साहित्यिक गोष्ठी गर्दै युकेका नेपालीले मनाए ‘अर्थ आवर’

Earth Hours
लण्डन । २८ मार्च विश्व ‘अर्थ आवर’ युकेबासी नेपालीहरुले एक साहित्यिक गोष्ठी गरी मनाएका छन् ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै वातावरणविद् विजय हितानले अर्थ आवरको इतिहास तथा औचित्यको बारेमा जानकारी गराए । नयाँ ठाँउ र नयाँ परिवेशमा युकेमा रहेका नेपालीहरुले अर्थ आवर मनाउनुको महत्व ठूलो रहेको कुरा पूर्व काउन्सिलर धन गुरुङले बताए भने अर्थ आवरबारे सर्वसाधारण सबैलाई जानकारी हुन जरुरी रहेको धारणा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय अध्यक्ष काजीमान याक्सोले राखे ।
गोष्ठीमा करिष्मा घम, सिता पुर्जा पुन,  काङमाङ नरेश, देवेन्द्र खेरेस, नरेश नाति, अप्जसे कान्छा, महा राई, विनोद राई लगायतले वातावरण सम्बन्धी आआफ्नो सिर्जना वाचन गरेका थिए भने केही स्रष्टाहरुले कार्यक्रमको लागि पठाएका रचनाहरुलाई पनि वाचन गरिएको थियो ।
प्रत्येक वर्षको मार्च महिनाको अन्तिम शनिवारलाई विभिन्न कार्यक्रम गरि विश्वब्यापी अर्थआवर मनाउने प्रचलन विश्व वन्यजन्तु संरक्षण कोषको तत्वाधानमा सन् २००७ देखि शुरु भएको हो । यसवर्ष १६२ मुलुक वातावरण बचाउने यस अभियानमा सहभागी छन् । अर्थ आवरको साँझ आआफ्नो स्थानीय समयअनुसार साढे ८ बजेदेखि साढे ९ बजे सम्म एकघण्टा घर, कार्यालय र रोडका बत्तिहरु निभाउने गरिन्छ ।
विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा सम्पन्न कार्यक्रममा वातावरणविद् हितानलाई महासङ्घको संरक्षक सदस्यता पनि प्रदान गरिएको थियो ।
रोशन मेवाहाँङले संचालन गरेको कार्यक्रमको सभापतित्व महासङ्घ केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले गरेका थिए ।
स्मरण रहोस, वातावरणविद् हितानको सक्रियतामा युकेका नेपालीहरुले सन् २००९ देखि नियमित रुपमा अर्थ आवर मनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री