काठमाडौँ, ४ साउन । ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि सुझाव दिँदै युवा वर्गले ‘सांसद हुन कम्तीमा ‘स्नातक उत्तीर्ण’ को व्यवस्था नयाँ संविधानमा हुनुपर्ने सुझाव दिएका छन् ।
संविधानसभाको ‘नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति’ले काठमाडौँ महानगरपालिकअन्तर्गत वडा नं ९ को कुलेश्वर, तीनकुनेमा आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमका सहभागीमध्ये धेरै युवाले चालक बन्न प्रवेशिका परीक्षा उत्तीर्ण हुनुपर्ने तर सांसद, मन्त्री हुन कुनै योग्यता नचाहिने प्रावधान सच्याउन जरुरी भएको सुझाव दिएका थिए ।
कार्यक्रममा प्रह्लाद गिरीले शिक्षित नेतृत्वले मात्रै नयाँ योजना र कार्यक्रम ल्याई नेपाललाई चाँडै विकासको पथमा लैजाने भन्दै नेतृत्वका लागि शिक्षाको मापदण्ड तोक्नुपर्ने राय दिए । स्थानीयवासी केशव पोखरेलले प्रारम्भिक मस्यौदामा राष्ट्रको प्रमुख निकाय राष्ट्रपतिको पदका लागिसमेत कुनै शैक्षिक योग्यता नतोकिएको बताउँदैै त्यसलाई सच्याउन सुझाव दिए ।
त्यस्तै कार्यक्रममा धेरै सहभागीले नयाँ संविधानमा राष्ट्रिय पार्टी बन्न र समानुपातिकबाट सभासद् चुनिन मतसीमा (थ्रेसहोल्ड)को व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । कम्तीमा तीनदेखि पाँच प्रतिशत मत ल्याउनुपर्ने मतसीमाको व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
ध्रुबचन्द्र गौतमले मतको सीमा नराख्ने हो भने च्याउसरी पार्टी उम्रिने र देशमा कहिल्यै स्थिर सरकार नआउने सम्भावना रहने भन्दै कम्तीमा पाँच प्रतिशतको मतसीमा राख्न सुझाव दिए भने स्थानीयवासी पञ्चकुमारी मानन्धरले संविधानमा बन्द, हडताल गर्न नपाइने व्यवस्था राख्न सुझाव दिइन् ।
त्यस्तै, नवराज भट्टले अहिलेको मस्यौदाअनुरुप केन्द्रीय र स्थानीय गरी नौ सयभन्दा बढी सांसद नेपालले थेग्न नसक्ने भन्दै सो सङ्ख्या घटाउन सुझाव दिएका छन् ।
ज्येष्ठ नागरिकका तर्फबाट सुझाव दिँदै डिल्लीबहादुर कार्कीले मस्यौदामा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भनिएको छ त्यसलाई मौलिक हकअन्तर्गत पनि राख्न जोड दिए । राजु दाहालले मस्यौदामा उल्लेख गैर आवासीय नेपाली नागरिकलाई पनि छुट्टै नागरिकता दिने प्रावधान सच्याई उनीहरुलाई नागरिकता नभई ‘गैरआवासीय नेपाली नागरिक परिचयपत्र’ दिनुपर्ने सुझाव दिए ।
स्थानीयवासी मुक्तिराम श्रेष्ठले मस्यौदा जनताले बुझ्ने झाषामा नआएको भन्दै जनताले बुझ्ने गरी संविधान आउनुपर्ने बताए । कार्यक्रममा अधिकांश सहभागीले धर्मनिरपेक्ष राज्यभन्दा धर्मविहीन राज्य भन्ने अर्थ लाग्ने भन्दै धार्मिक स्वतन्त्रता भन्ने शब्द राख्नुपर्ने सुझाव दिएका छन् ।
अधिकांश सहभागीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने, प्रदेशको सीमाङ्कन र नामाङ्कन टुङ्ग्याउनुपर्ने, वडा अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने, सङ्घीयताको सङ्ख्या घटाई बढीमा पाँच प्रदेशमात्रै बनाइनुपर्ने, मत बराबर भएमा गोलाप्रथाबाट राष्ट्रपति चुन्ने प्रावधान हटाउनुपर्ने, सनातन हिन्दू राष्ट्रको व्यवस्था हुनुपर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्नेलगायतका सुझाव दिएका छन् ।
कृषि विकास आयोग, युवा आयोग, ज्येष्ठ नागरिक आयोग, श्रमसम्बन्धी आयोग बनाउनुपर्ने पनि सहभागीहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा सहभागी नेपाली काँग्रेसका सभासद् ध्यानगोविन्द रञ्जित, नेकपा (एमाले)का सभासद् अष्टलक्ष्मी शाक्य र समाजवादी जनता पार्टीका सभासद् प्रेमबहादुर सिंहले जनताले दिएका सुझाव निकै उपयोगी देखिएको भन्दै सोहीअनुरुपको संविधान ल्याउन आफूहरुले संसद्मा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस