भूकम्पले ८० लाख प्रभावितः संयुक्त राष्ट्रसंघ

आफ्नो भत्केको घर अगाडि बसिरहेकी काठमाण्डौंकी एक महिला । तस्विरः अन्तर्राष्ट्रिय रेडक्रस

आफ्नो भत्केको घर अगाडि बसिरहेकी काठमाण्डौंकी एक महिला । तस्विरः अन्तर्राष्ट्रिय रेडक्रस

लन्डन । गत शनिवार गएको ७ दशमलव ८ रेक्टर स्केलको विध्वंशकारी महाभूकम्पका कारण ८० लाख मानिस प्रभावित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । उसको प्रारम्भिक प्रतिवेदनमा करिब १४ लाख मानिसलाई अहिले खानेकुराको अभाव छ ।

संयुक्त राष्ट्रसंघ कार्यालयले प्रारम्भिक अनुमानमा भनेको छ, ३९ जिल्ला बढि प्रभावित छन् भने २० लाख मानिस ११ वटा अति प्रभावित जिल्लाका छन् ।

नेपाली अधिकारीहरुको भनाइ उधृत गर्दै संयुक्त राष्ट्रसंघका प्रवक्ता फरहान ह्याकले ३९ जिल्ला बढि प्रभावित भएको जनाए । उनले संयुक्त राष्टसंघले १५ मिलियन डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेको जनाउंदै उक्त रकम अन्तर्राष्ट्रिय मानवीय सहायता समूहमार्फत बास, पानी, औषधि र अन्य राहतका लागि खर्च गरिने उल्लेख गरे ।

भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार तीनसय १० पुगेको छ भने करिब ८ हजार घाइते छन् । प्रधानमन्त्री सुशिल कोइरालाले रोयटर्ससंग मृत्यु हुनेको संख्या दश हजार पुग्ने अनुमान गरेका छन् ।

भूकम्पको केन्द्रविन्दु नजिक गोर्खा जिल्ला पुग्ने पहिलो अमेरिकी चिकित्सक रेबेका म्याकटिरले एसोसिएटेड प्रेससंग जिल्लाका करिब ९० प्रतिशत घर ध्वस्त भएका बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री