सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १०:०६ | UK Time: 05:21

केर्खा बजार, भुटानी शरणार्थी क्याम्प हुँदै पान्थरतिरको ‘लाटो पहाड’ उक्लि हेर्दा

वीनेपाली
२०७२ साउन १६ गते ११:०३

lato pahad cover

पुस्तक समीक्षा

पुस्तकको प्रकाशन मितिमा प्रथम संस्करण २०७१ साल चैत्र लेखिए तापनि सहरमा लाटो पहाडको चर्चा शिल्पि थिएटरमा नाटक चल्न थाले पछि मात्र हो कि भन्ने मेरो अनुमान छ । हुन त म शहरबाट अलि टाढाको सानो सहरतिर बस्ने भएरै पनि मैले किताबको बारेमा जानकारी अलि ढिला पाए हुँला । अझ यसपालाको नयाँ साल लाग्ने बित्तिकै आएको बिध्वसंकारी भुकम्पका कारण आफनो कमाइको मेसो मिलाउँदै पनि म ठिक्क थिएँ । त्यसैले पनि यो पुस्तक बारे थाहा पाइन हुँला भन्ने निश्कर्ष निकालेकी छु । जे होस् पुस्तक हात पर्‍यो र पढिसक्दा नलेखि रहनै सकिनँ । पुस्तक किन्नेमा पनि अर्कै कथा जोडिन आई पुग्यो ।

साथीहरुबाट पनि खासै पढ्नलाई फर्माइस आइसकेको थिएन, तर म आफू कला पारखी पनि भएकीले होला म पाँचखालतिरै हुँदा घिमिरे युवराज दाइको अनुहार पुस्तके भित्तोले पहिलो पटक ध्यान आकर्षण गर्‍यो । भित्तोमा पर्दा झैँ गरी निमन्त्रणा टाँगिएको थियो -फलाना दिनदेखि शिल्पि थिएटर गोठाले घरमा लिम्बु संस्कृतिमा आधारित नाटक मञ्चन हुँदैछ, अवश्य आउनु होला । नाटक हेर्न जान साइत नजुरेको निकै महिना भैसकेेको थियो निमन्त्रणा देख्दा गइहालौँ लाग्यो । आफ्नो तोकिएको निश्चित कार्यभार समाप्त गरी काठमाण्डौ फर्किएँ । आफ्ना योजना साथीहरुसंग पनि योजना साटेँ । उनीहरुले पनि संगै हेर्न जाने सहमति जनाए तर बाध्यताले यसरी बाँध्यो कि पटक पटक योजना बनाएर पनि शिल्पिसम्म पुग्ने मौका जुरेन । कहिले कामले अल्झायो कहिले बर्षे झरिले त कहिले के ले । आफनो काठमाण्डौ बसाई सकिएर फेरि गन्तब्य लाग्नु पर्ने दिन आयो । त्यसैले अन्त्यमा निर्णय गरेँ नाटक पो हेर्न जान भ्याइनँ त झन् आफैँले किताब किनेँ भने पक्कै पनि नाटकमा भन्दा धेरै कथाहरु सँगै विभिन्न पहाडका अध्यायहरु उक्लिन पाइन्छन् ।
दिनानुदिन साथीहरुका अनुहार पुस्तके भित्ताभरि नाटकका बारेमा लेखिएका प्रसंसाका थुप्राहरुको चाङ लाटो पहाड झैँ चुलिएका हुन्थे । पुस्तक हात परेपछि अरु कुरा ननियाली लाटो पहाड शीर्षकको कथा खोजेँ र एकै बसाईमा खतम पारेँ । कथा लिम्बु फिलिमको बारे थियो । त्यसमा भएका वातावरण, परिवेश र पात्रहरुसंग साथीहरुले नाटकघरमा खिचेर हालेका फोटाहरुको तारतम्मे कतै मिल्दैन । म चित खााएँ । मलाई लाग्यो सायद युबि दाइले परिवेश फरक पारेर नाटक देखाएछन् । अझै चित्त बुझेन । फेसबुके भित्तो खोलेँ । नेपाल टेलिकमको डाटाले म बसेको सानो सहरमा काम गरेन । मोबाइलमा फोटा खुलेनन् । फेरि मैले अर्काे १२ घण्टा कुर्नु पर्‍यो । अफिस पुगेर सबैभन्दा पहिलो काम युबि दाइको भित्तो चेक गरेँ। बल्ल थाहा पाए नाटक त प्रभु माइला र मनमाया शीर्षकको कथामा आधारित रहेछ । युबि दाइले गज्जबै झुक्काए शीर्षक फरक पारेर ।

मनु ठाडामगर

मनु ठाडामगर

पुस्तकमा जम्मा १३ वटा कथाहरु भए पनि लिम्बु गाउँघर, संस्कृति संस्कार, बोलिचाली, परिबेश सबैलाई सर्लक्कै उतारेका छन् लेखकले । जाति, भाषा, संस्कार, रहनसहनलाई यति मिहिन तरिकाले केलाएर ठ्याक्कै गाउँमा पुगेको भान गराउन सफल छ लेखन शैली । लिम्बु परिबेश, परिवार, संस्कार र संस्कृति नजिक रहेकीले पनि हुनसक्छ कथाहरु ससक्त छन्। लेखकले यी कथाहरु मार्फत सरल तरिकाले आफ्नो जातिका विभिन्न गहन विषयबस्तुलाई उठान गरेका छन् । गाउघरको परिवेश दुरुस्तै उतारेका छन् । पुस्तकको सुरुको कथा धर्म परिवर्तनका कारण मानिसमा आएका ब्यक्तिगत परिवर्तन र समाजमा पार्ने असरहरु, सामाजिक परिवर्तन र यसका बेफाइदाहरुलाई मिहिन ढंगले प्रस्तुत गरेका छन् । प्रभु माइला पढि रहँदा मेरा केही साथीको याद दिलायो जो अहिले आफ्नो धर्म परिवर्तन गरेर क्रिश्चियन भएका छन्। कथामा साथीहरुले आफ्नो भाग काटेर खानेकुरा जोहो गर्दा प्रभु, आज मलाई यस्तो जंगलको बाटोमा पनि खाना जुराई दिनु भयो, तपाईलाई लाख लाख धन्यबाद पढि सक्दा विगतमा मेरो साथीहरुमाझ आफुलाई प्रार्थना गर्न नजानेर अलमल परेका दिनहरु मानस्पटलमा उत्रिए । खुङ्खार भालेले गाउँले जीवनका आवश्यकता, अभावलाई राम्रोसंग चित्रण गरेको छ । कथा पढिसक्दा आफनो बचपनाको वास्तविकताले सतायो । जतिखेर मैले गाउँमा आफनो पेवा भाले भनेर वर्षमा एउटा भाले पाल्न पाउथेँ । पेवा भाले बेच्न लैजाने बिहीबारको दिन हजार आवश्यता र चाहानाहरु उम्रन्थे यद्यपी मेरो भाले बिर्खेको भाले जस्तो गाउँभरि नामी भने थिएन । ऐँठन पढिसक्दा जो कसैलाई ऐठन पर्न सक्छ। यस्ता विभिन्न अकल्पित सपनाहरुले प्राय धेरै मानिसहरुलाई सताइरहेका हुन्छन् भन्ने मलाई लागेको छ । सायद यी मानसिक तनाव र थकानका बेला कहिलेकाहीँ मलाई यस्तै सपनाले दुख दिन्छ र राती बौलाए झैँ बर्बराउने गर्छु । छेउमा सुत्ने बहिनीहरु सबै डराएर अर्काै दिनदेखि संगै सुत्न नै डराउँछन् ।
ससुराली, नास्पाते बुढा, पुचुने धामीको मरण, थोते साइलो जस्ता कथाहरु थोरै सामाजिक कथा बोकेका तर धेरै उटपट्याङ र मनोरञ्जनात्मक हिसाबले लेखिएका कथाहरु हुन् । पुचुने धामीको मरणमा केर्खा बजारदेखि माइखोलाको किनार, त्यस क्षेत्रको रहनसहनलाई राम्ररी नियाल्न सकिन्छ । मानसिंको चैते दशैँले पितृसत्तात्मक समाजका लिम्बुहरु माझ प्रचलित बहुबिबाह र मादक पदार्थ सेवन पश्चातका ब्यक्तिगत तथा सामाजिक असरहरुलाई रमाइलो ढंगले बिस्तारित रुपमा प्रस्तुत गरेका छन् । हन्दनेको बिहे, हरियो ढुंगा र सुगुत जस्ता कथाहरु समाजमा घटिरहने सामाजिक घटनाका प्रतिनिधि पात्रहरु हुन् । हन्दनेको विवाहले एक अर्काको सामिप्यताले कहिलेकाहीँ समाजमा अप्रिय घटना पनि घटाउँछ भन्ने सन्देश बोकेको छ भने हरियो ढुँगाले लोभलालच र अहंकारले मानिसलाई फाइदा गर्दैन भन्ने मूल सन्देश बोकेका छन् । यसले नेपालमा रहेका भुटानी शरणार्थीहरुको कथालाई राम्रैसंग प्रस्तुत गरेको छ । सुगुत र मनमाया प्रतिनिधि पात्रहरु हुन् । मनमायामा लेखकले गाउँले परिबेशमा एकदमै सरल र सरस ढंगबाट सामाजिक कथा उतारेका छन् जसमा आमाले कहिलेकाहीँ कारण नबुझेर पनि छोरा छोरीलाई गाली तथा पिटाइ दिन्छन् तर पनि उनी एक माया र ममताकी खानी हुन् भन्ने कुरा देखाएको छ । साथै यस कथाले सामाजिक अन्धकार हटाउन छोरा छोरीलाई शिक्षा दिनु पर्छ भन्ने सकारात्मक सोच भएका मानिसहरु पनि समाजमा हुन्छन् भन्ने कुरालाई अघि सारेकी छ । लाटो पहाड लिम्बु जातिको एउटा प्रतिनिधि कथा हो, यसमा गाउँले जनजिब्रोमा झुण्डिएको ‘जाँठा’ शब्द अत्याधिक प्रयोग गरिएता पनि यस भित्रका पात्रहरुलाई पढिरहँदा आफू वास्तवमै पूर्वी पहाडको कुनै टिपिकल लिम्बु गाउँमा छु भन्ने भान हुन्छ । लेखकले कथाभित्र पनि लिम्बु जातिको बारेमा बनाइएको चलचित्र केःबा कोक्माको रुपमा प्रस्तुत गरेका छन् । यसले एउटा जातिय विशेषता बोकेको कथा त छँदैछ अझ आदिबासी जनजातिहरुको बारेमा बनेका चलचित्रहरु प्रति मानिसको प्रतिकृया, आदिबासी जनजाति चलचित्र बनाउने ब्यक्तिहरुले पाउने गालिगलौच तथा प्रसंसालाई पनि राम्रो केलाइ प्रस्तुत गरेका छन् । नेपाली भाषामा दख्खलको कमीका कारण लिम्बुहरु शिक्षाामा पछाडि परेको, सरकारको नितिनियमहरुका कारणा लिम्बु सँस्कृतिलाई असर पारेको कुरा पनि यस कथामा प्रखर रुपमा उठाइएको छ ।
लाटो पहाड लिम्बु जातिको जातिय, सामाजिक, सांस्कृतिक विशेषता बोकेको एउटा पहाड हो। जसलाई लिम्बु जाति उनिहरुको धर्म संस्कृति, चालचलन तथा रहन सहनको बारेमा ज्ञान छ उनीहरुलाई आफनै कथा लाग्न सक्छ, यदि छैन भने पनि उनिहरुलाई यस्तो पनि हुने रहेछ भन्ने पाठ सिक्न सक्ने छन् । पुस्तक २२१ पृष्ठ बाक्लो भएता पनि रस भिज्यो भने एकै बसाइमा समाप्त गर्न सकिन्छ। कथाहरु रोचक छन्, सामान्य लागेका कथाहरुमा पनि गहन विषय उठाएका छन् । असल लेखकको एउटा गुण सरलता तर ससक्तता हो जुन मैले उपेन्द्र सुब्बाको लेखनमा पाएकी छु।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक