भारतमा आतङ्कवादी आक्रमणमा मर्नेको संख्या १०

गुर्दासपुर (भारत), ११ साउन । उत्तरी भारतको पञ्जाब प्रान्तको गुर्दासपुर जिल्लामा सोमबार भएको आतङ्कवादी आक्रमणमा परीे मृत्यु हुनेको संख्या १० पुगेको यहाँका उच्च प्रहरी अधिकारीले बताएका छन् ।

सोमबार बिहानै करिब ५ः३० बजे भारत–पाकिस्तान सिमानानजिकै भएको उक्त हमलामा सैनिक पोसाकमा आएका चार जना आतङ्कवादीहरूको संलग्नता भएको जनाइएको छ ।

प्रहरीले विस्फोट नभएका पाँच थान बम घटनास्थल नजिकैको रेलमार्गमा भेटेको जनाएको छ ।

पञ्जाबका गुप्तचर प्रहरी उपरीक्षक बलजित सिंहको प्रहरी र आतङ्ककारीबीच भएको झडपमा मृत्यु भएको छ । मृत्यु हुनेमा तीन सामान्य नागरिक र दुई अन्य प्रहरी रहेको प्रहरी अधिकारीले जनाएका छन् ।

स्थानीय टेलिभिजनले आत्मघाती आक्रमणकारी पाकिस्तानी मूलका नागरिक भएको आशङ्का भएको जनाएका छन् ।

दुई देशको सिमानामा भएको उक्त आक्रमणपछि भारतीय सिमानामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

यसैबीच भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानलाई कडा चेतावनी दिँदै भनेका छन्, “हामी आफ्नो छिमेकीसँग राम्रो सम्बन्ध स्थापित गर्न चाहँदै गर्दा पनि किन पटकपटक भारतीय सिमानामा आतङ्कवादी आक्रमण हुने गर्छ, म बुझ्न सक्दिन ।”
गृहमन्त्री सिंहले सञ्चारमाध्यमसँगको कुराकानीमा थपे, “हामी पाकिस्तानसँग शान्ति स्थापना गर्न चाहन्छौँ तर राज्यको सम्मानमा घात हुने अवस्थामा यो सम्भव छैन । हामीले पहिले आक्रमण गर्ने छैनौँ तर हामीमाथि आक्रमण भएमा यसको उचित जवाफ दिने छौँ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनापश्चात सोमबार प्रतिपक्ष दल, भारतीय राष्ट्रिय काँग्रेसले सरकारको तर्फबाट गर्नुपर्ने गोप्य निरीक्षणमा गुप्तचर अधिकारीहरू असफल भएको आरोप लगाएपछि सरकारको उच्चस्तरीय बैठक आह्वान गरी शीर्ष मन्त्रीहरूसँग छलफल गरिसकेका छन् ।
यस सन्दर्भमा सुरक्षा विज्ञहरूले यस्तो आतङ्ककारी हमला दुई देशबीचको विवादित भूभाग काश्मिर क्षेत्रमा सामान्य भए पनि छिमेकी पञ्जाब प्रान्तमा भने अनपेक्षित भएको जनाएका छन् ।
आक्रमण भारतीय प्रधानमन्त्री मोदीले उहाँका पाकिस्तानी समकक्षी नवाज सरिफसँग रसियामा भेटेको केही हप्तापछि भएको छ । उक्त भेटमा भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री सरिफले दुई देशबीच सुमधुर सम्बन्ध स्थापना गर्दैजाने प्रयास गर्ने सहमति गरेका थिए ।

काश्मिरमा हुने गरेको आतङ्कवादी आक्रमण काश्मिरबाट पञ्जाब सर्नुले भारतमा आएको परिवर्तीत अवस्थालाई सङ्केत गरेको विज्ञ कौशल गुप्ताले बताए ।

पञ्जाब आक्रमणपछि मुख्यमन्त्री तरुण गोगोईले आसाम र वरिपरीको क्षेत्रलाई ‘रेड अलर्ट’ क्षेत्र घोषणा गरेको पीटीआईको आसामबाट सम्प्रेसित समाचारमा जनाइएको छ ।

मुख्यमन्त्री गोगोईलाई के इस्लिामिक स्टेट (आईएस) आतङ्कवादीको आसाममा उपस्थिति रहेको छ भन्ने प्रश्नमा उनले भने, “उनीहरू आसाम राज्यमा लुकिछिपी रहेको हुनसक्ने भए पनि उनीहरूबाट कुनै खतरा भने छैन् ।”

पाकिस्तानद्वारा आतङ्कवादी आक्रमणको निन्दा

उता पाकिस्तानले सोमबार भारतको पञ्जाब प्रान्तको दिनानगरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ ।

पाकिस्तानले भारतको गुर्दासपुरको एक बजारमा कैयाँै भारतीय नागरिकको सोमबार आतङ्ककारी आक्रमणको कडा शब्दमा निन्दा गर्न चाहन्छु, पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हामी यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छौँ, विज्ञप्तिमा भनिएको छ ।

घटनामा घाइते भएका भारतीय नागरिकको शीघ्र स्वास्थ्य लाभको कामनासमेत पाकिस्तानले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री