बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: ०१:०६ | UK Time: 20:21

सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्ति र परिवारलाई छ अर्ब २५ करोड

वीनेपाली
२०७२ असार ३१ गते २३:३१
तत्कालिन समयमा अभ्यासका क्रममा माओवादी लडाकु । तस्विरः दि टेलिग्राफ

तत्कालिन समयमा अभ्यासका क्रममा माओवादी लडाकु । तस्विरः दि टेलिग्राफ

काठमाडौँ, ३१ असार । शान्ति तथा पुननिर्माण मन्त्रालयले हालसम्म सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्ति तथा तिनका परिवारलाई राहत तथा आर्थिक सहायताका नाममा रु. छ अर्ब २५ करोड, १६ लाख ६६ हजार प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७१, ०७२ मा भएका काम कारबाहीका सम्बन्धमा जानकारी दिँदै मन्त्रालयले द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्तिका हकदारलाई राहत उपलब्ध गराउनुका साथै मृतकका परिवार एकल महिला, बेपत्ता पारिएका व्यक्तिका हकदार, विस्थापित, व्यक्तिगत सम्पति क्षति भएका, अपाङ्गलगायतलाई सो आर्थिक सहायता प्रदान गरेको जनाएको हो ।

शिविर व्यवस्थापन तथा माओवादी लडाकुको समायोजन, द्वन्द्व प्रभावित व्यक्ति तथा समुदाय, सुरक्षा तथा सङ्क्रमणकालिन न्याय, संविधानसभा निर्वाचन, राष्ट्रिय तथा स्थानीयस्तरका शान्ति निर्माण पहल र प्राविधिक सहयोगजस्ता आयोजनामा रु २३ अर्ब ५४ करोड, ७९ लाख ४० हजार खर्च भएको पनि कार्यक्रममा जानकारी दिइयो ।

यसैगरी विद्यालय भवन, गाविस भवन, जिल्ला सदरमुकामका सरकारी भवन, पार्क, स्मारक तथा नमूना बस्ती, जिविस, झोलुङ्गे पुललगायतका आयोजनामा रु आठ अर्ब ६३ करोड ५२ लाख ८२ हजार खर्च भएको बताइयो ।

द्वन्द्वमा परेका व्यक्तिको विवरण परीक्षणमा कठिनाई भएको, छात्रबृत्ति बितरणमा भिन्नता आएको, राहत बितरण एकमुष्ठ गर्न नसकिएको, घाइतेको अवस्था पुनर्मूल्याङ्कन हुननसकेको, सम्पति क्षतिको यथार्त मूल्याङ्कन हुन नसकेकोजस्ता समस्या आइपरेको पनि सो अवसरमा जानकारी दिइयो ।

मन्त्रालयका सचिव खुमराज पुंजालीले लामो समयपछि बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनु उल्लेखनीय उपलब्धि भएको बताउँदै द्वन्द्वमा परी मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारका लागि राहतस्वरुप थप रु. पाँच लाख निकासा भएको जनाए ।

उनले पुनःनिर्माणकार्य जारी नै रहेकाले यसका लागि रु. एक अर्ब ४४ करोड र शान्ति स्थापनाका लागि रु. ५० करोड निकासा भएको उल्लेख गरे ।

मन्त्रालयले प्रकाशनमा ल्याएको शान्ति नामक पत्रिका पनि लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक