रुंदै बिदा भए बिनोद दास

काठमाडौं। एक विकेट र ४१ रनको पारि खेले पनि विनोद दासले अस्ट्रेलियन खेलाडी फिलिप ह्युजको स्मृतिमा आयोजित ३१ ओभर ३ बलको खेलमा आफ्नो टिम निलोलाई जिताउन सकेनन्। तर शनिबारबाट आफ्नो १७ वर्षे लामो खेल जीवनबाट सन्न्यास लिएका दासले देशको क्रिकेटलाई धेरै पटक जिताएका छन्। पछिल्लो समयमा नेपालले क्रिकेटमा जे जति प्रगति गरेको छ, त्यसमा दास योगदान महत्वपूर्ण छ। १४ वर्षको उमेरमा अन्डर १९ हुँदै टिममा परेका दासले ७ वर्ष राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए।

दर्शकलाई अभिवादन गर्दै फर्किदै दास। तस्विर: पहिलो पोस्ट

दर्शकलाई अभिवादन गर्दै फर्किदै दास। तस्विर: पहिलो पोस्ट

दायाँ हाते मिडियम फास्ट बलर दास चोटको कारण लामो समयसम्म मैदान बाहिरै रहे। तर क्रिकेटबाट आफूलाई कहिले पनि टाढा राखेनन्। सधै भेट्नेहरुलाई भन्ने गरेका छन- मैले जानेको एक मात्रै विषय क्रिकेट हो। तिनै क्रिकेट मात्रै जान्ने दासको शनिबार भव्य बिदाई भएको छ।

पछिल्लो समय नेपाली टोलीका सहायक प्रशिक्षक बनेका दासको अन्तिम खेल हेर्न कीर्तिपुरस्थित त्रिबी खेल मैदानमा १५ हजार दर्शक उपस्थित भएका थिए।

अन्तिम खेलमा उनी निकै भावुक देखिएका थिए। उनको खेल हेर्न उनको पिता बाराको कलैयाबाट मदन राजधानी आएका थिए। उनीसँग बिनोदकी पत्नि करुणा, छोरी विदिसा र छोरा शनि पनि कीर्तिपुरस्थित खेल मैदान पुगेका थिए।

४१ रनको पारि खेलर मैदानबाट पबेलियन फर्किदै गर्दा दर्शकले उठेर दासको सम्मानमा ताली बजाएका थिए। ब्याटले अभिवादन गर्दै बाहिर निस्केका कप्तान दासका पिता मदन बनियाँ निकै भावुक देखिन्थे। मदन छोराले खेलमा भन्दा पनि पढाइमा राम्रो गरोस् भन्ने चाहन्थे । उनको आँखा मात्रै रसाएन, छोरालाई देखाइएको सम्मानलाई देखेर निकै बेरसम्म रोए। दासले मैदानलाई चुम्दै बाहिरिएका थिए।

सन् २००४ देखि २०१० सम्म सात वर्ष नेपाली राष्ट्रिय टोलीको नेतृत्व दासले गरेका थिए। त्यसपछि सो जिम्मेबारी हालका कप्तान पारस खड्काले सम्हाल्दै आएका छन्। नेपालका बलिङ अलराउन्डर दास सन् २००० मा एसिसी एलाइट ट्रफीबाट राष्ट्रिय टिममा परेका थिए।

दासले एसिसी लेभल थ्री कोचिङ कोर्ष गरेका छन्। यस्तो कोर्ष गर्ने नेपालमा दास बाहेक जगत टमाटा मात्रै छन्। धेरै वटा प्रतियोगितामा सहभागी भएपनि दास अझै २००२ मा न्युजिल्यान्डमा उनको नेतृत्वमा भएको आइसिसी-१९ खेल सम्झन्छन्। सो प्रतियोगितामा नेपाल प्लेट च्याम्पियन भएको थियो।

बाराको कलैयामा सन् १९८३ अप्रिल २६ का दिन जन्मेका दासले सन् १९९७ मा मलेसियामा भएको एसिसी यु-१९ ट्रफीमा खेलेका थिए। उनी सन् २०१२ युएइमा भएको एसिसी एलिट ट्रफीमा अन्तिम पटक सहभागी भएका थिए।

त्यसपछि राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्षेत्र २ बाट प्रतिनिधित्व गर्ने दास शनिबार ह्युजको स्मृतिमा आयोजित खेलमा देखिएका हुन् । अस्ट्रेलियालीमूलका चार तथा बाँकी नेपाली खेलाडीको समूहलाई निलो र रातो गरी दुई टोलीमा विभाजित गरेर ह्युजको सम्मानमा कीर्तिपुरमा ६३ ओभरको खेल गराइएको थियो । ६३ रन बनाइरहेका बेला बलले लागेर घाइते भएका ह्युज त्यसपछि कहिल्यै मैदानमा फर्कन सकेनन् । त्यसैले कीर्तिपुरमा खेलाइएको खेलमा दुवै टोलीले ३१.३ ओभरका दरले खेलेका थिए । जसमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोदले निलो टोलीको कप्तानी गरेका थिए भने ह्युजको टोली न्यु साउथवेल्सका कप्तान रायन कार्टरको नेतृत्वमा रातो टोली मैदान उत्रिएको थियो ।

टस जितेपछि बलिङ अलराउन्डर विनोदले फिल्डिङ रोजे । संयोग कस्तो भयो भने रातो टोलीले पूरा ३१.३ ओभर खेल्दै १ सय ६३ रन बनायो । फिल्डिङ टोलीको नेतृत्व गरिरहेका विनोदले इनिङ ब्रेकका लागि मैदान छाड्ने क्रममा कीर्तिपुरमा उपस्थित करिब १५ हजार दर्शकसँग हात जोडेर बिदा मागे । मैदान फन्को मार्दै बिदा मागिरहँदा उनको सम्मानमा सबै दर्शक उठेर ताली बजाइरहेका थिए । जसले विनोदलाई थप भावुक बनायो । विनोदले आँसु थाम्न सकेनन् । लगातार आँसु झार्दै दर्शकलाई दस औंला जोडिरहे । अनि अधिकांश दर्शकले पनि आँसु बगाउँदै विनोदलाई बिदा गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री