बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: १४:२७ | UK Time: 09:42

नेपाल बन्द कहिलेसम्म, हामी चुप जहिलेसम्म…

वीनेपाली
२०७२ साउन ३१ गते १३:५२

Rss_Images_1439722159646_Pro_Ktm_ Nepal Banda (2)काठमाडौँ, ३१ साउन । “बन्द भनेर के गर्नु  बा बिरामी हुनुहुन्छ, हिँड्नै परयो ।” सामाखुसीबाट हिँडेर वीर अस्पताल आइपुगेका सुधा मैनालीको गुनासो हो यो । उहाँका पिता डम्बर मैनाली गत सातादेखि आन्द्राको समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । एक हातमा झोला र अर्को हातमा छाता बोकेर सुधाले करिब एक घन्टा पैदल यात्रा गर्नुपरेको थियो । घर फर्कंदा पनि गाडी पाउने निश्चित छैन । गर्मीयाममा लामो बाटो हिँडेर पुग्नुपर्दा सुधामात्र होइन धेरै सर्वसाधारणले आज यस्तै सास्ती भोग्नुपरेका दृश्य देखिए ।

तुलनात्मक रुपमा कम हिंसात्मक भए पनि आजको बन्दमा नगन्य मात्रामा मात्र सार्वजनिक यातायात चल्दा आवागमनमा समस्या देखियो । फाट्टफुट्ट चलेका गाडीले पनि रु १५ को सट्टा रु २० देखि ३० सम्म भाडा लिने गरेको पाइयो । कतिपय सर्वसाधारण भने गाडी वा मोटरसाइकल चढ्दा असुरक्षा हुने त्रासले हिँड्नै जोसिएको पनि पाइयो । बिहानै पत्रकार ऋषि धमला चढेको गाडीमा आक्रमण भए । त्यस्ता समूहलाई प्रहरीले पक्राउ गरे पनि तोडफोडका घटनामा कमी भएको पाइएन ।

आफ्नो अधिकार प्राप्तिका लागि शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हक सबैको हुन्छ तर विरोधका क्रममा बन्द÷हडतालको विकल्प नखोजिएपछि त्यसको मार झेल्न सर्वसाधारण बाध्य हुँदै आएका छन् । नयाँ संविधान जारी हुने प्रक्रिया र प्रमुख दलहरुबीच भएको सहमतिको विरोधमा आज नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र विभिन्न मधेसकेन्द्रित दलले आयोजना गरेको ‘नेपाल बन्द’ बाट पनि सार्वजनिक यातायात, शिक्षालय, बजार र उद्योग कलकारखाना प्रभावित भएका छन् ।

लोकतान्त्रिक आन्दोलनयता बन्द हडतालका कार्यक्रम नगर्ने भनी प्रमुख दलले निर्वाचनका समयमा प्रतिबद्धता जनाएको भए पनि विभिन्न समयमा ठूला दलबाट पनि बन्द हुने गरेका छन् । संविधानसभाभित्र र बाहिर रहेका अन्य दल, समूह र भ्रातृ संस्थाले पटक पटक गर्दै आएका बन्दले सर्वसाधारण नेपाली दिक्क भइसकेका छन् । यसको बढी मार काम गरेर खानेलाई नै पर्र्दै आएको छ ।

दिगो शान्ति, समृद्धि, राज्य पुनःसंरचना र नयाँ नेपाल निर्माणको सङ्कल्पका साथ नयाँ संविधानको अन्तिम मस्यौदा लेखन कार्य भइरहेका समयमा गत सातादेखि नै विभिन्न जिल्लामा फरक फरक माग र चाहनाका साथ बन्दका कार्यक्रम चलिरहेका छन् । मुख्य गरी प्रदेशको सीमाङ्कनका क्रममा तराई मधेसकेन्द्रित प्रदेशको मागका साथै अखण्ड सुदूरपश्चिम र अखण्ड मध्यपश्चिम तथा कणालीको अलग प्रदेशका माग उठिरहेका छन् ।

जनताका जायज र तर्कयुक्त मागलाई संविधान जारी गर्ने क्रममा सम्बोधन गरिने शीर्ष नेताबाट प्रतिबद्धता आए पनि विरोधका कार्यक्रम रोकिएका छैनन् । त्यसमा पनि आन्दोलनमा घुसपैठ गरी सुर्खेतमा झैँ हिंसा भड्काउने पक्षले पनि नेपालीको शान्तिप्रतिको आशामा तुषारापात गरिरहेको प्रमुख दलका नेताको टिप्पणी पनि आउने गरेको छ ।

बन्दको विकल्प खोज्न ‘विवेकशील नेपाली’ पार्टीलगायत विभिन्न समूहले ‘नेपाल बन्द कहिलेसम्म, तपाईं हामी चुप कहिलेसम्म रु’ जस्ता नारा र प्लेकार्डसहित सडकमा उभिएर अभियान चलाएको छ । हरेक बन्दका समयमा बन्दको विकल्प खोज्न आह्वानसहित स्वयम्सेवी रुपमा आफूहरु उभिने गरेको अभियानका सदस्य पुकार बमले बताए ।

अभियानमा लागेका युवाले शनिबार पनि काठमाडौँको माइतीघर मण्डला र मुलुकका विभिन्न स्थानमा बिहान १० देखि ११ बजेसम्म एक घन्टा बन्दको शान्तिपूर्ण विरोध गरेका थिए । उनीहरुले बन्दमा सवारी साधन चढेर हिँडेकालाई हात हल्लाएर धन्यवाद दिइरहेका थिए । उनीहरुले आफूहरुले पनि साधन चढेरै गन्तव्यमा जाने गरेको जनाए । सो पार्टीका कार्यपालिका मामिला प्रमुख अर्जुनसिंह ठकुरीले झापामा युवाले विद्यालय खुलाएको र पोखरामा पनि बन्द खुलाउन वातावरण बनिरहेको बताए । उनले भने ,“बन्दको विकल्प दिनुपर्छ । बन्द र हडतालले मुलुकको उद्यमशीलता र हाम्रो संस्कारलाई नै धरापमा पारिरहेका छन् ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक