पव व्यवसायमा जोखिम मोल्दै रायमाझी

20141029_182231
आम मानिस जस्तै उनमा पनि एउटा सपना थियो लन्डन घुम्ने । भाग्य बलियै रहेछ, १८ वर्ष अघि (सन् १९९६) भिजिट भिसा लिएर लन्डन टेके बलबहादुर रायमाझी । त्यतिबेला युवा जोश, लन्डन भित्रिसकेपछि घुमेर मात्र फर्कन मनले मानेन र नयां अवसरको खोजीमा यतै भौंतारिए उनी । अहिले जस्तो भिजिट भिसामा आएर अरु स्टाटस फेर्न नमिल्ने नियम थिएन । यो खुकुलो अध्यागमन नियम सदुपयोग गर्दै रायमाझी अनेक प्रयास गरेर बेलायतमै अल्झिए ।

प्रवासको जिन्दगी । शुरु शुरु ताका संघर्ष र अभाव उनलाई पनि आइलाग्यो । वेयरहाउस, रेष्टुरेन्टतिरको काम । हप्की दप्कीको परवाह थिएन । तर, हरेस 
खाएनन्, सानातिना हण्डरले विचलित पनि भएनन् । बरु सन् २००० मा सपरिवार बेलायत आएपछि अरु गतिलो जागिरको खोजीमा दौडिए उनी । केही वर्ष जागिर गरेपछि रायमाझीलाई अर्काको कामभन्दा आफैं सानोतिनो केही व्यवसाय 
गर्ने भुत सवार भयो । काठमाण्डौंमा कुरिअर कम्पनी चलाइसकेकाले पनि उनी बेलायतमा केही व्यवसाय गर्न सकिन्छ भन्नेमा विश्वस्त थिए । जीवनसंगिनी गीता रायमाझीले समेत यस योजनामा हौसला दिइन् र केन्टमा एउटा होटल किने । सन् २००६ मा किनेको उक्त होटल ‘स्वान एण्ड पव’ समुद्री किनारमा अवस्थित भएकाले समरमा खुवै व्यस्त हुन्छ रे ।

व्यवसायप्रतिको लगाव अनि इमान्दारिता रायमाझी दम्पत्तिले कहिल्यै भुलेनन् । कडा परिश्रमकै फल, केही दिन लन्डन घुम्न आएको लमजुंगे ठिटो अहिले बेलायतको नेपाली समुदायमा सफल व्यवसायीको पंक्तिमा आसिन छ । फेमिली रन होटल व्यवसायको सफलतापछि रायमाझीलाई कहिल्यै पछाडि फर्कनु परेन । होटल चल्दै गर्दा गत मार्च २५ बाट पिसी वोर्ल्ड नर्थहोल्ट नेर ‘सिभिल इन्जिनियर’ पव किनेका छन् 
रायमाझीले । ब्लु अर्किड फाइन डाइन रेष्टुरेन्ट र कार्यक्रम गर्न हल पनि साथै छ । सन् १९५६ मा इन्जिनियरहरुले बनाएकाले उक्त पवको नाम नै सिभिल इन्जिनियर नामांकन भएको रहेछ ।

विरलै छ, बेलायतमा नेपालीले पव व्यवसायतिर हात हालेको । यसलाई अलिक  ‘रिस्की विजनेश’ ठान्नेहरु पनि अधिक छन् । पछिल्ला केही वर्ष यता बेलायतमा धेरै पव बन्द भएका खवर आए भने अस्तित्वमा रहेकाको पनि स्थिति सन्तोषप्रद छैन् भनिन्छ । यस्तो संकटका बेला रायमाझीले पव चलाउन जोखिम लिएकै हुन् ? भन्छन्, ‘चुनौती नभएको होइन तर लामो अनुभव अनि खाना र ड्रिंक्स् दुवै भएकाले सर्भाइभ हुन्छ भन्ने विश्वासले अघि बढेको छु ।’

लन्डनमा रेष्टुरेन्ट र पव संख्या असंख्य छ । आखिर ति सबै छाडेर उनकै पवमा किन जाने ग्राहक ? रायमाझी स्पष्टिकरण दिंदै भन्छन्,
‘भारत र खाडीतिर लामो अनुभव संगालिसकेका सेफले बनाउने स्वादिष्ट खाना, न्यायो आतिथ्यता (हस्पिटालिटी), चाइनिज, नेपाली र इण्डियन परिकारका सयौं आइटम र सय जनासम्मलाई कार्यक्रम गर्न हल उपलव्ध भएकाले पनि सिभिल इञ्जिनियर पव धेरैको रोजाइ बन्दैछ ।’

सप्ताहन्तमा फुटबल हेर्न बिग स्क्रिन टिभी, पर्याप्त पेय पदार्थ र लाइभ म्यूजिक पव चल्ने मुख्य आधार देख्छन् रायमाझी । यी सबै आफ्नो पवमा भएकाले पनि रायमाझीले असफलतातिर कहिल्यै सोचेनन् । ‘बारमा काम गर्न ब्रिटिस कामदार नै राखेको छु । फाइन डाइन रेष्टुरेन्टले एसियन ग्राहकको पनि आगमन बढ्न थालेकाले व्यवसायबाट थप उत्साहित छु’ उनले भने ।

अनुभव, आर्थिक सक्षमता, सम्वन्धित विषयमा ज्ञान, लगाव र पूरा समय दिन सकेमात्र पव वा रेष्टुरेन्ट व्यवसाय सफल हुने उनको बुझाइ छ ।
तर, यस व्यवसायका आफ्नै अप्ठेरा महशुस गरेका छन् उनले । आइएलआर मिलेपछि सेफ जति सबैले जागिर छाड्डा नयां भेट्टाउनै मुश्किल, बारमा डिल 
गर्ने उपयुक्त जनशक्ति अभाव, एसियन खाना गोराले बनाउन नसक्ने आदि इत्यादि व्यवधान आफूले भोगेको रायमाझीले बताए ।

सिभिल इञ्जिनियर पवलाई सबैको आकर्षणको केन्द्र बनाउन रातदिन लागिरहेका छन् रायमाझी । स्थानीय पत्रपत्रिकातिर विज्ञापन वा लिफ्लेट बांडेर प्रचारप्रसार अरु तीव्र पार्ने रणनीति उनको छ । स्थानीय कम्युनिटीसंग निकट रहन पनि उनले आवश्यकता देखेका छन् । सिसा लाउञ्ज थप्ने योजना अन्तिम संघारमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री