तिगेलाको प्यानलमा लारा नबस्ने

 

10401392_800928299946570_2982176969882298452_nलन्डन । गैर आवासीय नेपाली संघ, बेलायतको आसन्न निर्वाचनमा अध्यक्षका दावेदार विश्वासदीप तिगेलाले प्यानलै बनाएर सार्वजनिक गरेकामध्ये केही व्यक्तिले त्यहां नबस्ने उद्घोष गरेका छन् ।

तिगेलाको प्यानलमा सचिव भनेर सार्वजनिक लारा (लक्ष्मी राई) ले आफू एनआरएनए यूकेको उक्त पदमा बस्न योग्य नभएको जनाउंदै आफूलाई टाढै राखिदिन भनेकी छन् । साहित्यप्रेमी लाराले घुमाउरो कुटनीतिक पाराले संस्थाप्रति कुनै इच्छा नभएको जनाउंदै भनेकी छिन्, ‘वास्तवमा यो मेरो गाउं जाने बाटो पर्दैन । साधारण कामकाजी मान्छे म । एनआरएनएभित्र देख्दै र सुन्दै आएको ‘उचाल्ने, पछार्ने, मिल्काउने, थन्काउने’ रणनीतिदेखि अबुझ शिशु हुं म । मान्छेको राजनैतिक एवं आर्थिक हैसियत जोखेर ‘पैंतारा’ बदल्न सक्ने घाघडन, घाघडान महारथीहरुदेखि यो अदना महिलालाई टाढै राखिदिनु भयो भने आभारी हुनेछु ।’

केहि दिन अघि तिगेलाले अनुरोध गरेपनि एनआरएनएका लागि आफू अनुभवी र ‘सामर्थ्येवान’ व्यक्ति नभएको बताएको उल्लेख गर्दै लाराले भनिन्, ‘यो पद मेरो कपको चिया हैन् ।’  उनले तिगेलालाई सक्षम एवं पारंगत उम्मेदवार भएको प्रशंसा गर्दै बरु अफिस नै बिदा लिएर सघाउन भने तयार रहेको बताएकी छिन् ।

यसैबीच, उपाध्यक्षमा नाम सार्वजनिक गरिएका एनआरएनए यूकेका पूर्व महासचिव योगकुमार फगामीले आफू कुनै पनि प्यानलमा लाग्ने मान्छे नभएको बताउंदै तिगेलाको प्यानलबाट नलड्ने समाचार प्रकाशमा आएको छ ।

तिगेलाले सोमबार दिउसो पठाएको विज्ञप्ति यस्तो छः

आदरणीय पत्रकार साथीहरु,

सभ्य मुलुक भनेर चिनिने संयुक्त अधिराज्य (यूके) मा हामी नेपालीहरु ठूलो संख्यामा रहेका छौ र सयौं संघसस्थाहरु अघि बढाई रहेका छौं । प्रजातान्त्रिक प्रकृयामा अभ्यस्त भइरहेका छौं । यद्यपि विगत केही वर्षदेखि गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए.) यूके विधि र प्रकृयासम्मत ढङ्गबाट अगाडि बढ्न नसक्दा धेरै उतारचढावहरु बेहोरिरहेको अवस्था छ । तिनै विविध समस्याहरुलाई सकारात्मक, सहअस्तित्व र सबैको कल्याण हुनेगरि समाधान गर्दै एनआरएनए यूकेको साखलाई फर्कांउदै थप उचाईमा पुर्याउनको लागि हरेक कोणबाट समावेशी रहेको र सक्षम निम्न व्यक्तिहरु एन.आर.एन.ए. यूकेको नयां नेतृत्वको लागि उम्मेदवार घोषणा गरेका छौं ।

अध्यक्षः विश्वास दीप तिगेला (हालः एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य)
उपाध्यक्ष १ः बांकी
उपाध्यक्ष २ः योग कुमार फगामी मगर (पूर्व महासचिव एनआरएनए यूके)
उपाध्यक्ष ३ः धर्मबहादुर तामाङ (हालः सदस्य एनआरएनए यूके)
उपाध्यक्ष महिला ४ः बांकी
महासचिवः राजकुमार त्रिपाठी, (हालः महासचिव एनआरएनए यूके )
सचिवः लारा
कोषाध्यक्षः बांकी
सहकोषाध्यक्षः रिटायर्ड क्याप्टेन टिका राई
सदस्यः श्रीमति लिला सेलिङ माबो
सदस्यः काप्रसाद छन्त्याल

बांकी उम्मेदवारहरुको नामावली आगामी दोस्रो चरणमा घोषणा गरिनेछ ।

यूकेमा रहेका हामी नेपालीहरु हरेक क्षेत्रमा संलग्न छौं र ती प्रत्येक क्षेत्रमा सम्बन्धित समस्याहरु छन् । जसलाई हाम्रो साथ र सहयोगको आवश्यकता छ । विशेषतः भूतपूर्व गोर्खाहरुको समस्या, विद्यार्थीहरुको समस्या, नर्स तथा डाक्टरहरुको समस्या, इमिग्रेसनजन्य समस्या, ब्यापारव्यवसायी क्षेत्रको समस्या आदिलाई एनआरएनए यूकेले समन्वयकारी तथा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा कुनैकसर बांकी नराखी हामी उम्मेदवारहरु काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछांै ।

यूकेवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई तत्कालै सदस्यता नवीकरण गर्नुहुन वा नयां सदस्य बन्नुभई आगामी सेप्टेम्बरमा हुने नयां नेतृत्वको चुनावमा सहभागी बन्नु हुन हार्दिक अनुरोध गर्दछौं ।

विश्वास दीप तिगेला
अध्यक्षका लागि उम्मेदवार, यूके

प्रतिक्रिया

सम्बन्धित सामाग्री