‘अर्को कार्यकाल उठदिनँ’ ; कमल गुरुङ, अध्यक्ष तमुधिं युके

कास्कीमा जन्मेका, चितवनमा हुर्केका कमल गुरुङ अहिले युकेको शक्तिशाली नेपाली संस्थामध्ये एक तमुधिं युकेको अध्यक्ष छन् । तमुधिंले युकेमा सालिन्दा गोर्खा कप र नेपाली मेलाजस्तो बृहत कार्यक्रम आयोजना गर्छ । करिब ३० वर्षदेखि युकेमा बसोबासरत गुरुङले यसअघि तमुधिं युकेको उपाध्यक्ष र सल्लाहकार रहेर काम गरेका थिए । सेवा गर्ने तीव्र इच्छाका कारण तमुधिं लागेको बताउने उनी आफैंमा भने व्यवसायी हुन् । प्रस्तुत छ आगामी डिसेम्बरमा आफ्नो दुईवर्षे कार्यकाल बिसाउन लागेका गुरुङसित गरिएको कुराकानी :

Kamal Gurung 2

तपाईको दुईवर्षे कार्यकालको महत्वपूर्ण उपलब्धिहरु के के हुन् ?
तमुधिंको वेभसाइटप्रति म सन्तुष्ट थिइनँ । अहिलेको मिडियाको युगमा पनि हाम्रो वेभसाइट त्यसअनुसार चलेको थिएन । यसलाई दैनिक अपडेट हुने बनाएको छु । दोस्रो, तमुधिंको कम्युनिटी भवन परिसरमा कार पार्कमा समस्या थियो । त्यसलाई ब्यवस्थित पार्नु सबैभन्दा ठूलो चुनौती थियो । किनभने त्यो सानोतिनो पैसाले नहुने अनि संस्थासित पैसा पनि थिएन । मैले अध्यक्ष सम्हालेको पाँच/छ महिनामा संस्थामा भएको पैसा सकियो । गोर्खा कप, नेपाली मेला भन्नु मात्र पैसा कमाइ हुँदैन । अलिअलि कमाइ हुने ल्होसारमा हो । त्यो पनि मिडियामा दिँदा ठिक्क । बाँकी पैसा आउने बाटो लाइफ मेम्बरबाट हो त्यसमा मैले फोकस गरेँ । अहिले कार पार्कलाई ब्यवस्थित पारेको छु । साथै कम्युनिटी भवनमा नयाा स्टेज र नयाँ कुर्सीहरु हालिएको छ । तेस्रो, युकेभरि रहेका सबै शाखाहरुलाई राम्रो सम्बन्ध निर्माण गर्ने क्रममा म सफल भएको छु । केन्टमा अझै भनेजस्तो हुन सकेको छैन । तैपनि मेरो घोषणापत्र अनुसारका सबै कार्यक्रम पूरा भएका छन् र म सन्तुष्ट पनि छु ।
तमुधिं भवन सञ्चालन गर्न हम्मेहम्मे परिरहेको सुन्नमा आउँछ । खासमा वास्तविकता के हो ?
खास अहिले त्यस्तो छैन । मोर्गेज पनि ८०/९० हजार पाउण्ड मात्र हो । त्यसलाई सबै चुक्ता गर्ने हो कि भनेर परामर्श पनि नभएको होइन । त्यसलाई राफसाफ गर्नका लागि ३०/४० हजार पाउण्ड बोलिसकिएको पनि थियो । तर फेरि त्यो चुक्ता गरेर पनि हामी कहाँ नै जाने हो र, मान्छेलाई कति दुःख दिने भन्ने सोच आयो । त्यसलाई लामो समयावधिमा तिर्ने, सस्तो ब्याजदरमा राख्ने बारेमा बैंकसित धेरैपटक छलफल भयो र अहिले मासिक खर्च ६/७ सय पाउण्ड मात्र तिरे पुग्छ । अहिले युकेमा नेपालीहरुको गतिविधि, विहा, पार्टी यति बढेको छ कि त्यो भवनलाई बहालमा लाएर मात्र पनि सो खर्च ब्यहोर्न सकिन्छ ।
गोर्खा कप र नेपाली मेलाबाहेक तमु धिंले अरु ठूला कार्यक्रम दिन सकेन भन्ने पनि गुनासो छ नि ?
तमुधिं एक सक्रिय संस्था भएकाले अपेक्षा धेरै हुनसक्छन । तर भन्नमा र यथार्थमा धेरै फरक हुन्छ । हामीलाई अहिले गोर्खा कपको तयारीमा ४/५ महिना लाग्छ । अध्यक्ष, महासचिव र खेलकुद सचिवले पूरा समय दिनुपर्छ । कहिले काउन्सिलसित, कहिले प्रहरीसित, कहिले सैनिक अधिकारीहरुसित, कहिले स्वास्थ्य सुरक्षा अधिकारीहरुसित बैठक गर्नुपर्छ । गोर्खा कप सक्यो फेरि नेपाली मेलाका लागि कम्तीमा तीन महिना समय लाग्छ । बाँकी तमुधिंको आफ्नै ल्होसार, वार्षिक साधारणसभा, च्यारिटी डिनर लगायतका कार्यक्रम पनि भएकोले अरु कार्यक्रम कम्युनिटीले धान्न पनि सक्दैन । बरु यिनै कार्यक्रमहरुलाई बृहत बनाएर लैजानुपर्छ ।

नेपाली मेलामा नेपालबाट मान्छे मगाएर युके अनि युरोपतिर लुकाइन्छ भन्ने पनि सुनिन्छ । यथार्थ के हो ?
भन्न त मान्छेहरुले जे पनि भन्छ तर तथ्यमा हामी जानुपर्छ । नेपाली मेलामा हामीले नेपालबाट कसैलाई बोलाउँदैनौँ । युकेमै भएका कला सास्कृतिलाई प्रयोग गर्छौँ । त्यसकारण यो आरोपमा कुनै सत्यता छैन ।

Kamal Gurung 3

तमुधिं र अरु यस्तै संस्थाहरुले गर्ने कार्यक्रममा युवाहरुलाई समेट्ने कुनै कार्यक्रम देखिंदैन । किन होला ?
पहिले नेपाली मेला रिचमण्डमा हुँदा हामीले युथहरुका लागि अलग्गै मञ्च दिएका थियौँ र धेरै युवाहरुको सहभागिता पनि भएको थियो । पछि त्यो मैदान हामीले पाएनौँ र अन्यत्र खोज्नुपर्‍यो । अहिले केम्प्टन पार्कको रेसकोर्समा आएपछि पनि हामीले युवाहरुलाई अलग्गै ठाउँ दिने हो कि भन्ने छलफल नगरेका होइनौँ तर मञ्च एउटै बनाउने त्यसैमा हामीले पनि युवाहरुको हेर्ने र युवाहरुले पनि अरुको हेरेर सिक्ने भन्ने धारणा आयो । त्यसबाट युवाहरुको सहभागिता अलि कम भएको छ । भविष्यमा युवाहरुको सहभागिता बढाउने उपाय खोजिनुपर्छ ।

तमुहरु त एकै हुन् तर युकेमा तमु पेल्हु, तमु समाज, तमु धिं गरेर तीन वटा संस्था किन चाहिएको होला ?
तमुहरुको तीन वटा संस्था किन भन्ने प्रश्न गर्नुअघि वास्तविकता थाहा हुनुपर्दछ । तमुधि युके १९९८ मा शुरु भएर सन् २००० मा औपचारिक रुपमा स्थापना भयो । तमु पेल्हु पछि आयो । त्यतिबेला हामीले तमुधिं खोलिसकियो आउनुहोस् यसमै समेटिनुहोस् भन्यौँ । तर उहाँहरुले गुरुङहरुको आदिमकालको पच्यु घ्याब्रे मान्ने परम्परालाई जोगाउन आफूहरु गठन भएको भन्नुभयो । तमुधिंमा त धार्मिक हिसाबले सबै किसिमको मानिसहरु छन् । ठीकै छ तपाईहरु धार्मिक संस्थाका रुपमा बस्नुहोस् भन्ने हामी सामाजिक संस्थाका रुपमा अघि बढ्छौँ भन्यौं । त्यसो भनेपछि उहाँहरुले शुरुमा त मन अलि सानो बनाउनुभो तर अहिले हामीबीच राम्रो सम्बन्ध छ ।
रहृयो तमु समाजको कुरा । लण्डनमा भएका दुई/चारजना मानिसहरुले नेपाली मेलामा पालो पछाडि दिइयो, पक्षपात गरियो भन्ने जस्ता केटाकेटीजस्तो कुरा गरेर तमु समाज खोल्नुभयो । हामीले संस्था खोल्ने प्रजातान्त्रिक हक हो तर हामी फुटेर जाँदा हामीलाई नै घाटा हुन्छ जुट्न सके हामीलाई नै फाइदा हुन्छ भन्यौं । त्यसलाई हामीले त्यति ठूलो चासो दिएका छैनौं ।

तपाई सामाजिक संस्था तमुधिंको अध्यक्ष, अनि पत्रपत्रिकामा आएअनुसार हालै संघीय समाजवादी पार्टीको युकेले तपाईलाई महत्वपूर्ण जिम्मेवारी दिएछ । त्यसरी राजनीतिमा भाग लिन तमुधिंको विधानले दिन्छ ?
तमुधिं गैरराजनीतिक संस्था हो । जातीय संस्था नै हो । तर यसले आफ्नो कलासंस्कृति, पहिचान जोगाउने कुरामा चुप लागेर बस्दैन । आफ्नो भाषा, संस्कृति, मौलिकता जोगाउनुपर्छ भनेर संघीय समाजवादीले भन्छ भने हामीले समर्थन दिनुपर्छ । फेरि संघीय समाजवादी भनेको ब्राम्हण क्षेत्रीको विरुद्ध खोलिएको पार्टी होइन । यदि कसैले त्यसरी बुझ्छ र भन्छ भने त्यो गलत हो । आफ्नो भाषा संस्कृति, परम्परा, पहिचान बचाउन, आफ्नो ठाउँको विकास गर्न सम्बन्धित क्षेत्रका बासिन्दालाई नै जिम्मा दिनुपर्छ भन्ने संघीय समाजवादीको कुरा मलाई वैज्ञानिक लाग्यो । यो हाम्रो देशको आवश्यकता पनि हो । अबको जमानामा सिंहदरबारले मात्र विकासको ठेक्का लिएर देश उँभो लाग्न सक्दैन ।

मेरो प्रश्न थियो कि, तमुधिंको अध्यक्ष हुँदाहुँदै राजनीतिक पार्टीको जिम्मेवारी लिन विधानले दिन्छ कि दिंदैन ?
तमुधिंमा लाग्नेहरु धेरैवटा राजनीतिक पार्टीमा लागेका छन् । तर तमुधिंको फोरमभित्र राजनीति गर्न पाइँदैन । फोरमबाहिर आफ्नो आस्था विचार राख्न मज्जाले पाइन्छ । तर पहिचान, संस्कार, संस्कृति, राज्य, देश जोगाउने कुरामा तमुधिंको विधानले रोक्दैन । जहाँसम्म मेरो सवाल छ मलाई पोहोर साल नै संघीय समाजवादी पार्टीको युकेमा शाखा गठन हुँदा पदमा बस्नुपर्छ भनेर जोडबल गरिएको थियो तर मैले इन्कार गरेँ । यसपटक मेरो कार्यकाल पनि सकिन लागेको र हामीलाई सल्लाह सुझाव दिनुपर्यो भनेपछि म बसेको हुँ । कार्यकाल नसकिएसम्म म सक्रिय पनि हुँदिनँ ।

Kamal Gurung 1

तमुधिंको अबको चुनौती के देख्नुहुन्छ ?
तमुधिंमा राम्रा युवाहरु आइरहेका छन् । युवाहरुलाई प्राथमिकता पनि दिइरहेका छौँ । त्यसहिसाबले यसको भविष्य राम्रो छ । गोर्खा कप, नेपाली मेला जस्ता कार्यक्रमलाई सबै नेपालीहरुले आफ्नो महसुस गर्ने बनाउनु नै अहिलेको चुनौती हो ।
तमु धिंको साधारणसभा आइरहेको छ । अब अर्को कार्यकाल अध्यक्ष बन्नुहुन्छ कि हुन्न ?
मेरो घोषणा पत्रमा उल्लिखित सबै कार्यक्रमहरु पूरा भइसके । नेतृत्व गर्ने जनशक्तिको अभाव भएको भए म दोहोरिन्थेँ पनि होला । अहिले दुईजना उपाध्यक्षहरुले रुचि देखाइरहनुभएको छ । उहाँहरुले इच्छा गर्दागर्दै म पनि थपिने हो भने म पदको लोभी देखिन्छु । बरु म उहाँहरुलाई सहयोग गर्न तयार छु ।

तपाई त व्यवसायी पनि । तमुधिंमा लागेर के गुमाउनु भो के पाउनु भो ?
समय गुमाएँ । परिवारका लागि कम समय दिनु पर्यो । कमाइको कुरा गर्दा समाजलाई केही दिऊँ भनेर लागेको थिएँ । सो अनुसार केही गर्न सकेँ । गुमाउनुभन्दा धेरै कमाएँ । त्यसैमा सन्तुष्ट छु ।
तस्वीरहरु कमल गुरुङको फेसबुकबाट लिइएको हो सबै तस्वीर मिलन गुरुङले खिचेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री