको तर कुनै निर्णय नभएको बताए ।
छ प्रदेशमा जाने भन्ने पछिल्लो सहमतिपछि विभिन्न क्षेत्र र जिल्लामा भएका बन्द, हड्ताल र विरोधलाई कसरी सम्बोधन गर्ने भन्नेमै सबैको चासो रहेको पौडेलले उल्लेख गर्नु भयो । उनले सुदुरपश्चिम र मध्यपश्चिमलाई एकै प्रदेश र राजधानीको थप नयाँ प्रदेश गरेर कूल छ प्रदेशमा पनि जान सकिने आफ्नो धारणा रहेको स्पष्ट गरे ।
एमालेका उपमहासचिव विष्णु पौडेलले “भोलि (बिहीबार) चाँही पक्का टुङ्गिन्छ र छ प्रदेशभन्दा माथि जाँदैन” भन्दै पत्रकारलाई आश्वस्त पारेका थिए । भोलिसम्ममा पनि सहमति नभएमा मस्यौदा समितिले जुनरुपमा तयार भएको छ त्यहीरुपमा नयाँ संविधानको विधेयक संविधानसभामा पठाउने तयारी गरेको सो समितिका सदस्य रमेश लेखकले जानकारी दिए ।
मस्यौदा समितिको बैठक पनि बिहीबार बिहान ७ः०० बजेका लागि तोकिएको छ । विशेष समितिको बैठकपछि पनि एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु वामदेव गौतम र विद्या भण्डारी तथा उपमहासचिव पौडेलबीच आन्तरिक छलफल चलेको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने