पान पसलदेखि दाना सञ्चालकसमेत ग्यास बिक्रेता

nepalgcylinder

काठमाडौँ, १८ असार । एलपी ग्यासका सिलिन्डरमा प्रयोग हुने पाइप, रेगुलेटर, चुलो तथा लाइटरजन्य सामग्री बिनाभन्सार बिक्री वितरण भइरहेको सार्वजनिक भएको छ ।

मिडिया इन्टरनेसनलद्वारा यहाँ शुक्रवार आयोजित कार्यक्रममा ग्यास बिक्रेता महासङ्घका पूर्वअध्यक्ष तथा ग्यास व्यवसायी ज्ञानेश्वर अर्यालले असम्बन्धित व्यक्तिबाट ग्यास बिक्री वितरण भइरहेकाले उक्त सामग्री चोरबाटो भई स्वदेश भित्रिएको बताए । उनका अनुसार चामल, दूध र पान पसल तरकारी तथा मोटरसाइकल मर्मत सेन्टर, दाना तथा भेटेनरी सञ्चालकले समेत ग्यास बिक्री गरिरहेका छन् ।

वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक शम्भु कोइरालाले काठमाडौँमा ग्यास बिक्रीको अवस्था र आवश्यकताको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले ग्यास बिक्री प्रमाणीकरण कार्यको थालनी गरिएको जानकारी दिए । उपभोक्ताले बेलाबखत ग्यासको अभाव झेल्दै आए पनि यस वर्ष अभाव झेल्नु नपर्ने महानिर्देशक कोइरालाले बताए ।

काठमाडौँमा कुल ग्यास उत्पादनको ६० प्रतिशत खपत हुन्छ । करिब रु चार अर्बको कारोबार हुने ग्यासको खपत गर्मीमा भन्दा जाडोमा २० प्रतिशत बढी हुन्छ । मुलुकले अधिकांश ग्यास भारतको बरौनीबाट आयात गर्ने गर्छ । ग्यासका सम्बन्धमा हरियो र रातो सिलिन्डरको प्रयोग तथा सहुलियतमा ग्यास वितरण गर्ने अवधारणा ल्याइए पनि हालसम्म लागू हुन सकेको छैन ।

यस वर्षको साउन–भदौदेखि नै २० देखि २५ प्रतिशत ग्यास खरिद गरी मौज्दात राखिने जनाइएको छ । बरौनीबाट आयात गरिएको ग्यास ५५ उद्योगले रिफिलिङ गरी १५ हजार डिलरमार्फत बिक्री वितरण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री