शो एसियालाई उत्कृष्ट बफेट रेष्टुरेन्टको उपाधि

Asian Curry Awards- 2014- 4

क्याम्बर्ली । शो एसिया बफेट रेष्टुरेन्ट क्याम्बर्लीले दक्षिण पूर्वी क्षेत्रको उत्कृष्ट बफेट रेष्टुरेन्टको उपाधि हात पार्न सफल भएको छ । एसियन करी अवार्ड २०१४ ले बेलायतभरबाट नोमिनेशन गरेका सयौं रेष्टुरेन्टमध्ये शो एसियालाई सन् २०१४ को दक्षिण पूर्वी क्षेत्रको उत्कृष्ट बफेट रेष्टुरेन्ट उपाधि प्रदान गरिएको हो । १६ नोभेम्बर आइतबार मेफेयर पार्कलेनस्थित हिल्टन होटेलमा आयोजित एक भव्य समारोहबीच सो अवार्ड वितरण गरिएको थियो ।
प्रधानमन्त्री डेभिड क्यामरुनको भिडियो शुभकामनाबाट शुरु भएको उक्त कार्यक्रममा उपप्रधानमन्त्री निक क्लेग, सांसद तथा विभिन्न दूतावासका प्रतिनिधिहरुको बाक्लो उपस्थितिले कार्यक्रमको गरिमा प्रष्ट्याएको थियो । उपप्रधानमन्त्री क्लेगले मन्तव्यका क्रममा बेलायतको आर्थिक उन्नतिमा एसियन रेष्टुरेन्टहरुको योगदानको उच्च प्रशंसा गरे । उनले रेष्टुरेन्ट व्यवसायीलाई आवश्यक दक्ष कामदारहरुबारे अध्यागमन नियम थप प्रभावकारी बनाउने बारे गृहकार्य गरिने बताउंदै पुरष्कृत रेष्टुरेन्ट व्यवसायीहरुलाई बधाई तथा शुभकामना दिए ।
रेष्टुरेन्ट निर्देशकद्धय ज्ञान केसी तथा विक्रम जोशीले पुरष्कारको असली हकदार शो एसियाका ग्राहक, नोमिनेशन गरिदिने ग्राहकवर्ग तथा सम्पूर्ण कर्मचारी 
रहेको बताए । डेढ दशक लामो अनुभव संगालेका हेड सेफ ढुण्डी सापकोटाले पुरष्कारले मिहिनेतको कदर भएको उल्लेख गर्दै ग्राहकलाई थप स्वादिलो तथा नयां परिकार बनाउने जिम्मेवारी थपिएको बताए ।

एसियन मुलका बङ्गलादेशी, भारतीय, पाकिस्तानी, चाइनिज, जापानीज, इण्डोनेसियन, फिलिपिनो लगायतका प्रतिष्पर्धीहरुलाई पछि पार्दै शो एशियाले अवार्ड पाएपछि दंग रेष्टुरेन्टका दैनिक सञ्चालक रमेश सराङ्गकाटीले पुरष्कार शो एसिया परिवारको मात्र नभई हरेक नेपालीको रहेको बताए ।
बेलायतको फुड स्टाण्डर्ड एजेन्सीबाट फुड हाइजिन रेटिङ्गमा ५ स्टार प्राप्त शो एसियाले हरेक दिन ६० भन्दा बढि परिकारलाई निश्चित मूल्यमा ग्राहकहरुलाई पस्कने र प्रत्येक परिकारका लागि उच्चस्तरको ताजा सामाग्री प्रयोग गर्ने गर्छ । सराङ्गकोटीले शो एसिया बफेट रेष्टुरेन्ट भएकाले परिकार स्वच्छ हुनुका साथै गुणस्तरीय तथा स्वादिलो हुने दावी गरे । ग्राहक सेवालाई उच्च प्राथमिकतामा राख्ने हुदा शो एशिया रेष्टुरेन्टलाई “बुटिक बफेट” भन्न रुचाउंछन् उनी ।

यस वर्षको अवार्ड कार्यक्रमको प्रायोजक बुकर होलसेल थियो भने एसियन क्याटरिङ्ग फेडरेशनले विगत पांच वर्षदेखि हरेक वर्ष उत्कृष्ट रेष्टुरेन्टहरुलाई एसियन करी अवार्डको आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री