संविधानमा सङ्घीयताको सीमाङ्कन टुङ्ग्याउन काँग्रेसभित्र दबाब

congress

काठमाडौँ, १६ साउन । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसभित्र संविधानमा सङ्घीयताको सीमाङ्कन टुङ्ग्याउनुपर्ने चर्को दबाब परेको छ ।

संविधानको प्रारम्भिक मस्यौदामाथि देशभरबाट जनताले दिएको सुझावपछि काँग्रेसभित्र त्यस्तो दबाब परेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा अधिकांश सदस्यहरूले मस्यौदामाथि जनताको सुझावलाई आधार मानेर सीमाङ्कन, धार्मिक स्वतन्त्रता, नागरिकता, समावेशिता, मौलिक अधिकारलगायतका विषयलाई परिमार्जन गरिनुपर्ने धारणा राखेका छन् ।

संयुक्त बैठकमा मूलतः सङ्घीयताको सीमाङ्कन र नामाङ्कनको कुरालाई टुङ्याएर जानुपर्छ भन्ने पार्टीका सभासद् तथा केन्द्रीय सदस्यहरूको सुझाव आएको काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए ।

“मस्यौदामाथि धार्मिक स्वतन्त्रता, दलित, महिला, आदिवासी, मधेशीको अधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चिता, नागरिकताको अस्पष्टतालगायतको विषयमा पनि सुझाव आएका छन् सँगसँगै निर्वाचन प्रणालीबारे पनि वडा तहको स्थानीय निकायको सबै निर्वाचन प्रत्यक्ष रूपमा गर्नुपर्ने सभासद्हरूको सुझाव छ,” बैठकपछि सञ्चारकर्मीसँग उनले भने ।

त्यसैगरी बैठकमा संविधानको प्रस्तावनामा बहुलवाद राखिनुपर्ने, सुरक्षा परिषद्मा प्रधानसेनापतिको प्रतिनिधित्वका कुरालगायत विषयलाई सदस्यहरूले प्रमुखताका साथ उठाएका छन् ।

नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले रासससँग कुरा गर्दै पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा जनताको सुझावअनुसार सङ्घीयताको सीमाङ्कन, धर्म, नागरिकता, मौलिक अधिकारलगायतका विषयलाई टुङ्ग्याएर जानुपर्छ भन्ने एकमतका साथ आवाज उठेको बताए ।

“मस्यौदामाथि जनताको सुझावलाई ध्यानमा राखेर राजनीतिक सहमतिका साथ चाँडो संविधान जारी गर्नुुपर्ने आवाज उठेको छ, त्यसका लागि पार्टी नेतृत्वलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ, धार्मिक स्वतन्त्रता राख्दा उपयुक्त हुन्छ भन्नेमा सदस्यहरूको सुझाव आएको छ, अर्कोतर्फ संविधानको प्रस्तावना छोटो, सरलीकृत र स्पष्ट हुनुपर्छ भन्नेमा पार्टीको एकमत धारणा आएको छ,” उनले भने ।

काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकले संविधानको मस्यौदामाथि जनताबाट आएका सुझाव, बैठकमा सभासद् तथा केन्द्रीय सदस्यले रोखेको सुझाव तथा विगतमा पार्टीको केन्द्रीय समितिले गरेका निर्णयलाई समेत ध्यानमा राखेर प्रमुख दल र अन्य दलहरूसँग वार्ता र परामर्श गरी अहिलेको मस्यौदालाई परिमार्जन गर्नको लागि पार्टीको केन्द्रीय नेतृत्वलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले बहुदलीय प्रतिस्पर्धामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी सिद्धान्त र समावेशी प्रतिनिधित्वको सुनिश्चितता हुने गरी संविधान जारी गरिनुपर्नेमा जोड दिएको छ ।

सहमहामन्त्री खड्काका अनुसार दलित, महिला, आदिवासी, मधेशी सिमान्तकृत जनतालगायत सबैको अधिकार सुनिश्चित हुनेगरी जनताबाट आएका सुझावलाई समेटेर मस्यौदा परिमार्जन गरी चाडो संविधान जारी गर्न संयुक्त बैठकले एकमतका साथ निर्णय गरेको छ ।

महाधिवेशनको कार्यतालिका परिमार्जन
संविधान निर्माणको कार्यलाई प्रमुखताकासाथ ध्यान दिँदै नेपाली काँग्रेसले पार्टीको आगामी १३ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ ।

संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सकिएलगत्तै सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघि घोषित असोज २ देखि ५ गतेसम्म हुने राष्ट्रिय महाधिवेशन नसार्ने गरी गाउँ, नगर वडा, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनको पुनःसंयोजन गरी नयाँ कार्यतालिका बनाएको हो ।

नयाँ कार्यतालिका अनुसार भदौ १७ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गर्ने, २२ गते २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गर्ने र २५ गते ७५ जिल्लामा अधिवेशन सम्पन्न गरिनेछ ।

यसअघि केन्द्रीय समिति बैठकले गाउँ, नगर वडा र नगर अधिवेशन भदौ १, क्षेत्रीय अधिवेशन ७ र जिल्ला अधिवेशन १० गते गर्ने तथा राष्ट्रिय महाधिवेशन असोज २ देखि ५ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

बैठकले संविधान निर्माणलाई प्राथमिकता दिँदै पार्टीको गाउँ, नगर वडा, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको काँग्रेस सहमहामन्त्री खड्काले जानकारी दिए । उनले विगतमा बनाएको कार्यतालिकालाई पुनःसंयोजन गरी परिमार्जन गरेर संविधान निर्माणको काममा सिङ्गो पार्टी, संविधानसभाका सदस्यहरू सबै समर्पित हुने निर्णय भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री