शुक्रबार, मंसिर १२ २०७७ | Fri, November 27, 2020
नेपालको समय: ११:०३ | UK Time: 05:18

महानगरपालिकाद्वारा दुई हजार छ सय ३६ जोखिमयुक्त घर भत्काउन स्वीकृति

वीनेपाली
२०७२ असार ४ गते ९:४१
भूकम्पले देशभर धेरै संरचना क्षतिग्रस्त पारिदिएको छ ।

भूकम्पले देशभर धेरै संरचना क्षतिग्रस्त पारिदिएको छ ।

काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिकाले भूकम्पका कारण चर्किएका तथा जोखिम बढेका दुई हजार ६३६ घर भत्काउन घरधनीहरुलाई स्वीकृति प्रदान गरेको छ ।

भूकम्पका कारण भत्किएका तथा जोखिममा परेका घर भत्काउन र पुनःनिर्माणका लागि अहिले महानगरपालिकाको भवन विकास महाशाखाबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ ।

महाशाखाबाट स्वीकृति लिई घर भत्काउँदा छिमेकीको घरमा जोखिम न्यूनीकरण गर्न सहज हुने, पुनःनिर्माणका लागि प्राविधिक सहयोग तथा सरकारले उपलब्ध गराउने विभिन्न सुविधा प्राप्त गर्न सकिने महाशाखाका प्रमुख डा उत्तरकुमार रेग्मीले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्लामा हालसम्म ३०० भन्दा बढी घर भत्काइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ भने ललितपुरमा २०० र भक्तपुरमा हालसम्म ४७२ जोखिमयुक्त घर भत्काइसकिएको छ ।

महानगरपालिकाको कार्यान्वयन महाशाखाले महानगरभित्रका स्वीकृत नलिइ भत्काउन खोजिएका ९१ घर रोक्का गरिदिएको छ । त्यस्ता घर अधिकांश व्यक्तिका भए पनि व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका हुन् ।

वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका ठूला परकम्पबाट काठमाडौँमा सर्वसाधारणका ३६ हजार ९७३ घर र २७७ सरकारी भवन पूर्णरूपमा क्षति भएका छन् । भक्तपुरमा सर्वसाधारणका १८ हजार ९०० घर पूर्णरूपमा क्षति भएका छन् भने ललितपुरमा सर्वसाधारणका १७ हजार ४४४ घर र २१७ सरकारी भवन पूर्ण रूपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक