क्रिकेट संघको सिईओ रिक्त, घिमिरेको निरन्तरताबारे पदाधिकारीमा विवाद

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीबीच तीव्र विवाद भएपछि मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पद रिक्त भएको छ। सिइओ भावना घिमिरेको ६ महिने परीक्षणकाल सोमबार नै सकिएको थियो। तर, सोमबार नै बसेको क्यान बोर्ड बैठकले घिमिरलाई न हटाउने निर्णय गर्‍यो न त समय थप्ने निर्णय। योसँगै क्यान पुन: विवादमा पर्ने देखिएको छ। घिमिरे दक्षिण एशियाली देशहरुको क्रिकेट संघकी पहिलो महिला सिइओ हुन्।Bhawana_ghimire1

‘बैठकमा आवश्यक कोरम पनि पुगेको थियो। छलफलमात्र भयो तर निर्णय हुन सकेन’, क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यलाई उद्धृत गर्दे डिजिटल क्रिकेट डट कमले जनाएको छ।

उनले आगामी बैठकमा यसबारे निर्णय हुने बताए। त्यसो भए बुधबारदेखि क्यानमा सिइओ पद रिक्त हुने भयो हैन? भन्ने जिज्ञासामा कर्माचार्यले भने, ‘अर्को निर्णय नहुँदासम्म त्यस्तै हुन्छ होला।’

स्रोतका अनुसार बोर्ड बैठकमा केही पदाधिकारीले आइसिसीले समेत प्रशंसा गरेको भन्दै तत्काल भावनालाई पदबाट हटाउन नहुने अडान लिएका थिए।

भर्खरैमात्र बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेट फिलिप ह्युजको श्रद्धाञ्जलि खेलमा सहभागी हुन आएका आइसिसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टिम एन्डर्सन, अस्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष वेल्ली एडवार्डस्ले घिमिरेको प्रशंसा गरेका थिए।

आइसिसी र एसिसीले कडा चेतावनीसहित सहयोग पनि रोक्का गरेपछि क्यानले ६ महिनाअघि खुला प्रतिस्पर्धामार्फत सिइओका रूपमा घिमिरेलाई नियुक्त गरेको थियो।

तर, कसलाई नियुक्त गर्ने भन्ने विषयमा बोर्ड पदाधिकारीबीच नै विवाद भएपछि अन्तर्वार्ता भएको धेरै सातासम्म निर्णय हुन सकेको थिएन।

क्यानमा सिइओको कार्यकाल कति हुने भन्नेमा विधानत: कुनै व्यवस्था छैन। ‘क्यानको आगामी साधारणसभामा यसबारे निर्णय हुनेछ’, कार्यवाहक महासचिव कर्माचार्यले भने।

बेलायतको वेल्स विश्वविद्यालयबाट एमबीए गरेकी घिमिरेले बेलायतमा हुँदा पञ्जाब नेसनल बैंकमा काम गरेकी थिइन्। उनीसँग बहराइको खेलकुद व्यवस्थापन कमिटीमा काम गरेको अनुभव पनि छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री