चित्र र मूर्तिमा अभिव्यक्त भूकम्पीय पीडा

काठमाडौँ, ५ साउन । ‘गोरखा भूकम्प’बाट संवेदनशील नेपाली ललितकलाकर्मीले त्यो प्राकृतिक प्रकोपबाट तहसनहस स्थितिलाई आफ्नो कला सिर्जनामा उतार्ने मौकालाई खेर जान दिएनन् ।

‘ललितकलाकर्मीहरुको हातेमालो अभियान, २०७२’ खडा गरी उनीहरुले विपत्मा परेका कलाकार र तिनका परिवारलाई तत्काल राहत प्रदान, रक्तदान, घरटहरा निर्माण, बालबालिकाका लागि चित्रकला कार्यशाला आयोजनाका साथै क्षतिग्रस्त सम्पदा क्षेत्रमा स्थलगत रुपमा चित्रकला सिर्जना पनि गरे । कलाकारहरु भन्छन् – “सम्पदाहरु ध्वस्त हुँदा हाम्रो मन निकै रोएको छ, तर पनि हामी आत्तिएका छैनौँ, नेपाली जनतालाई हामी केही न केही दिइरहन्छौँ ।”

अभियानको आयोजनामा गत जेठ १६ गते हनुमानढोका वसन्तपुर दरबार क्षेत्रमा भएको चित्रकला कार्यशालामा सहभागी करिब १०० जना कलाकारले तयार पारेका चित्र र जेठ २५–२८ गतेसम्म नेपाल कला परिषद्मा आयोजित कार्यशालामा निर्मित काष्ठमूर्तिको प्रदर्शनी यही साउन १ गतेदेखि कला परिषद् बबरमहलमा आयोजना भइरहेको छ । ‘लौ अब सुरु गरौँ’ भन्ने मुख्य नाराका साथ आयोजित प्रदर्शनीमा एक सय दुई चित्रकारका १०३ चित्र र २२ मूर्तिकारका २३ काष्ठमूर्ति राखिएका छन् ।

चित्रकलामा भारतीय र तिब्बती भूखण्डको जुधाइ, भूकम्पको केन्द्रबिन्दु र पञ्चतत्वमा परेको प्रभाव, हाम्रा हजाराँै वर्षदेखिका सम्पदामाथिको विध्वंस, मानिसहरुको भागाभागको स्थिति, धुवाँधुलोले डग्मगाएको वातावरण, भयाक्रान्त तथा क्षतिग्रस्त घरनिर टोलाएर बसेका मानिस, डरले उडेका चराहरु, बुद्धको रोदन, टेका लगाएर जोगाइएका सम्पदा आदि प्रतिविम्बन गरिएका छन् । “कलाकारहरुले अत्यन्तै संवेदनशील भई प्रकृति, संस्कृति र मानवीय जीवनलाई अभिव्यक्त गरेका छन्, मुलुकको दुःखमा कलामार्फत आफूलाई समाहित गरेका छन्”–कलाकार जीवन राजोपाध्याय भन्छन् । राजोपाध्याय स्वयम्को ढल्दै गरेको धरहराले दर्शकलाई दुःखित तुल्याउँछ ।

कलाकार किरण मानन्धरले कालो, रातो, पहेँलो र खैरो रङमा ध्वस्त सम्पदालाई अमूर्त शैलीमा अभिव्यक्त गरेका छन् । शशी शाहले कालो र सेतो रङमा भयाक्रान्त मानिसहरुको मनस्थिति देखाएका छन् । केके कर्माचार्यले भूखण्डहरुको जुधाइ, शङ्करनाथ रिमालले खैरो रङमा उदास सम्पदा, टेकवीर मुखियाले त्रसित बच्चाहरु, वीरेन्द्रप्रताप सिंहले पेन एन्ड इन्कबाट हल्लिरहेको सम्पदा, नरेशसुन्दर सैंजुले भत्किएको सम्पदा, हिरालाल डङ्गोलले खरानी रङबाट भत्केको घर नियाल्दै गरेकी महिलामार्फत आफूलाई पोखेका छन् । केशवराज खनालले परकम्पनभित्रको बस्तीलाई चित्रमा उतारेका छन् ।
यस्तो अवस्थामा कलाकार सन्ध्या रेग्मीले ओम ध्वनि र दीयोमार्फत सान्त्वना दिन खोजेकी छन् । साहित्यकार पनि रहेकी रेग्मी प्रायः बुद्धमार्फत आध्यात्मिक भाव दिन खोज्ने कलाकार हुन् ।

गत जेठ २५–२८ गते नेपाल कला परिषद्, बबरमहलमा आयोजित मूर्तिकला कार्यशालामा निर्मित मूर्ति पनि आकर्षणका रुपमा छन् । कलाकारहरुले गोलाप्रथाका रुपमा पाएका रुखका हाँगाबिँगा, जरा र काठलाई आफ्नो सिर्जनात्मकताद्वारा भूकम्पीय कलामा ढालेका छन् । गोविन्दनारायण ज्यापूले भूकम्पको केन्द्रविन्दु बारपाक, शङ्करराजसिंह सुवालले ध्वस्त लाप्राक, नरेन्द्रबहादुर श्रेष्ठले कम्पनभित्रको कम्पन, नरेन्द्रप्रसाद भण्डारीले भूखण्डको जुधाइ, सुदर्शनविक्रम राणाले भूकम्पले उछिट्टिएका संरचना, पुष्पाञ्जलि शेरचनले सुरक्षा र त्रास, सुनीता राणाले भूकम्पको वैज्ञानिक मापन, विष्णुप्रसाद श्रेष्ठले गुहार, भुवन थापाले ढलिरहेको धरहराको रुप दिएका छन् ।

राजु पिठाकोटे र साथीहरुले भूकम्पमा जनावरहरु पनि मरेको र त्रसित भएको देखाएर मानव र जनावर उत्तिकै पीडित भएको देखाएका छन् ।

रामकृष्ण भण्डारीले हामी फेरि उठ्नेछौँ भन्दै विश्वास जगाएका छन् भने पञ्चलाल श्रेष्ठले विध्वंसपछि पुनःनिर्माणका रुपमा फुलेको फूलको सिर्जना गरेर सुन्दर नेपालप्रतिको आशावादिता कुंदेका छन् । तिमिला मास्केले शङ्खध्वनिमार्फत पुनःनिर्माणको आह्वान गरेका छन् ।

मूर्तिकार नरेन्द्रप्रसाद भण्डारीले मूर्तिकारहरुले कठोर मिहिनेतका साथ आफूलाई प्राप्त काष्ठ सामग्रीको उपयोग गरी भूकम्पले सिर्जित पीडालाई अभिव्यक्त गरेर राष्ट्रको पुनःनिर्माणका लागि आह्वान गरेका छन् जसको मूल्याङ्कन सरकारले गर्नुपर्ने उनको जोड छ ।

ती चित्र र मूर्तिमध्ये हालसम्म ४३ चित्र र दश मूर्ति गरी रु चारलाखभन्दा बढी मूल्यको बिक्री भइसकेको बताइएको छ । प्रत्येक चित्रको मूल्य रु सात हजार र मूर्तिको रु दश हजार राखिएको छ जुन निकै सस्तो मूल्य हो । अभियानका मुख्य संयोजक शान्तकुमार राईले चित्र र मूर्तिकलाको बिक्रीबाट प्राप्त रकम भूकम्पपीडित कलाकार र तिनका परिवारलाई दिइने बताए । “हामीले नेपाली सम्पदाको संरक्षण, सम्वद्र्धन र पुनःनिर्माणका लागि सबैलाई आह्वान गरेका छौँ, तिनको पुनःनिर्माणमा हामीलाई अवसर दिइनुपर्छ,” उनले भने । प्रदर्शनी यही साउन ७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री