असहमतिमा सहमति जुटाउने चार दलको निर्णय

Simha Durbar

काठमाडौँ । प्रमुख चार राजनीतिक दलले संविधान लेखनमा देखिएका असहमतिका विषयलाई सहमतिमा रुपान्तरण गर्न थप छलफलको आवश्यकता अौँल्याएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ बसेको प्रमुख चार दलका शीर्ष नेतृत्वको बैठकले सो आवश्यकता औँल्याएको हो ।

संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको मस्यौदामा सहमति जुट्न बाँकी रहेका विषयमा बहस भएपनि पूर्ण निष्कर्षमा पुग्न थप छलफलको आवश्यकता देखिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरुले सहमति जुटाउन थप छलफलको आवश्यकता देखिएकाले आइतबार बिहान पुनः छलफल गर्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए ।

दलहरुबीच बहुलवाद, मत प्रतिशत सीमा (थ्रेसहोल्ड), विशेष स्वायत्त प्रदेश, धार्मिक स्वतन्त्रता, संविधान संशोधनलगायत २७ बुँदामा दलगत धारणा राख्ने काम भएपनि अन्तिम रुप दिन थप केही छलफलको आवश्यकता देखिएको उनीहरुको भनाइ थियो ।

नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले केही विषयमा थप छलफलको आवश्यकता देखिएकाले आइतबार पुनः बैठक बसेर अन्तिम रुप दिइने बताए ।

उनले सबै दलले आ–आफ्ना धारणा राखेर टुङ्गो लगाउने क्रममा रहेपनि मस्यौदा समितिको बैठक राख्नुपर्ने भएकाले स्थगित गरिएको जानकारी दिए ।

एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विषयवस्तुलाई टुङ्गो लगाउने सन्दर्भमा गाढा सहमति बनिसकेको, निर्धारित समयमा नै मस्यौदालाई निष्कर्षमा पुर्याउन आजको छलफललाई निरन्तरता दिँदै पुनः बैठक बस्ने बताए ।

दलहरुबीच भएको सोह्रबुँदे सहमतिका आधारमा मस्यौदा समितिले एकीकृत मस्यौदा तयार पारेको भएपनि केही बुँदामा असहमति कायम रहेको छ । दलहरुबीच आज बिहान पनि विवादित विषयमा सहमति जुटाउन बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री