
लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको प्रतिभा सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।
प्रतिष्ठानले वरिष्ठ कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान-२०२५’ र युवा पत्रकार तथा लेखक बिजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार- २०२५’ प्रदान गर्ने निर्णय गरेको शनिबार १८ अक्टुबरमा जारी विज्ञप्तिमा उल्लेख छ । विशिष्ट सम्मानमा नगद एक लाख, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा नगद एक लाख राशि र ताम्रपत्र रहेको छ ।
विशेष परिस्थितिमा मात्र विशिष्ट सम्मानको व्यवस्था गर्दै आएको प्रतिष्ठानले प्रस्ट पारेको छ । यसअघि संस्थाले वरिष्ठ कवि बैरागी काइँलालाई मात्र विशिष्ट सम्मानले सम्मानित गरेको जनाएको छ ।
विसं २००२ साउन १७ गते मैचुङगाउँ, बुइपा–६, खोटाङमा जन्मेका जसराज किराती बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय रहँदै आउनुभएको छ । उहाँको पहिलो कृति ‘उज्यालो खोज्ने आँखाहरू’, कवितासङ्ग्रह, २०३६, ‘जसराज किरातीका कविता’, कवितासङ्ग्रह, २०५७ र ‘जसराज किरातीका प्रतिनिधि कविताहरू’ कवितासङ्ग्रह, २०६४ प्रकाशित छन् ।
नेपालमा छापाखानाको विकास राम्ररी नहुँदै उहाँले हस्तलिखित साहित्यिक पत्रिका गोरेटो २०२० सालमा सम्पादन गर्नुभएको थियो । यसैगरी ‘अर्धचन्द्र’ दैमासिक २०२०, ‘आक्रोश’ २०२६ र ‘हलेसी पुञ्ज’ २०४१ सालमा प्रकाशित पत्रिकाहरू किरातीको सम्पादन रहेका छन् । छ दशकसम्म लगातार नेपाली कविता लेखनमा उहाँको अतुलनीय योगदानको कदर गर्दै किरातीलाई विशिष्ट सम्मान प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
सन् १९८१ सालमा धनुषाको जनकपुरधाममा जन्मेकी चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएको छ । ४४ वर्षीया चौधरीले आरआर बहुमुखी क्याम्पस जनकपुरबाट नेपालीमा स्नातकोत्तर र पत्रकारिता विषयमा स्नातक अध्यायन पूरा गर्नुभएको छ । उहाँको ‘धाराक विरूद्ध’कवितासङ्ग्रह सन् २०१९ (मैथिली) र ‘कर्फ्यु’ कथासङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कवितासङ्ग्रह (लेखिकाद्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् ।
चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ सन् २०२२ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथासङ्ग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ ।
यस्तै विश्वेश्वरप्रसाद कोइरालाका कथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा मधेश, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोधकार्य सम्पन्न गर्नुभएको छ ।
यसैगरी उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित आँगन पत्रिकाको सम्पादन समेत गर्नुभएको छ ।
चौधरी र किरातीलाई आगामी मंसिरमा काठमाडौंमा कार्यक्रम गरी पुरस्कार तथा सम्मान प्रदान गरिनेछ ।
उक्त संस्थाबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीबी लुगुन, भक्तराज आचार्य, प्रा. डा. गोविन्दराज भट्टराई, बूद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा कृष्णहरि बराल, दिप श्रेष्ठ, गणेश रसिक र राजेश्वर थापा सम्मानित भइसक्नुभएको छ ।
यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ, बिमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाखीन र प्रदिप मेन्याङ्बो, सन्ध्या सुब्बा (सिङजाङगो) पुरस्कृत भइसकेका प्रतिष्ठानका अध्यक्ष टंक वनेम र महासचिव चोक गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा