त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न निर्देशन

Airport

काठमाडौँ, २५ साउन । व्यवस्थापिका–संसद्को विकास समितिले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्तरोन्नति तथा गुणस्तरीय सेवा सञ्चालनबारे चासो लिएको छ ।

समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका सचिव तथा मातहत निकायका पदाधिकारीसँग छलफल गरी गुणस्तरीय सेवा सञ्चालनतर्फ हालसम्म भएको कार्यप्रगतिबारे जानकारी लिएको हो ।

बैठकमा बोल्ने अधिकांश सभासद्हरूले पर्यटकको पहिलो प्रभाव पर्ने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र गुणस्तर अभिवृद्धिलाई विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।

सभासद्हरू रामचन्द्र पोखरेल, वैजनाथ चौधरी, रामकुमार भट्टराई, जनार्दन ढकाल, सीता गिरी ओली, तुलसा राना, आङ्टावा शेर्पालगायतले विमानस्थलको आन्तरिक व्यवस्थापनलाई सुधार गरी सेवालाई चुस्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले विमानस्थल सुधारको काम भइरहे पनि उपेक्षित प्रगति नदेखिएको भन्दै तत्कालै परिणाम देखिने गरी काम अघि बढाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।

उनले विमानस्थलको स्तारोन्नतितर्फ जमिनमुनिको पार्किङको काम ८० प्रतिशत सकिएको जानकारी दिँदै जमिनमुनि पार्किङ र माथि सरकारी कार्यालय राख्ने योजना रहेको बताए ।
पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलको गुणस्तरीय सेवा प्रदानका लागि मन्त्रालय र मातहतका निकाय लागिपरेको जानकारी दिँदै पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धित निकायका काममा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण समयमै काम गर्न कठिनाइ भइरहेको समितिलाई जानकारी गराए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले टिआइएलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुरूप स्तरोन्नति र सेवा गुणस्तरबारे आवश्यक पूर्वाधार निर्माण तथा सेवा सुधारको काम भइरहेको जानकारी दिए ।
टिआइएका कामु महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले विमानस्थलको स्तरोन्नति र सेवा गुणस्तरबारे आव २०७१÷७२ मा ७० प्रतिशत काम गर्ने लक्ष्य लिइएकामा विविध कारणले १४ प्रतिशत मात्र काम भएको जानकारी दिए ।
यसैबीच, विकास समितिले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आइकाओ मापदण्डअनुसारको निर्माण कार्यलाई तीव्रता दिन तथा स्तरोन्नति र गुणस्तरीय सेवा प्रवाह गर्नेतर्फ सक्रियतापूर्वक लाग्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्नेतर्फ समन्वयकारी भूमिका निर्वाह गरिदिन गृह मन्त्रालय एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई समेत समितिले निर्देशन दिएको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थलको स्तरोन्नति र आइकाओ मापदण्ड बनाउने सन्दर्भमा सम्पादन गरिएका कार्य, देखिएका समस्या र समाधानका लागि समितिले खेल्नुपर्ने भूमिकाबारे विस्तृत विवरण समितिलाई उपलब्ध गराउन पर्यटन मन्त्रालय र टिआइएलाई आग्रह गरे । समितिले विमानस्थलको सेवा प्रवाह गर्न अवरोध पु¥याउँदै आएका भौतिक संरचनाहरू (जस्तैः कोटेश्वरको आठतले घर तथा वरिपरि निर्माण भएका संरचनाहरू) तीन महिनाभित्र हटाउन सम्बन्धित मन्त्रालय र उपत्यका विकास र नगर विकास प्राधिकरण तथा महानगरपालिकालाई निर्देशन दिएको छ ।

बैठकले विमानस्थलभित्रको व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न, २४ सै घन्टा सरसफाइमा ध्यान दिन तथा आन्तरिक सजावट र सौन्दर्यमा अभिवृद्धि गरी नमुना विमानस्थल बनाउन तत्कालै काम अघि बढाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री