सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: ०६:०५ | UK Time: 01:20

भूकम्पपछि टेकोमा अडिएको भादगाउँ

वीनेपाली
२०७२ असार २२ गते १४:३७
भूकम्पले भक्तपुर दरवार स्क्वायरका धेरै पुरातात्विक संरचना समेत ध्वस्त बनाइदिएको छ । तस्विरः एपी

भूकम्पले भक्तपुर दरवार स्क्वायरका धेरै पुरातात्विक संरचना समेत ध्वस्त बनाइदिएको छ । तस्विरः एपी

भक्तपुर, २२ असार । पुरानो ऐतिहासक सहर, सम्पदा र कलाले भरिपूर्ण पुरानो भादगाउँ अहिले टेकोको भरमा अडिएको छ । कला, संस्कृति र मनोरम ऐतिहासिक सहर हेर्न आउने स्वदेशी र विदेशी पनि अहिले टेकोले अडिएको भादगाउँ देख्दा खिन्न हुने गरेका छन् ।

भूकम्पका कारण जीर्ण बनेका यहाँका अधिकांश घर, मठ मन्दिर र सम्पदा टेकोमै अड्याइएपछि यहाँका बासिन्दा जोखिममै बस्न वाध्य भएका छन् । भूकम्पले नभत्काएका तर जीर्ण बनाएका संरचना टेकोमै अडाएर दैनिक जीवनमा फर्किएका छन् यहाँका बासिन्दा । उनीहरू टेकोले अडिएको घरमै बस्नेदेखि पसल सञ्चालनसमेत गरेर जीवनयापन गर्न थालेका छन् ।

भक्तपुर कमलविनायक क्वाठण्डौका तीर्थलक्ष्मी बज्राचार्यको परिवार टेकोले अडिएकै घरमा बस्न थालेको दुईसाता बितिसक्यो । वर्षा लागेर पालमा बस्न नसकिएपछि उनीहरू बाध्य भएर त्यही घरमा बस्न आएका हुन् ।

उनी भन्छन् – “घर टेकोमा अडिएको छ, सामान सबै घरमा छ, चोर लाग्ला भन्ने डर । डेरा पनि पाइँदैन । डरैडरमा बस्नु पर्छ ।” उनले जहाँ बसे पनि भाग्न नसकिने भएपछि जे होला होला भनेर टेको लाएको घरमै बस्न थालेको बताए ।

भक्तपुर– ४ याबाहका धर्मरत्न श्रेष्ठले भूकम्पले घर छियाछिया बनाए पनि नढलेपछि टेको लाएर राख्नुपरेको बताए । बाहिरबाट हेर्दा घर केही नभएको जस्तो देखिए पनि भित्रभित्रै छियाछिया भएकाले टेको लाएर घर जोगाउनुपरेको बताए ।

भादगाउँभित्र बाटो हिँड्ने ठाउँसमेत छैन । जता गयो त्यतै टेकोमा अडिएका छन् घरहरू । दायाँबायाँका घरमा लाएको टेकोले बाटो हिँड्ने ठाउँसमेत छैन । भक्तपुरका वीरेन्द्रमान शाक्य टाउको लुकाउने ठाउँसमेत नभएको बताउंछन् ।

भादगाउँका अधिकांश घर टेकोमै अडिएको बताउँदै उहाँले वर्षामा झन जोखिममै बस्नुको विकल्प नभएको दुखेसो पोखे । दरबार क्षेत्र अगाडिको पुरानो लामो घरमा होस् या वंशगोपाल र सुकुलढोकामै किन नहोस् यहाँका बजारमा टेकोमै अडिएको घरमा पसल, व्यवसाय चलाइरहेका छन् यहाँका बासिन्दाले ।

जेला घर भई सुकुलढोकामा व्यवसाय सञ्चालन गर्दै आएका मोहन प्रजापति सधैँ पसल बन्द गरे बस्न नसकिने भएपछि जोखिममै भए पनि पसल सञ्चालन गरेको बताए । सधैँ भूकम्प सम्झेर बस्न नसकिने भन्दै उनले दैनिक व्यवहारमा फर्किनुपर्ने भएपछि टेकोमै अडिएकै घरमा रहेको पसल चलाउनुपरेको उनको भनाइ छ ।

मध्यपुरथिमिको अवस्था पनि त्यस्तै छ । मध्यपुरथिमिको बालकुमारीदेखि बाखाहाबजारसम्म, बोडे र नगदेशका ९० प्रतिशत पुराना घर टेकोमै अडिएको छ ।

टेकोमै अडिएको घरमा बसेर जीवनयापन गर्न बाध्य छन् यहाँका बासिन्दा । थिमि बाखाहा बजारका श्रीकृष्ण प्रजापति जाने ठाउँ नभएकै कारण यहाँका बासिन्दा जोखिम सहेरै भए पनि टेकोमा अडिएको घरमा बस्न बाध्य भएको बताउंछन् ।

बाखाहा बजारमा पुराना पसल र सडकमै जोडिएका पसलसमेत टेकोमै अडिएका छन् । भादगाउँको दरबार स्क्वायरदेखि दत्तात्रयसम्मका कतिपय सम्पदा टेकोमै अडिएका छन् भने विश्वप्रसिद्ध चाँगुनारायण मन्दिरसमेत टेकोमै अडिएको छ । यतिखेर भादगाउँ जुनी फेरेर नयाँ पहिचान बनाउने आशामा पर्खिबसेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक