प्रज्वल पराजुलीको अंग्रेजी पुस्तक ‘द गोर्खाज डटर’ अब छिट्टै नेपालीमा ‘गोर्खाकी छोरी’ को रुपमा पाठक समक्ष प्रस्तुत हुने भएको छ । सन् २०१३ मा बेलायतको क्वेयरकस प्रकाशनबाट अंग्रेजीमा छापिएपछि विभिन्न मुलुकमा चर्चा कमाउन सफल यस पुस्तकलाई पब्लिकेशन नेपालयले नेपाली भाषामा प्रस्तुत गर्न लागेको हो ।
भुटान, सिक्किम, दार्जिलिङ, न्यूयोर्क र काठमाडौंको भावभूमिमा घुमेको यसका आठवटा बेग्लाबेग्लै कथाले नेपालीभाषी समाजका समकालीन भोगाइहरु वर्णन गर्छन् । भुटानबाट धपाइएकी शरणार्थी चेली हुन् वा लाहुरे पिताको ब्यथा बुझ्ने प्रयत्न गरिरहेकी नावालिग छोरी, डिभी परेर अमेरिका पुगेकी युवतीका समस्या हुन् वा काठमाडौंमा बस्दै आएका नन्द-भाउजुको मतभेद ।यसले हाम्रो समाजका विभिन्न रुपलाई मिहिन तरिकाले केलाएको छ ।
अक्सफोर्ड विश्वविद्यालय पढेका र अंग्रेजी भाषामा कलम चलाउने प्रज्वलको कथा भन्ने शैली मौलिक छ । उनी पात्रहरुको चित्रण स्वादलाग्दो पाराले गर्छन् । यो पहिलो पुस्तककै आधारमा पश्चिमा विश्लेषकहरुले उनलाई दक्षिण एशियाका नयाँ साहित्यिक ताराको उपाधि दिइसकेका छन् । थुप्रै मुलुकका चर्चित अखवारहरुमा यसका समीक्षा प्रकाशित छन् भने लेखक स्वयं पनि अहिलेसम्मै बेग्लाबेग्लै देसमा आयोजना हुने प्रवर्धनात्मक कार्यक्रममै प्रायः ब्यस्त रहन्छन् ।
बेलायतबाहेक यो पुस्तक हालसम्म आयरल्याण्ड, अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, केन्या, अष्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर, मलेशिया, हंगकंग, भारतीय उपमहाद्वीप र फिलिपिन्सबाट समेत प्रकाशित भइसकेको छ । ३० हजार पाउण्ड (करिब ५० लाख रुपैयाँ) राशीको डिलन थोमस पुरस्कारको निम्ति पनि यो पुस्तक अन्तिम छनौट सूचीमा परेको थियो । भारतबाट यसको प्रकाशन गर्ने बेलामा प्रकाशक ‘पेन्गुइन’ ले यसलाई अन्तर्राष्ट्रिय बेस्ट सेलरको उपमा दिएको थियो ।
‘मेरो पहिलो कृति गोर्खाज डटरलाई ठूलो पाठक घेराले मनपराइदियो,’ लेखक पराजुली भन्छन्, ‘अब गोर्खाकी छोरी’का रुपमा यि कथाहरुले आफ्नै सेरोफेरोका पाठकसम्म पुग्ने मौका पाएकोमा खुशी छु ।’ प्रज्वल गान्तोकको नेपालीभाषी परिवारमा जन्मेका हुन् ।
‘हाम्रो भावभूमिमा आधारित रहेर विदेसबाट प्रकाशन भइरहेका उत्कृष्ठ कृतिलाई नेपाली भाषाका पाठकसम्म पुर्याउन प्रयत्नरत छौं,’ पब्लिकेसन नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसले हाम्रै विषयवस्तु प्रति अन्तर्राष्ट्रिय चासोको स्तरमा पुगेर पढ्न सघाउने विश्वास लिएको छु ।’
पब्लिकेशन नेपालयले यसअघि फ्रान्सलगायत थुप्रै मुलुकबाट प्रकाशित आनी छोइङ डोल्माको जीवनी ‘सिंगिङ फर फ्रिडम’ लाई नेपालबाट छाप्नुको साथै यसको अनुवादका रुपमा ‘फूलको आँखामा’ समेत प्रकाशन गरिसकेको छ । ‘गोर्खाकी छोरी’ लाई आगामी साता पाठक समक्ष पुर्याउने लक्ष राखिएको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’